आत्मीयरूपमा जोडिएको एउटा व्यक्ति



वसन्त चौधरी

मानिसको जन्म र मृत्यु कसैको वशमा हुँदैन भन्ने मैले सुन्दै आएको थिएँ, यतिखेर मेरा अनन्य मित्र पुष्करलाल श्रेष्ठका बारे केही शब्दहरू लेखिरहँदा मैले यस सत्यको स्वयं अनुभव गरिरहेछ । कहिलेकाहीं सत्य तीतो हुन्छ भन्ने बारम्बार सुन्दै आएको थिएँ, तर सत्य यति हदसम्म तीतो हुन्छ भन्ने कुरा चरितार्थ भएको पनि अनुभूति गरिरहेछ ।

स्वर्गीय पुष्करलाल श्रेष्ठको बहुआयमिक व्यक्तित्वबारे सम्पूर्णमा म यो सानो लेखमा व्यक्त गर्न सक्तिनँ । दुई–तीन वर्षमा बल्लतल्ल एउटा नेपाली सिनेमा निर्माण हुने युगमा उहाँले कामना मासिक पत्रिकाको प्रकाशन जसरी थाल्नुभयो, त्यो आफैंमा त्यसबेला धेरैका लागि असम्भवजस्तो लाग्थे । किनभने मासिकरूपमा प्रकाशित गर्ने पत्रिकाका लागि सिनेमासम्बन्धी खुराकहरू पनि त त्यति नै प्रशस्त मात्रामा हुनुपर्ने हो । तर खुराक पटक्कै थिएन । उहाँको कामना सिने मासिक नियमितरूपमा सिनेमाका नयाँनयाँ खुराकहरू छापेर प्रकाशित नै भइरह्यो । कहिल्यै बन्द भएन । आज त्यही कामना ऐतिहासिक हुन पुगेको छ ।

वास्तवमा उहाँ नेपाली सिनेमाभन्दा धेरै कदम अघि हुनुहुन्थ्यो । उहाँले एक दशकपछिको नेपाली सिनेमाको भविष्य त्यति बेलै देखिसक्नुभएको रहेछ, आज मलाई यस्तो लागिरहेछ । किनभने सिनेमाको जग नै नबसी सिने पत्रिका, त्यो पनि मासिकरूपमा प्रकाशित गर्नु आफैमा ठूलो चुनौती थियो र थियो दूरदर्शिताको उदाहरण । यस अर्थमा उहाँ नेपाली सिनेमाको भविष्य–द्रष्टा हुनुहुँदो रहेछ भन्ने हामी सबैले धेरैपछि बोध गर्यौँ ।

पत्रिका, त्यो पनि सिनेमासम्बन्धी पत्रिका निकाल्न आज त कठिन छ भने त्यसबेला कामना निकाल्ने पुष्करजीको आँटलाई म यतिखेर सलाम गर्छ । सीमित सिनेमा निर्माण हुने त्यो जमानामा सिनेमाबाट विज्ञापन पाउनु आकाशको फल थियो । केही अपवादलाई छोडेर अरू उद्योग–व्यवसायका विज्ञापन पनि सरकारी समाचारपत्र या राज्य–व्यवस्थाका नजिकका केही पत्रिकालाई नदिई कामनाजस्तो सिने मासिकलाई दिने कुरै आउँदैनथ्यो ।

यो कुरा मैले पनि अलिपछि जब उर्वशी सिने मासिक पत्रिकाको प्रकाशन थालें, त्यसपछि यो सत्यलाई नजिकबाट बोध गरेको छ । कति कठिन हुँदो रहेछ पत्रिका निकाल्न ? पत्रिकामा छापिएका रोचक समाचार र टिप्पणी पढेर रोमाञ्चित हुने अधिकांश पाठकलाई यो कुराको ज्ञान हुँदैनथ्यो । त्यसैले हरेक महिना रोचक र ब्रेकिङ समाचार छापेर प्रकाशित हुने पत्रिकाको प्रकाशनको अभ्यान्तर पाटो कति कष्टकर हुन्छ भन्ने धेरथोर अनुभव र ज्ञान मैले उर्वशीबाट आर्जन गरेको थिएँ । बालुवामा पानी खन्यायो भने बरु केही बुट्यानहरू उम्रिन्छन् होला । तर त्यस बेलाका अवस्थामा सिने पत्रिकामा गरेको लगानीबाट त आत्मसन्तुष्टिबाहेक कुनै आर्थिक उपार्जन सम्भव नै थिएन ।

त्यसैले केही कालपछि बाध्य भएर मैले उर्वशीको प्रकाशन बन्द गरें । तर पुष्करजीको कामना शुरूका अङ्कहरूमा जुन सुरुचिपूर्ण खुराकका साथ प्रकाशित भएका थिए, त्यो त्यहीरूपमा अझ आकर्षक र जानकारीमूलक नेपाली सिनेमासम्बन्धी एक मात्र मासिकका रूपमा नयाँनयाँ कलेबरमा प्रकाशित भइरहे र नेपाली सिनेमासम्बन्धी एक मात्र पत्रिकाका रूपमा कामना स्थापित हुन पुग्यो । त्यस बेला म सोच्थें– पुष्करलाल श्रेष्ठ भन्ने पत्रकार कति ढिट, आत्मविश्वासी र कृतसङ्कल्पित व्यक्ति हुनहुँदो रहेछ ? जस्तै प्रतिकूलतामा पनि, जस्तै आँधीहुरीमा पनि अविचलित खडा रहने बटवृक्षजस्तो । कालान्तरमा उहाँले यही कामनामार्फत आफ्नो परिचय बनाउनुभयो । कामना प्रकाशन समूह नै स्थापित गर्नुभयो । साधना, महानगर र आजको लोकप्रिय दैनिक पत्रिका नेपाल समाचारपत्रसम्मको कण्टकाकीर्ण यात्रा पूरा गर्नुभयो ।

यस मानेमा मैले उहाँलाई एक यस्तो दृढनिश्चयी व्यक्तिका रूपमा पाएको थिएँ– जो यात्रा आरम्भ गरेपछि त्यसलाई निश्चित गन्तव्यमा नपुर्याइ थकाइमार्न चाहँदैन । उहाँ यस्तै हुनुहुन्थ्यो । र, यही जुझारु र एकलव्य स्वभाव अनि कर्मले गर्दा उहाँ आज सिने पत्रकारितामा मात्र होइन, समग्र नेपाली पत्रिकारितामा नै एक अग्रज र अनुकरणीय व्यक्ति हुनुहुन्छ ।

उहाँ र मेराबीचको मित्रता धेरै पुरानो हो । उहाँ मेरा लागि सधैं सहृदयी र आत्मीय मित्र हुनुहुन्थ्यो । एकलाई गाह्रो–साह्रो पर्दा अर्कोले सकेको सहयोग गर्ने प्रवृत्ति हामीमा सधैं कायम रह्यो । हामी एक–अर्काको वचनको सम्मान गथ्र्यौं । हामी भिन्नाभिन्नै व्यवसाय र भूमिकामा आ–आफ्ना ठाउँबाट सकेसम्म केही नौलो र राष्ट्रलाई टेवा दिने काम गरिरहेका थियौं । फरक–फरक व्यवसाय र भूमिकाका कारण हामीलाई सधैं समान विचार र सम–दृष्टिकोणको बिन्दुमा उभिने अवसर प्राप्त हुँदैनथ्यो । त्यसैले भेटघाट पनि त्यति बाक्लै हुँदैनथ्यो ।

तर पुष्करजीद्वारा सम्पादित समाचारपत्रले हरेक प्रातः मलाई उहाँसँग एकतर्फी भेट गराउँथ्यो । म यसको नियमित पाठक भएकाले आजको अङ्कमा के ब्रेकिङ–न्युज छापिएछ भनेर पढ्न हरेक बिहान लालयित भएर समाचारपत्रको प्रतीक्षामा हुन्थें र अझै प्रतीक्षा गर्छ ।
मनले आत्मीय भनेर स्वीकारेपछि कहीं न कहीं यो आत्मीयतालाई भौतिकरूपमा आबद्ध हुने अवसर पनि जुटाउँदो रहेछ– समयले ।

पुष्करजीको कामनाले कामना सिने अवार्ड गर्ने भएपछि यो अवार्डले हामीलाई भौतिक र आत्मीय दुवै रूपमा जोड्ने एउटा गतिलो पुलको काम गर्यौँ । पुष्करजीको होस्टेमा हैंसे गर्न म सीजी इन्टरटेनमेन्टमार्फत उहाँको अभियानमा जोडिन पुगें । यस अवार्डको परिकल्पना उहाँले नै गर्नुभएको हो । उहाँको परिकल्पनामा मिसिएर हामीले सीजी कामना फिल्म अवार्ड स्थापित गर्यौँ । जुन प्रतिवर्ष एउटा नयाँ उमङ्ग र जोसका साथ आयोजना हुन्छ । नेपाली सिनेमालाई प्रोत्साहन दिन यस अवार्डले महत्वपूर्ण भूमिका खेलेको छ भन्ने मलाई लागेको छ । र यसका माध्यमले पुष्करजीसँग जोडिन पाएकोमा आज म अत्यन्त गौरवान्वित महसुस गर्छ ।

पुष्करलाल श्रेष्ठ राजनीतिक पत्रकारिताका क्षेत्रमा अत्यन्त निर्भीक, सहासी र आफूले देखेका कुरा लेख्न कलम नकमाउने पत्रकारकाररूपमा स्थापित हुनुहुन्थ्यो । माओवादी द्वन्द्वकालमा त्यसबेला माओवादीमाथि लेखेका नेपाल समाचारपत्रमा प्रकाशित तथ्यपूर्ण र चोटिला समाचार–टिप्पणीका कारण उहाँ बारम्बार लखेटिनुभएको कुरा सर्वविदितै छ । र, यो समस्त पत्रकारिताको क्षेत्रमा एउटा उदाहणीय सन्दर्भ नै भइसकेको छ आज पनि । उहाँमाथि यस्ता कतिपय आक्रमण भइरहँदा पनि उहाँ सत्य र तथ्यको पक्षमा पटक्कै विचलित नभई संयमितरूपमा वकालत गरिरहने पत्रकार हुनुहुन्थ्यो । र, कुनै दल विशेषका लागि भन्दा पनि आमजनताका लागि सही समाचार सम्प्रेषण गर्ने निडर पत्रकार हुनुहुन्थ्यो ।

यस्ता कर्मठ व्यक्तिको अल्पायुमै यसरी निधन हुँदा म मात्र होइन सम्पूर्ण समाचारजगत् शोकाकूल छ । र, म यतिखेर आप्mनो एक अति आत्मीय र प्रिय मानिसको वियोगको पीडामा, उसैका बारेमा लेख्नुपर्दा म स्वयं कति सन्तप्त भएको छु, त्यो यहाँ वर्णन गर्न सक्तिनँ । आप्mनो आत्मीयजन गुमाउँदाको शोकले हृदयमा कति गहिरो घाउ गराउँछ, त्यो यतिखेर म प्रत्यक्ष अनुभव गरिरहेछ । त्यसैले अहिले मलाई लागिरहेछ, हामी भौतिकरूपमा मात्र होइन, भावनात्मक र आत्मीयरूपमा आबद्ध भएका रहेछौं ।

धेरै लेख्न सक्तिनँ । पुष्करजीलाई सम्झेर मेरा अक्षरहरू नै काँपिरहेछन् । विश्वास स्वयं डगमगाइरहेछ । यस्तो लाग्छ– उहाँ अहिले पनि मेराअघि, त्यसरी नै मुसुमुसु मुस्काउँदै उभिनुभएको छ । उहाँ जानुभयो भन्ने सत्यलाई स्वीकार्न मनले मानिरहेको छैन । तर माथि नै भनिसकें– कतिपय सत्यहरू तीता हुन्छन् र हामीले विवश भएर त्यसलाई स्वीकार्नुपर्छ ।

यस वियोगान्त घडीमा उहाँको आत्माको चिरशान्तिका लागि भगवान् श्रीपशुपतिनाथसमक्ष हार्दिक प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । प्रिय पुष्करजी तपाईंको स्वर्गमा बास होस् ।

कतिपय आक्रमणहरु भै रहँदा पनि उहाँ सत्य र तथ्यको पक्षमा पटक्कै विचलित नभई संयमितरुपमा वकालत गरिरहने पत्रकार हुनुहुन्थ्यो । र, कुनै दल विशेषको लागि भन्दा पनि आमजनताका लागि सही समाचार सम्प्रेषण गर्ने निडर पत्रकार हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्