उनीहरू तीन जना थिए



मल्ल के. सुन्दर

हामी अमृत साइन्स कलेजका विद्यार्थी । पढाइका अतिरिक्त राष्ट्रिय राजनीतिमा पनि त्यतिकै चासो राख्थ्यौं । त्यस्तै अन्तर्राष्ट्रिय गतिविधि पनि हाम्रा चर्चाका विषयमा हुन्थे । हाम्रा जमघटका केन्द्रमध्ये एउटा थियो काठमाडौंको अट्कोनारायणस्थान ।

प्रत्येक शनिबार हामी त्यहाँ पुग्थ्यौं । अलि मन मिल्ने साथीहरू मणिगोपाल झा, पुष्प मानन्धर र श्रीकृष्ण श्रेष्ठ त्यहाँका रैथानेहरू । कतिपय समय त्यहीं वरपर उभिँदै हाम्रो गफको क्रम चल्थ्यो । मौका मिलेको बेला गफिँदै शहरको छेउछाउसम्म भौंतारिने गरिन्थ्यो । मेरो दिदीको घर पनि त्यतै, दिदीको छोरा मेरै समकालीन, हाम्रै मित्रमण्डलीमध्ये एक । मेरो दिदीको घर मास्केहरूको चोकभित्र, तर चोक पस्ने बायाँतिर पुरानो कलात्मक ढाँचाको घर, दलानलाई बैठकजस्तो सजाइएको थियो ।

मैले हुन्छ हुन्न भन्न पाएको थिइनँ, पुष्करले थपिहाले– ‘यहाँबाट पत्रिका शुरुआत गर्न पाए हामीलाई संरक्षकत्व पनि प्राप्त हुनेछ, दाइबाट पत्रकारिताबारे पनि सिक्ने मौका हुन्छ ।’

त्यसै दलानमा साथी श्रीकृष्णका दाजु भरतलाल श्रेष्ठसँग भेट हुन्थ्यो । भरतलाल हामी केटाहरूको गफमा हस्तक्षेप गर्न रुचाउँथे, हामीलाई अलि हौस्याउँथे, जिस्काउँथे । सम्झना भएसम्म यो २०२५ सालपछिका कुराहरू हुन्, आजभन्दा पचास वर्ष पहिलेको ।

पुष्करलाल आफ्नै घरआँगन वरपर खेल्नमा व्यस्त हुन्थे । त्यतिबेला मलाई उनको नाउँ पनि थाहा थिएन, केबल साथी श्रीकृष्णको भतिजाका रूपमा चिन्थें । कम बोल्ने, बढी अन्तरमुखी हामीसँग हिमचिम गर्न त्यति रुचाउँदैनथे ।

कालक्रमले हाम्रो त्यो दौंतरीको जमातलाई छरपरस्ट पार्यो । सबै जाने आ–आफ्नै रोजगारीको क्रममा । काठमाडौं बस्ने मौका थिएन, कोही अध्ययनको सिलसिलामा नेपालबाहिर, कोही जागिरे झोला बोकेर जिल्लातिर । समय परिस्थितिले मलाई राष्ट्रिय समाचार समितितिर हुत्यायो । २०२८ सालदेखि झन्डै दुई दशक त्यहीं बिते । पत्रकारितामा युरोपतिर पुगेर अध्ययन गर्ने अवसर राससबाटै प्राप्त भयो । एक प्रकारले पत्रकारितासम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान त्यहींबाट आर्जन गरें । २०३९ सम्म आइपुग्दा आफ्नै प्रकाशन र सम्पदानमा साप्ताहिक पत्रिका इनाप निकाल्नतिर लागें । एक जना साइन्सको विद्यार्थी परिस्थितिले सञ्चार क्षेत्रमा हुलियो । आफ्नै छापाखाना पनि थियो बाङ्गेमुढास्थित मेरो घरको छिँडीमा ।

मिहेनतले हाम्रो प्रकाशनको राम्रो टिम बनेको थियो । इनाप साप्ताहिकलाई प्रकाशनको शुरुआतदेखि नै पाठकहरूको बलियो साथ रह्यो । अनेकन कठिनाइ रहँदारहँदै पाठक तथा शुभेच्छुकको सहयोगमा इनाप प्रकाशनको निरन्तरतामा कुनै समस्या रहेन । बिस्तारै यो एक लोकप्रिय प्रकाशन बन्यो । पाठकहरूले खोजी खोजी पढ्ने तत्कालीन साप्ताहिकमध्ये एउटा भयो ।

म इनापको कार्यालयमै थिएँ त्यो साँझ २०४१ साल हो, महिना सम्झना भएन । अनपेक्षितरूपमा केही मानिस मेरो कार्यालयमा प्रवेश गरे । शिष्टता र औपचारिकताको क्रमपछि एक आपसी परिचय भए ।

–म पुष्कर…

एक छिन म अवाक् भएँ, मैले ठम्याउन पनि सकिनँ । कार्यालमा मसँगै इनापको व्यवस्थापनमा सहयोग गरिरहेका मेरी दिदीको छोरा अमृत पनि थियो । उनले स्थिति सहज बनाइदिए ।

–हाम्रो भरतलालजीको ठूलो छोरा

–म श्रीकृष्णको भतिजा…

आएका तीन जनामध्ये एकले आफूलाई परिचित गराए । बल्ल मैले पुष्करलाई चिन्न सकें । ऊ एक्लै थिएन । सँगै अरू दुई पनि । एक काले काले, दुब्लो पुष्करभन्दा अलि अग्लो । अर्को जिउ डाल कस्सिलो गोरो, तर पुड्को । लहरै कुर्सीमा बसिसकेपछि पुष्करसँगै आएका अरू दुई जनाको पनि परिचय मागें ।

–मेरो साथी विजय उदय पाल्पाली, अर्को अशोक ।

पुष्करले दिएको परिचयबाट जानकारी भयो दुवै जना पाल्पा बजारका युवाहरू रहेछन् । पुष्करजस्तै उनीहरू पनि लज्जाशील, मसिना स्वर, अन्तरमुखी स्वभावका । विजय अलिक स्पष्ट वक्ता थिए । पाल्पामा रहँदै उनले पाहुर नामको मनोरञ्जानत्मक पत्रिका निकाल्थे । उपत्यकामा पनि उनको सम्पर्क, उठबस अलि धेरै मानिससँग रहेछ । विशेषतः नेपाली फिल्मी जगत्सँग उनी राम्रोसँग परिचित देखिन्थे । तीन जनामा धेरै कुरा विजयले नै राखिरहेका थिए । कुरै कुराबाट थहा पाएँ, अशोक अर्थात् अशोक मनासिं मूलतः एक कमर्सियल आर्टिस्ट हुन् । पाल्पामा छँदासम्म साइनबोर्ड आदि बनाउने पेसामा व्यस्त रहे, उनी ।

पुष्कर उपत्यकाका साहु घराना परिवारका सदस्य । उनको पारिवारिक पृष्ठभूमि र ज्ञान व्यापार हो । उनको बुबाको जनसेवा विशाल बजारमा सरोज इम्पोरिम–रेडिमेड गार्मेन्टसको स्टोर थियो । अशोक व्यवसायले अर्कै क्षेत्रका । अनि विजय भए मनोरञ्जन पत्रकारितामा भरखर वामे सर्न खोजेका युवा । तीन जना फरक–फरक तीन पृष्ठभूमिका । तीनै जना यसरी एकमुष्ठ मेरोमा भेटघाटका लागि लर्को लाग्नुको कारण थियो ।

–हामी एउटा पत्रिका निकाल्न चाहन्छौं

पुष्करले उद्देश्य खोलिहाले । मैले अनुमानसमेत गरेको थिइनँ । पञ्चायती शासनसत्ता पत्रपत्रिका प्रकाशनका सम्बन्धमा कति पनि उदार थिएन । प्रकाशनमा रहेका पत्रपत्रिकामाथि पनि निरन्तर नियम, कानुन, सेन्सरका क्रूर व्यवहार थियो । एकातिर बजारको अभाव, अर्कोतिर प्रहरी प्रशासनको सन्त्रास । त्यस अर्थमा पत्रपत्रिका प्रकाशनतिर लाग्नु त्यति बुद्धिमत्तापूर्ण निर्णय ठानिँदैनथ्यो । पत्रिका प्रकाशनका आफ्ना तिक्त अनुभवका आधारमा पुष्कर र उनका साथीहरूलाई अभिपे्ररित गर्ने पक्षमा म थिइनँ । तर उनीहरूको कुरा सुन्नमा के आपत्? म स्रोता बन्दै गरें ।

–पत्रिका, अर्थात् मासिक पत्रिका

पुष्करले अलि स्पष्ट पार्न चाहे । त्यसैमा थप्दै विजयले कुरा
अगाडि बढाए ।

–हामीले निकाल्न खोजेको सिने पत्रिका हो, समाचारमूलक
पत्रिका होइन ।

विजयको कुरा सुनेपछि ममा रहेको असहजता अलिक कम भयो । तर पनि उनीहरूको पत्रिका प्रकाशनको चाहनाको पूर्ण विवरण भने थाहा भइसकेको थिएन ।

अहिलेसम्म मौन रहेका अशोक मनासिं अलिक अगाडि सरेर उनले च्यापेर राखेको एउटा फाइल मेरो टेबलअगाडि ल्याए । त्यसभित्र सच्याएर राखेका केही कागजात मेरो सामुन्ने राखे । त्यो केही लेख रचना वा अभिलेख थिएन । अशोक आफैंले कोरेको एउटा कलात्मक रेखांकन थियो । रंगीन होइन, केबल श्वेतश्याम रंगको । एउटा नामांकन । म अझै सम्झन्छु, सेतो कागजमा कालो मसी, सम्भवतः साइनपेनबाट कोरिएको होला, अति सूक्ष्म, अति पूर्णतायुक्त, आकर्षक । त्यो थियो पत्रिकाको शीर्ष नामांकनका रेखाचित्र कामना⁄ हेर्दाहेर्दै एकक्षण म अवाक् भएँ, नेपालमा मैले त्यति आकर्षक, त्यति कलात्मक नामांकन अक्षर कोरिएको देखेकै थिइनँ ।

–यो हाम्रो पत्रिकाको प्रथम पृष्ठको शीर्ष भागकोे ढाँचा हो ।

अशोकले मलाई सुनाउँदै थिए, म पटकपटक कामना लेखिएको त्यो ढाँचामा हेर्दै गरें । त्यतिकैमा उनले दुई हात जोडेको एउटा लोगोको ढाँचा पनि मेरो सामुन्ने राखे ।

–यो हाम्रो प्रकाशनको मुख्य लोगो हुनेछ ।

अशोकको शिल्प, कला, मिहेनत स्पष्ट झल्किरहेको थियो । उनले बोकेर ल्याएको फाइलमा प्रस्तावित कामना मासिकका पृष्ठ सजावटका ढाँचा पनि थिए । ती एक एक हेर्दै गरें । यति छिटो म विश्वस्त भएँ कि ती तीन युवामा केही विशेषता छन्, तिनीहरूले अवश्य केही गर्छन् । पहिलो भेटमै म प्रभावित भएँ ।

–दाइको सहयोग चाहियो, पत्रिका हामी दाइकै इनाप

छापाखानाबाट निकाल्छौं…

मैले, हुन्छ, हुन्न भन्न पाएको थिइनँ, पुष्करले थपिहाले– यहाँबाट पत्रिका शुरुआत गर्न पाए हामीलाई संरक्षकत्व पनि प्राप्त हुनेछ, दाइबाट पत्रकारिताबारे पनि सिक्ने मौका हुन्छ ।

मैले त्यतिखेर उनीहरूसँग केही दिनका लागि समय मागें । आफू भएँ प्रगतिशील विचारबाट प्रभावित व्यक्ति । प्रस्तावित कामना पत्रिका वैचारिकभन्दा मनोरञ्जनात्मक, त्यो पनि सिनेमामा आधारित । वास्तवमा म असमञ्जस्यमा थिएँ । हुन्छ, हुन्न भन्न सकिरहेको थिइनँ ।

पछि मैले इनाप प्रकाशनका अन्य मित्रहरूसँग कामनाका बारे सल्लाह गरें । सबैको एउटै सल्लाह थियो– भारतीय पत्रपत्रिका र भारतीय सिनेमाले बजार कब्जा गरिरहेका बेला त्यसको प्रतिस्थापनमा राष्ट्रिय सिनेमामा आधारित पत्रिकालाई टेवा दिनुपर्दछ । यसले कलाक्षेत्रमा लागेका नेपाली प्रतिभालाई प्रोत्साहित गर्ने काम गर्दछ । यसले नेपाली राष्ट्रियताको चेत अभिवृद्धिमा केही हदसम्म मदत गर्न सक्ने हाम्रो बुझाइ भयो । तसर्थ, ती युवाहरूलाई सक्दो साथ दिनुपर्दछ भन्ने निधो भयो ।

आखिर, कामना प्रकाशनका लागि सहयोग गर्न हामी तयार भयौं । साप्ताहिक पत्रिकाको आकारमा कामनाको यात्रा शुरुआत भयो मेरो इनाप पे्रसबाट । एकातिर यो नेपाली सिने पत्रकारिताको क्षेत्रमा एउटा ऐतिहासिक खुट्किलो थियो पुष्करलालको नेतृत्वमा । अर्कोतिर, स्वयं पुष्करको जीवनमा नयाँ मोड थियो ।

हेर्दाहेर्दै एकक्षण म अवाक् भएँ, नेपालमा मैले त्यति आकर्षक, त्यति कलात्मक नामांकन अक्षर कोरिएको देखेकै थिइनँ ।

लेटर पे्रसबाट, जिंक ब्लकको माध्यमबाट चित्रमय कामनाको प्रकाशन । तर, कामना टिमको मिहेनत र परिकल्पनाले कामना आकर्षक बनेको थियो– सजावट र यसका सामग्रीबाट । हाताहातै बिक्थे । युवा पाठकहरूमा अति लोकप्रिय । बजारको कुनै समस्या देखिएन । विस्तारै नेपाली सिने कलाकारका लागि पनि यो पत्रिका आकर्षक माध्यम बन्दै गयो ।

केही अंक निर्विघ्न निस्किँदै थिए । कुनै समस्या र अवरोध थिएन । तर, एकाबिहानै मेरो बेड रुमसम्म पुष्कर र अशोक हस्याङफस्याङ गर्दै पसे । उनीहरूको मुड ठीक थिएन । अलि गलेको देखिन्थ्यो ।

– मल्ल दाइको सहयोग माग्न आएको हामी ।

मैले कुरा बुझ्न सकिनँ । सक्दो सहयोग त गर्दै आइरहेकै थिएँ । फेरि के आईपर्यो ? केबल उनीहरूलाई मात्र हेर्दै थिएँ ।

– दाइ हामीलाई त समस्या नै भयो ।

अशोक मानसिं धेरै नर्भस देखिन्थे । पुष्करको पनि सामान्य अवस्था थिएन ।

– होइन, के त्यस्तो आपत् आइपर्यो …?

पुष्कर आफ्नो निचोडिएको अनुहारमा विस्तारै कुरा अगाडि बढाउन तम्सिए ।

– विजयले हाम्रो साथ छाडे ।

– हाम्रो टिमबाट उनी अलग्गिए ।

दुवैको कुरा सुनेपछि मलाई पत्याउन गाह्रो भइरहको थियो । तीन जनाको समूह–एउटा दृष्टान्तजस्तै ठानेकोे थिएँ मैले । एकअर्काका पूरकका रूपमा । लेखन, सम्पादनदेखि सामग्री संकलनमा विजयकै विशेष सक्रियता रहँदै आइरहेको मलाई जानकारी थियो । अशोकको जिम्मा कला, सजावट र डिजाइन अनि पुष्करको विशेषतः व्यवस्थापन र आर्थिक स्रोत परिचालन हो । एकक्षण सन्नाटा थियो । मलाई भने एउटा नेपाली सिने पत्रकारितामा राम्रो शुरुआत भएको क्रम रोकिने पो हो कि भन्ने चिन्ता ।

– हो र ? विजयले छाडे…?

मैले तत्काल भन्न सक्ने त्यति नै थियो । तर पुष्कर र अशोक मेरो त्यो प्रतिक्रियाबाट सन्तुष्ट थिएनन् । उनीहरूले मबाट त्योभन्दा परको कुरा अपेक्षा गरेका होलान् ।

– होइन, मल्ल दाइ हामी त निकै आपत्मा पर्यो , पत्रकारिता हाम्रो क्षेत्र पनि होइन, हामीसँग यसको खासै ज्ञान पनि छैन, अब के गर्ने होला?
एउटा राम्रो शुरुआत भइसकेको कामनाको प्रकाशनमा निरन्तरता दिन नसकिने पो हो कि भन्ने उनीहरू दुवैमा सन्त्रास देखिन्थ्यो ।

– अब मल्ल दाइले कामना सम्पादनको जिम्मा लिइदिनुपर्यो ।

पुष्करले मुखै फोडेर कुरा अगाडि राखे । मैले त्यहाँसम्म अपेक्षा गरेको थिइनँ । हुन पनि सिने क्षेत्रमा मेरो के अनुभव छ र? मनोरञ्जनात्मक पत्रकारितामा मेरो जानकारी के हो र?

उनीहरूमा मप्रति आशा र भरोशामा त्यस्तो प्रस्ताव अगाडि सारेको होला, त्यो उनीहरूको मप्रतिको सम्मान पनि होला । तर पनि मैले त्यो प्रस्ताव स्वीकार गर्न सक्ने कुरा थिएन । मेरो उत्तर सकारात्मक हुन सकेन । त्यसै बखत कोठामा इनाप साप्ताहिकका सहयोगी मित्र अशोक श्रेष्ठ पनि थिए । बीचैमा उनले आफ्नो कुरा राखे ।

– पुष्कर, चिन्ता नलिनु, विजय नभए पनि म तिमीहरूलाई सहयोग गर्नेछु, म आफ्ना तर्फबाट सक्दो मद्दत गर्नेछु । अँ, मल्ल दाइले अरू नभए पनि कमसेकम सम्पादकीयका लागि कलम चलाइदिनुस् । महिनामा एक पटक त हो ।

अशोक श्रेष्ठको प्रस्तावबाट पुष्कर र अशोक मनासिंले अलिक सञ्चो अनुभव गरे । यस्तो एउटा संकटको अवस्थामा मैले पनि सजिलै नकार्ने आँट नै गरिनँ । मेरो सकारात्मक उत्तरपछि पुष्कर र अशोक मनासिं कामनाको निरन्तरतामा विश्वस्त हुँदै बिदा भए ।

मेरो अन्तरंग संलग्नता केही समयसम्म रहे । व्यावहारिक अनुभव र चुनौतीबीच पुष्कर र उनका मित्रमण्डलीहरू परिपक्व बन्दै गए । पछि पाठकहरूको चाहना र बजारको आवश्यकताअनुसार कामना लेटर पे्रसबाट अफसेटमा स्तरोन्नति भयो । पे्रस मात्रै रूपान्तरित भएन यो अब म्यागजिनको आकारमा रंगीन पृष्ठसहित बजारमा प्रवेश गर्यो ।

संकटका बेलामा पनि बिचलित नहुने, दृढ, आत्मविश्वास, सरल र सहज व्यवहारले पुष्करलाई कामनाको खुड्किलो हुँदै साधनाजस्तो बौद्धिक पत्रिका प्रकाशनमा प्रवेश गर्ने हौसला मिल्यो । तिनै क्रममा महानगर सायंकालीन दैनिक र अन्ततः आजको समाचारपत्र (हाल नेपाल समाचारपत्र) जस्तो राष्ट्रिय दैनिकको प्रकाशन सम्पादनमा पुष्कर खरो उत्रिए । साररूपमा पुष्कर एक स्वनिर्मित व्यक्तित्व हुन् जसले नेपालको सञ्चारमाध्यममा एउटा स्वतन्त्र र बेग्लै धारको प्रतिनिधित्व गर्दै गरे । नेपाली पत्रकारिता विधामा पुष्करले स्थापित गरेको मूल्य र मान्यता दृष्टान्तका रूपमा चिरकालसम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्