बाई ड्याडी !



दिरेकलाल श्रेष्ठ । बाई ड्याडी !’ यो बोली चार दशक पूरा हुन लागेको आफ्नो यस उमेरमा मैले सयौं पटक बोलें होला । स्कुल जाने बेला होस् वा कतै छुट्टिने समय, भन्ने शब्द यही नै हो ! तर, मलाई एक–दुईपटक ‘बाई ड्याडी’ भनेकोचाहिँ दृश्यसहित याद छ । म किशोरै छँदा मलाई तपाईंले इन्डियामा पढ्नका लागि होस्टेलमा छोडेर हिँडेको बेला यी शब्द बोल्दा म रोएको थिएँ । किनभने मलाई त्यहाँ बस्न कत्ति पनि मन थिएन । पछि, अमेरिकामा पढ्न बसेको बेला भेट्न आउँदा पनि यस्तै भयो, छुट्टिने बेला । यी दुवै पटक ‘बाई ड्याडी’ भन्दा मेरो मन कटक्क दुखेको थियो । तर, यसपटक भने मुटु नै क्षतविक्षत भयो । ड्याडी ! लाख प्रयास गरेर पनि तपाईंलाई बचाउन सकिनँ ! कहाँ के कमजोरी भयो ड्याडी ? भगवान् किन हामीसँग रिसाए ? … गला अवरुद्ध हुन्छ, तापनि मैले भन्नै पर्छ, बाई ड्याडी !

तर म रुन्न ड्याडी ! तपाईंको सपना साकार पार्न रोएर सम्भव छैन । नेपालमा व्यावसायिक पत्रकारिताको विकास गर्न तपाईंले थालेको अभियानमा सहायक हुन सकियोस् भनेर नै म अमेरिकी ‘एचवनबी’ छोडेर नेपाल आएको हुँ । २० वर्ष उमेरको फरकका हामी बाबु–छोरा पूरापूर साथीजस्तै थियौं । तपाईंले रोप्नुभएको कामना प्रकाशनको बिरुवा हाम्रो परिवारको मात्र होइन, सबै नेपालीको साझा सम्पत्ति हो भन्ने तपाईंको भनाइलाई हामी सबैले आत्मसात् गरेकै थियौं ! कहाँ के कुरा मिलेन ड्याडी ?

केही मिलोस् वा नमिलोस्, असिना परोस् वा चट्टान झरोस्, तपाईंको व्यावसायिक पत्रकारिताप्रतिको समर्पण अब मेरो कर्तव्य हो । तपाईंकै पदचिन्ह्मा अघि बढ्ने, कामना समूहका सबै प्रकाशनलाई व्यावसायिक उचाइ प्रदान गर्ने अब मेरो एकमात्र लक्ष्य हो । यस लक्ष्यमा पुग्न तपाईंको भौतिक उपस्थिति मसँग छैन, मलाई थाहा छ, तर तपाईंले विरासतमा दिएको दृढ मानसिकता मसँग छ । सायद मेरो जन्मको तयारी हुँदै गर्दा तपाईंले कामना प्रकाशनरूपी घरको पहिलो शिला ‘कामना’ राख्ने तयारी गरिरहनुभएको थियो ।

मलाई एक–दुईपटक ‘बाई ड्याडी’ भनेकोचाहिँ दृश्यसहित याद छ । इन्डियामा पढ्नका लागि होस्टेलमा छोडेर हिँडेको बेला यी शब्द बोल्दा म रोएको थिएँ । पछि, अमेरिकामा पढ्न बसेको बेला भेट्न आउँदा पनि यस्तै भयो । तर, यसपटक भने मुटु नै क्षतविक्षत भयो ।

तपाईंको कलम किताबमा कुँदिएको जीवनी पढेपछि थाहा पाएँ, मलाई पेटमा राखेर मेरी आमाले तिमी आँखा म नानी, तिमी प्यासा म पानी बोलको गीत रेकर्ड गराउन रेडियो नेपालको स्टुडियो जानुभएको रहेछ । भारी शरीर भएकी मेरी आमालाई लिएर तपाईं त्यहाँ त जानुभयो, तर आमाले शारीरिक अवस्थाका कारण लाज मानेर गीत गाउन नै सक्नुभएनछ । म महाभारतको अभिमन्यु त होइन, अर्जुनले चक्रव्यूहका बारेमा जानकारी गराएको गर्भमै रहेका बेला पनि सबै थाहा पाउने । तर मलाई तपाईंले विगत डेढ दशकमा खुलारूपमै चक्रव्यूह तोड्न सिकाइसक्नुभएको छ । मिडिया व्यवसायमा आवश्यक पर्ने अनुशासन र समर्पणको आधारभूत ज्ञान मैले पाइसकेको छ । तपाईं निश्चिन्तरूपमा पुण्य प्राप्त गर्नुहोस्, तपाईंको नाम उच्च राख्ने काममा म, मेरा भाइहरू, मेरी श्रीमती र परिवारका अरू सदस्य मात्र होइन, कामना प्रकाशन समूहको सिंगै परिवार समर्पित भएर लाग्नेछौं ।

चुनौतीचाहिँ मैले चक्रव्यूहसरह नै प्रस्ट देखेको छु ड्याडी । तपाईंको कलममा नवराज लम्सालजीले लेख्नुभएको छ नि, ‘सम्पादकको आँखामा प्रकाशक, प्रकाशकको आँखामा सम्पादक, लोकतन्त्रवादीको आँखामा अलोकतन्त्रवादी, अलोकतन्त्रवादीको आँखामा लोकतान्त्रिक, श्रमिकको आँखामा मालिक र मालिकको आँखामा श्रमिक । यसरी विभक्त छन् सिंगो पुष्करलाल श्रेष्ठ ।’ प्रकाशक र सम्पादक दुवै भएका कारण तपाईंलाई प्रकाशकहरूको समूहले ‘पुष्कर हाम्रो मान्छे होइन’ भनेको र सम्पादकहरूले ‘यो त साहुजी पो त’ भनेर पुकारिने गरेकोचाहिँ मैले पनि अनुभव गरें । नर्भिक अस्पतालदेखि भूगोलपार्क हुँदै आर्यघाटसम्म र यी हरफ लेखिरहँदा भैंसेपाटीको घरैसम्म पनि शुभचिन्तकको लामो लाम यहाँले बनाउनुभएकोमा कुनै शंका छैन, सबैप्रति तपाईंको परिवार आभारी पनि छ ।

समवेदना र श्रद्धाञ्जलिका शब्दहरू निरन्तर प्रवाहित भइरहेका छन् । यति हुँदाहुँदै पनि तपाईंलाई विभाजित आँखाले हेर्नेहरू पनि उत्तिकै रहेको मैले पाएँ । तपाईं बारम्बार भन्ने गर्नुहुन्थ्यो नि ‘बडी ल्याङ्ग्वेज’ भनेर, त्यो त प्रस्टै देखियो । तपाईंले कलममा कामना, साधना र महानगरजस्तै नेपाल समाचारपत्र किन तत्काल सफल हुन सकेन भन्ने प्रश्नको जवाफमा विश्लेषण गर्नुभएको छ नि, व्यावसायिक पत्रकारिता गर्दै आएको समूहले शुरू गरेको दैनिक अखबार उनीहरूका लागि दीर्घकालीन धक्काको विषय थियो, त्यसैले नेपाल समाचारपत्रलाई उनीहरूले गर्भमै तुहाउने प्रयास गरे । हामीजस्तो व्यावसायिक पत्रकारितामा विश्वास गर्नेहरूका लागि अव्यावसायिक प्रतिस्पर्धा कौरवहरूको चक्रव्यूह नै त हो, जो षड्यन्त्रै–षड्यन्त्रको जगमा निर्मित थियो ।

ड्याडी ! तपाईं दिवंगत भएको समाचार कसले कसरी दियो, त्यसमा ‘बडी ल्याङ्ग्वेज’ प्रस्ट देखिन्थ्यो । धेरैले तपाईंप्रति उच्च सम्मान प्रकट गरे पनि केहीले आफ्ना पाठक–दर्शक–स्रोताले केही भन्ला भनेर औपचारिकता पूरा गर्ने काम मात्र पनि गरे ।
फेरि पनि म तपाईंकै जीवनी कलमकै अभिव्यक्ति लेखक अशोक सिलवालजीबाट सापट लिन चाहन्छु, ‘पत्रकारितामा धैर्य चाहिन्छ, जो पुष्करलालले देखाए । हतार गर्ने पत्रकार र लगानीकर्ताले सफलता हासिल गर्न सकेनन्, तर कामनाले सफलता पायो । पैसाले मात्र हुने भए कैयौं फिल्मी पत्रिका र लोकतन्त्र, सगरमाथा, नयाँ सडक, स्पेस टाइमजस्ता ठूला आकारका पत्रिकासँग ठूलो लगानी थियो, तर सबै बन्द भए ।’

तत्काल मुनाफा नहुने र मुनाफा हुने अवस्थामा पनि बढी नहुने पेसा मिडिया व्यवसाय हो भनेर जानेरै तपाईंले यसमा हात हाल्नुभएको हो । समाजसेवा र राज्यका तीन अंगको निगरानी गर्ने चौथो महत्वपूर्ण अंगमा हात हाल्ने तपाईंको चार दशकअघिको विचार, जो मेरो जन्मसँगै शुरू भयो । यसमा म गौरवको अनुभूति गर्दछ । तपाईंको यात्रालाई अझ बढी सफल र उचाइमा पु¥याउनु नै मेरो जीवनको लक्ष्य हो ।
यस लक्ष्यमा पुग्न तपाईंले मलाई जति ज्ञान र सीप दिनुभयो, त्यो धेरै नै छ । मैले आफ्नो स्नातक पनि मास कम्युनिकेसन्समै गरें ।

मलाई विश्वास छ, तपाईंले आफूले रोपेको प्रकाशन समूहको बिरुवा बीचमै ओइलाउने हो कि भनेर चिन्तित हुनुपर्दैन । मृत्युसँग पनि हामी बाबु–छोरा त्यति चिन्तित थियौं जस्तो मलाई लाग्दैन । यो त अवश्यम्भावी थियो । तर, एउटा कुरा भने खड्केकै छ । भगवान्ले हामीलाई एकठाउँमा भने झुक्याएकै हुन्– ६०–६१ वर्षको अल्पायुमै लानु थियो, त्यो पनि मैले मानें तर मृत्युको संघारमा पनि पिता–पुत्रबीच संवाद हुन नपाउनु ! हाम्रो हिन्दू संस्कारमा मृत्युको संघार अति नै महत्वपूर्ण छ । रामायणको कथाले भन्छ– रावणलाई वाण लागेर ढलेपछि रामले लक्ष्मणलाई दीक्षा ग्रहण गर्न उनीसामु पठाए । महादुश्मनलाई पनि अन्तिम समयमा वार्तालापको अवसर दिने रामले हामी बाबु–छोराबीच संवाद हुने अवसर किन नदिएको ?

छोरालाई बताउने केही महत्वपूर्ण आशीर्वचन मेरा पितामा पनि हुँदो हो ! तपाईंले एकपटक मलाई भन्नुभएको थियो– ‘मलाई आफ्नो ट्राभल डायरी र अटोबायोग्राफी दुई किताब निकाल्ने इच्छा छ ।’ तर मलाई थाहा छैन, म तपाईंका इच्छाहरू कसरी पूरा गरौंला ?
एक चिनियाँ दार्शनिक कन्फ्युसियसको प्रसिद्ध भनाइ छ– ‘तिमीले उसलाई माछा देऊ, एकदिनको भोक मेट्छ तर तिमीले उसलाई माछा मार्न वा पक्रन सिकायौ भने उसको जीवनभरिको भोक मेट्न सकिन्छ ।’ तपाईंलाई म भन्न चाहन्छु कि तपाईंले यस कामना पब्लिकेसन्सलाई व्यवस्थित बनाइसक्नुभएको छ । तपाईं बिरामी भएदेखि हामी दुवै बाबु–छोरा यस

हिन्दू र बौद्ध धर्मअनुसार हामी पुनर्जन्ममा विश्वास गर्छौं । म भगवान्सँग प्रार्थना गर्दछु– तपाईं अर्को जुनीमा पनि मेरै पिता बन्नुहोस् ! यही मेरो कामना छ ।

पब्लिकेसन्स्को कार्यालयमा पाँच महिनासम्म नजाँदा पनि नेपाल समाचारपत्र दैनिक प्रकाशन भइरहेको थियो । प्रकाशित नेपाल समाचारपत्रको गुणस्तरमा समेत कमी आएको थिएन । हाम्रा पत्रकार–कर्मचारीहरूले दिलैदेखि काम गरिरहेको पाइयो । ड्याडीको व्यवस्थापन र मार्गदर्शनले नै यो सब सम्भव भएको हो ।

ड्याडी ! तपाईंले मलाई पैसाको पछि नभएर आफ्नो रुचि तथा चाहनाको पछि लाग्न प्रेरित गर्नुभयो । तपाईंको सोच र अग्रसरताबाट नै कामना प्रतिष्ठानले सधैं नवीन शैलीमा कार्य गर्दै आइरहेको छ । तपाईं प्रतिस्पर्धापट्टि लाग्नुभएन, बरु कामना, साधना तथा महानगरमार्फत नयाँ बजारको निर्माण गर्न लाग्नुभयो ।

यस क्रममा नेपाल समाचारपत्र प्रकाशन शुरू भएपछि भने हामीले कठिन संघर्ष गर्नुपरेको हो । तर पनि हामी नयाँ सोच र सृजनामार्फत अगाडि बढ्न छोडेका छैनौं । सीजी–लक्स कामना फिल्म अवार्डको सफलताले पनि यो कुरा दर्शाउँछ, हामी यहाँ नवीन सोच र कार्यका लागि आएका हौं, प्रतिस्पर्धाका लागि होइन । आगामी दिनहरूमा पनि म नयाँ अवसर र सम्भावनाको खोज तथा अन्वेषणमा लागिरहनेछ ।

ड्याडी ! तपाईंले आफ्नो जीवनका सफलता मात्र होइन, असफलता पनि मलाई सुनाउनुभएको छ । मैले तपाईंका दुवैखाले अनुभवबाट पर्याप्त पाठ सिकेको छ । सबै कुरा राम्रै चलिरहेको थियो । तर, यसैबीच तपाईंले छोडेर जानुभयो । मलाई थाहा छ, तपाईंले हामीलाई सधैं मागेको भन्दा बढी दिनुभयो । तपाईंजस्तो पिता पाउनु हाम्रा लागि गौरवको विषय हो ।

हिन्दू र बौद्ध धर्मअनुसार हामी पुनर्जन्ममा विश्वास गर्छौं । म भगवान्सँग प्रार्थना गर्दछु– तपाईं अर्को जुनीमा पनि मेरै पिता बन्नुहोस् ! यही मेरो कामना छ ।

प्रतिक्रिया दिनुहोस्