जनआन्दोलन १ का घरबेटी पुष्करलाल



कपिल काफ्ले

राजनीतिक दलमाथिको प्रतिबन्ध हट्नुपर्छ भन्ने माग जोडतोडले चलिरहेको थियो । दलविहीन पञ्चायती व्यवस्थाले शासन गरेको ३० वर्ष भइसकेको थियो । हरेक सचेत नागरिक जो राजतन्त्र वा अन्य कुनै तन्त्रका नाममा अधिनायकवाद कायम नहोस् भन्ने चाहन्थे, उनीहरू परिवर्तनका लागि आ–आफ्नो पक्षबाट सक्रिय थिए । पछि जनआन्दोलन एकका नामले चिनिएको २०४६–४७ सालको आन्दोलन जसको नेतृत्व सर्वमान्य नेता गणेशमान सिंहले गरेका थिए, साथमा वामपन्थी नेता पद्मरत्न तुलाधर उभिएका थिए, त्यस आन्दोलनका घरबेटी थिए पुष्करलाल श्रेष्ठ ।

त्यसो त तीन दशक लामो सहकार्यमा यस पंक्तिकारले पुष्करलाललाई कुनै राजनीतिक दलको सदस्य वा कार्यकर्ता भएको पाएन । कुनै पार्टीको सदस्यता नलिने, त्यसो गर्दा पत्रकारिता पेसामा पक्षधरता देखिन्छ भन्ने हाम्रो विश्वास थियो । यद्यपि पत्रकारिताका साथै चार सय पत्रकार र कर्मचारीलाई समेटेको कामना प्रकाशन समूह सञ्चालन गर्नुपर्ने खर्चिलो व्यवसायले उनलाई बारम्बार खरो परीक्षा लिइरह्यो, बाहिरबाट हेर्ने कतिले उनलाई कहिले कुनै राजनीतिक दल त कहिले राजाको नजिक पनि देखे, तर उनले राजनीतिक समूहको सिन्दुर लगाएनन् ।

लोकतान्त्रिक व्यवस्थामा कुनै राजनीतिक दलको कार्यकर्ता बन्नु अस्वाभाविक होइन, पत्रकार र नागरिक समाजका लागि मतदानका समयमा राजनीतिक दल र नेतालाई पहिचान गर्नुबाहेक अरु बेला बाहिर रहनु नै सहज हुने विश्वास पुष्करलालको थियो । उनी मात्र होइन, उनको संयोजनमा रहेको कामना प्रकाशनको नेतृत्वमा रहेका हामी सबैमा यही विश्वास थियो । कामना, साधना, महानगर हुँदै नेपाल समाचारसम्म आइपुग्दा पनि यसका सम्पादक मण्डलमा रहेका साथीहरुले दलको कार्यकर्ता बन्ने र त्यसका आधारमा पक्षीय पत्रकारिता गर्ने व्यवहार देखाएनन् ।

दलीय पक्षधरता नलिए पनि उनले राजनीतिक अवसरहरु नपाएका भने होइनन् । उनले कामना प्रकाशन समूहलाई नेतृत्व गरिरहँदा केही ठूला प्रस्तावहरु पनि पाएका थिए । यसमध्ये दुईवटा त निकै ठूलै हुन् । अन्तिम राजा ज्ञानेन्द्रले उनलाई सञ्चारमन्त्री नै हुन प्रस्ताव गरेका थिए भने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेसनल ट्रेडिङ लिमिटेडको जीएम हुन । तर उनले दुवैलाई एउटै जबाफ दिएका थिए, ‘म मिडियाकर्मी हुँ, यही नै मेरो घर हो, यसको समृद्धि नै मेरो सफलता हो, माछाले पानी छोडेर बाहिर बसेको देख्नुभएको छ र हजुर !’
पुष्करलालको घर काठमाडौं गणेशस्थानभन्दा एक मिनेट दक्षिणमा रहेको अट्कोनारायण स्थानमा थियो । उनको घरको भुइँतलामा कामना मासिक पत्रिकाको कार्यालय थियो । कामना प्रकाशनको कार्यालमै भएका थिए पहिलो जनआन्दोलनका अनेक रणनीतिक बैठकहरु । पुष्करलालका मिल्ने साथी थिए नवीन चित्रकार । उनी टेलिचलचित्रहरु निर्देशन गर्थे ।

पछि कविका रुपमा पनि नाम कमाएका उनी नेपाली कांग्रेससँग नजिक थिए । पुष्करलाल श्रेष्ठका प्रजातन्त्रवादी र वामपन्थी दुवै खेमाका साथीहरु थिए । नवीन र पुष्करको पहलमा कामनाको अफिसमा भएका बैठकको साक्षी बन्ने अवसर यस पंक्तिकारले पनि पायो । यी सबै बैठक पछि गएर ऐतिहासिक जनआन्दोलन पहिलोका कोशेढुंगा सावित भए । तीमध्ये कति बैठकमा नेपाल प्रेस इन्स्टिच्युटमा यसका तालिम संयोजक रहेका पत्रकार शरच्चन्द्र वस्तीको पनि सहभागिता रहन्थ्यो । वस्तीले पछिसम्म कामना मासिकको भाषा सम्पादन पनि गरे । उनको भाषागत् दक्षताबाट प्रभावित भएर यस पंक्तिकारले उनलाई सम्पादक बनाएर साधना मासिक चलाउने प्रस्ताव गर्यो ।

छिमेकी मुलुक भारतबाट प्रकाशित सरिता र सर्वोत्तम रिडर डाइजेस्टबाट प्रभावित भएर यी दुवैको बीचधारमा उभिने गरी पत्रिका चलाउने हो भने नेपालमा खोजमूलक पत्रकारिताले बजार पाउँछ भन्ने यसको विश्वास थियो । त्यसमाथि सिर्जनशील पुष्कर सरको विचार, वस्ती सरको सम्पादन भएपछि सामग्री जुटाउने यो पंक्तिकार छँदै थियो ।

पुष्करलाल मेरो करियर निर्माता पनि हुन् । पछि महानगर र नेपाल समाचारपत्र (पहिलाको नाम आजको समाचारपत्र) का लागि पनि उनले मलाई नै सम्पादक बन्ने अवसर प्रदान गरे । पहिलो चरणमा २०६१ सालसम्म हामीले सहयात्रा गर्यो । यहींनिर संस्थागतरुपमा समयले हामीलाई छुट्यायो, तर हाम्रो मन छुट्टिएन । म फेरि पछि दुई वर्षका लागि नेपाल समाचारपत्रमा संलग्न भएँ । उनको सिर्जनशीलता, साधा जीवन, सहयोगी व्यवहार, पत्रकार तथा कर्मचारीसँगको न्यानो पारिवारिक सम्बन्ध, कुशल संयोजन र हँसाउने शैली– कतै केही परिवर्तन थिएन । तर, ७० को दशक लाग्नुअघि नै सुगरले उनलाई समाइसकेको थियो । निरन्तर ब्याडमिन्टन खेल्ने, भोजनको अनुशासन पालन गर्ने भएका कारण सुगर पूर्णतः नियन्त्रणमा रहेको थियो । पछि रुघाजस्तो समस्याले नाकको र मृगौलाको पत्थरीको ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरमा गरेको अपरेसनले भने उनलाई कमजोर बनायो ।

२०७५ सालको उत्तराद्र्धदेखि बिरामी परेका उनले २०७६ सालको शुभकामना आदान–प्रदान गर्न सकेनन्, नयाँ वर्षको चारौं दिन उनको अन्तिम दिन बन्न पुग्यो । उनका छोरा दिरेकलालले फेसबुकमा भावपूर्ण स्टाटस लेखे, ‘भगवान्सँग मैले प्रार्थना गरेको थिएँ, बुबालाई पनि अनुरोध गरें, मेरो उमेरबाट १० वर्ष झिकेर लानुस्, तर कसैले सुनेन, शुभचिन्तकहरुले पनि चमत्कार होस्, बुबाको जीवन फर्कियोस् भनेर पुकार गरे, तर केही लागेन, उहाँले हामीलाई सदाका लागि छोडेर जानुभयो ।’

पहिलो जनआन्दोलनकै कुरा गर्दा, जब अट्कोनारायणस्थानमा चरणबद्ध बैठकहरु भए, तब निष्कर्षमा प्रजातन्त्रवादी र वामपन्थी समूहबीच मोर्चाबन्दी गराएर आन्दोलन अघि बढाउन गणेशमान सिंह र पद्मरत्न तुलाधरका बीच संयुक्त बैठक गराउने सहमति भयो । अरु साथीहरुका साथ नवीन र पुष्करले दुवै नेताहरुलाई बारम्बार एक्लाएक्लै भेटेर तयार बनाए । काठमाडौंको बागबजारस्थित नेपाली कांग्रेसका नेता श्रीराम श्रेष्ठको घरमा बैठक डाकियो, सिंह र तुलाधर दुवै सहभागी भए । बैठकले आन्दोलन अघिबढाउने निर्णय लियो ।

आन्दोलनको स्वरुप र रणनीति तयारबारे अझ प्रस्ट हुन पछि शिक्षाविद् सूर्यबहादुर शाक्यको घरमा बैठक बस्यो । यही बैठकले गणेशमान सिंहलाई सर्वोच्च नेता स्वीकार गरी जनआन्दोलनको नेतृत्व लिन अनुरोध गरेको र उनले स्वीकार गर्दै आफ्नो दायित्व पूरा गरेको नवीन चित्रकार यस पंक्तिकारलाई जानकारी गराउँछन् ।

यस आन्दोलनका घरबेटी पुष्करलाई गणेशमान र पद्मरत्न दुवै यस कारण पनि मन पराउँथे कि उनी नयाँ–नयाँ उपाय निकाल्न माहिर थिए । उनले आन्दोलनका क्रममा यस्ता–यस्ता प्रभावशाली उपाय प्रस्ताव गरे कि आन्दोलनले तुरुन्तै उचाइ हासिल गर्यो । निजामती कर्मचारीलाई सडकमा उतार्न उनले सञ्चयकोष र बैंकको पैसा निकालेर राजाले आन्दोलन दबाउँदै छन् , उनी देश छोडेर भाग्दैछन्, बैंकहरु टाट पल्टिँदै छन् भनेर हल्ला फिँजाउने सुझाव दिए । साँझमा बत्ती निभाएर राजधानीको गुजुमुज्ज बस्तीमा प्रहरीलाई आतंकित बनाउँदै आन्दोलन सफल बनाउने उपाय पनि उनकै थियो । उनी हामीसँग भन्ने गर्थे– ‘बैंकहरु टाट पल्टिँदै छन्, छिटो पैसा निकालौं भन्ने कार्यक्रम यति सफल भयो कि आन्दोलनको तयारी बैठकमा सहभागी साथीहरु पनि आफ्नो पैसा निकाल्न लाइनमा बस्न थाले’ ।

यसरी लाइनमा बस्ने एकजना साथीलाई उनले मेरै अगाडि भने पनि ‘हामीले नै यो हल्लाका लागि मात्र जनतालाई आन्दोलित बनाउन गरेको कल्पना होइन र’ । ती साथीको जबाफ थियो, ‘आफ्नो जम्मा यही ५० हजार रुपियाँ पूजी छ, सबै जना बैंक टाटपल्टिँदै छ भनेर लाइनमा बसेका छन्, बैंकमा ठूला दरका नोट सकिएर एक र दुई रुपियाँका नोट पनि मानिसले बोरामा हालेर लाँदै छन्…… !’ यस प्रतिक्रियाले आन्दोलन सफल बनाउन निकालिएका उपायहरुको प्रभावकारिता प्रस्ट हुन्थ्यो ।

नेपाली पत्रकारिताका विद्यार्थीले पुष्करलाल श्रेष्ठलाई जुन दृष्टिकोणले इतिहास पढे पनि स्मरण गर्नैपर्छ । कामना प्रकाशन समूह भनेको गोरखापत्र संस्थानजस्तै ऐतिहासिक शिखर हो । ११८ वर्ष लामो इतिहास भएको गोरखापत्रसँग चार दशक पनि आयु नपुगेको कामना प्रकाशनको कसरी तुलना हुनसक्छ भन्ने जिज्ञासा सबैलाई हुनसक्छ । तर, सरकारी क्षेत्रमा निरन्तर लामो सेवा गर्ने जेठो संस्था कुन हो भनेर गरिने प्रश्नको जबाफ र निजी क्षेत्रको पत्रकारितामा सर्वाधिक लामो र निरन्तर सेवा गर्ने संस्थाको नाम कुन हो भनेर गरिने प्रश्नको जबाफले दुई क्षेत्रका दुई शिखरको समानता पुष्टि गर्दछ । कामना प्रकाशनको नाम लिनासाथ यसका संस्थापकको नाम लिनैपर्छ– पुष्करलाल श्रेष्ठ ।

घुँडामा चोट नलागेको भए सायद पुष्करले फुटबल र ब्याडमिन्टन खेलबाटै देशको सेवा गर्थे । समयले उनलाई खेलको प्रतिस्पर्धामा जान नसक्ने के बनाएको थियो, उनले तत्काल प्रतिभा प्रस्फुटनको अर्को बाटो खोजिहाले । मनोरञ्जन पत्रिकाबाट शुरु भएको उनको पत्रकारिता यात्राले मूलधारको ब्रोडसिटसम्मको यात्रा पूरा गर्यो । काठे ब्लकबाट मनोरञ्जन दिन तयार उनका लागि अफसेट प्रविधि उत्साहको विषय थियो । २०४८ देखि साधना, २०४९ मा महानगर सन्ध्याकालीन दैनिक र २०५२ देखि नेपाल समाचारपत्र (पहिलाको नाम आजको समाचारपत्र) दैनिकका प्रकाशक तथा प्रधान सम्पादक रहेका पुष्करलालको व्यावसायिक जीवन बुझ्न उनको ‘कलम’ नामक पुस्तक पढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्