स्वरमा सुनीता



कुलको छोरी हुँदैन भाग्न
मर्द भए घरैमा आउ माग्न।

बिहेवारी गरी १ छोरीको आमासमेत भइसकेपछि गीत गायनको क्षेत्रमा सक्रिय हुन पुगेकी सुनीता गुरुङलाई गायिकाका रूपमा स्थापित गराउन यो गीतले निकै काम गर्यो । हुन त उनले यसअघि पनि अरु गीत गाएकी थिइन्, तर यो गीत गाएपछि बल्ल आएर उनी गायिकाका रूपमा स्थापित भइन् ।

सिन्धुलीमा जन्मे पनि सामाखुशीमा हुर्केकी गायिका गुरुङलाई गीत–संगीत भनेको बुझ्ने बेलादेखि नै नाच्न गाउन खुब मन पथ्र्यो । उनलाई गीत पनि गाउन मन रहेछ त्यतिखेरै । मन भए पनि उनले बाल्यकालमा गीत त गाइनन्, तर नृत्यका कार्यक्रम भन्नासाथ अघि सरिहाल्थिन् । ‘स्कुलको प्रोग्राम, पिकनिकजस्ता हरेक कार्यक्रममा म डान्स गर्न पुगिहाल्थें, मेरो डान्सलाई सबैले मन पराउँथें पनि । डान्स गर्न भनेपछि त अहिले पनि अगाडि बढिहाल्छु’, सुनीताले सुनाइन्– ‘तर गीत गाउन भने मौका पाएको थिइनँ ।’

यी गायिकालाई सानैदेखि गीत गाउने रहर भए पनि त्यो केही वर्षअगाडि मात्र पूरा हुन पायो । १५ वर्षअगाडि नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल इन्जिनियर सुदर्शन महर्जनसँग बिहेवारी भएपछि सुनीता ६⁄७ वर्ष घर व्यवहारमै रुमलिइन् । त्यसपश्चात् ब्युटिसियन पेसा अँगालिन् । धापासीको टोखा रोडमा अहिले पनि उनको सानदार ब्युटी पार्लर उत्तिकै चलिरहेको छ । केही समयअगाडि मात्रै त्यहीं नै विष्णमती नेवारी रेस्टुरेन्टसमेत सञ्चालन गरिरहेकी छिन् । रेस्टुरेन्ट व्यवसाय र ब्युटिसियन पेसामा रमाए पनि उनको भित्री मनको रहर भने गायन नै थियो । उनले यो रहर पतिदेवलाई पनि सुनाइन् । तर, पति सुदर्शन भने सुनीताले अरु नै केही काम गरुन्, कुनै राम्रो कम्पनी सम्हालुन् भन्ने चाहँदा रहेछन् । ‘उहाँलाई संगीत क्षेत्रमा लागेर केही आउटपुट हुन्छ भन्ने थिएन ।

त्यसैले उहाँ गीत–संगीत क्षेत्रमा आओस् भन्ने चाहनु हुन्नथ्यो’, सुनीताले सुनाइन्– ‘४ वर्षअगाडि २०७० सालमा रेडियो नेपालले गायनमा तालिम दिने भएपछि भने उहाँ त्यहाँ तालिम लिन भने दिनुभयो । त्यसपछि बल्ल संगीत क्षेत्रमा आउन पाएँ । रेडियो नेपालमा प्रभुराज ढकालबाट ६ महिना क्लासिक म्युजिकको ट्रेनिङ लिएँ । ढकाल गुरु सय जनामा ५ जनाले मात्र गाउन सक्छ, तर जसको स्वर आउँछ, त्यसले गाउन सक्छ भन्नुहुन्थ्यो। अभ्यास गरे तिमीले गाउन सक्छौ भन्नुहुन्थ्यो । सिक्दै जाँदा गाउन सक्ने पनि भएँ।’

नभन्दै सुनीताले गाउन सकिन् । तालिम सकिनासाथ रेडियो नेपालकै रामबहादुर जिम्बाद्वारा रचित र संगीतबद्ध पूर्वेली गीत चुल्ठी केशमा गुराँस सिउरेर उनीसँगै गाउन पुगिन् । ‘पहिलो गीत नै सुन्नेले राम्रो प्रतिक्रिया दिए । त्यसको म्युजिक भिडियो पनि मन पराइयो । जसमा म आफैं थिएँ’, सुनीताले आफ्नो अनुभव शेयर गरिन्– ‘जतिसुकै गीत गाउने रहर भए पनि भोकल क्लास नलिउञ्जेल गाउन सक्छुजस्तो लागेको थिएन, तर क्लास लिएपछि एकाएक गाउन सक्छु भन्ने फिल भयो र गाएँ ।’


त्यसपछि सुनीताले लोकलयमा कुलको छोरी बोलको लोक गीत गाइन् । आफ्नै शब्द र संगीतको यो गीत नै उनलाई गायिकाको रूपमा परिचय दिलाउने गीत बन्न पुग्यो । नाच्छु म त छमछम बोलको तीज गीतले तीज गीत अवार्ड नै दिलायो । लोक, दोहोरी, सन्देशमूलकजस्ता विभिन्न विधाका २ दर्जन बढी गीत गाइसकेकी उनलाई अवार्ड दिलाउने अर्को गीत हङकङको सारी पनि बन्न पुग्यो ।

त्यसबाहेक बनारसी साडी, दोहोरी भाकाको रमाइलो पोखरा, भूकम्प गीत महाविपत्ति, पप फ्लेवरको लोकगीत पानी पानी सुनीतालाई संगीत क्षेत्रमा डोहोर्याउने गीत बन्न पुगेका छन् । आफ्ना गीतहरू चल्न थालेपछि सुनीताले सालैजु, महिला हिंसासम्बन्धी जनचेतनामूलक गीत म छोरी म चेली तिमी दाजुभाइका साथमा अडियो तथा भिडियो लोकगीति एल्बम रमाइलो पोखरा र एकल एल्बमसमेत बजारमा ल्याएकी छिन् ।


‘खास म यो क्षेत्रमा आएको गाउने रहर पूरा गर्नका लागि हो । अहिले पनि रहरले नै गीत गाइरहेको छु । पेसालाई अगाडि बढाउन सौन्दर्य व्यवसाय छ, एमडीका रूपमा विद्युतीय कम्पनी इन्द्रेणी इलेक्ट्रिकल एन्ड सोलार चलाइरहेकी छु । रेस्टुराँ पनि चलाएकी छु’ –सुनीताले सुनाइन् ।

सुनीता गीत गायनका अलावा मोडलिङ र नृत्यमा पनि पोख्त छिन् । उनले आफ्ना अधिकांश गीतका म्युजिक भिडियोमा आफैंले मोडलिङ, अभिनय र नृत्य गरेकी छिन् । आफ्नाबाहेक अन्य गीतका म्युजिक भिडियोमा पनि उनले आफूलाई प्रस्तुत गर्दै आएकी छिन् । ‘आफू सुहाउँदो म्युजिक भिडियोमा मोडलिङ, अभिनय र नृत्य गर्दै आएकी छु’, भन्छिन्– ‘यसबाट आत्मसन्तुष्टि मिल्छ ।’

प्रतिक्रिया दिनुहोस्