तपाईंलाई दशैं र तिहारमा कुन चाड मन पर्छ, किन?



दुवै मन पर्छ : मदनकृष्ण श्रेष्ठ

दशैं र तिहार दुवै चाड मन पर्छ । दुवैको आआफ्नै विशेषता छ । दशैंमा छरिएर रहेका आफन्तसँग भेटघाट हुन्छ । यसले असत्यमाथि सत्यको सधैं जित हुन्छ भन्ने कुरा पनि सम्झाउँछ । तिहार दिदीबहिनी र दाजुभाइको चाड हो । उनीहरु एक आपसमा भेटेर टीका लगाउँछन् भने दाजुभाइ दिदीबहिनी नभएकाहरुले पनि दाजुभाइ दिदीबहिनी बनाएर मायाको अनुभव साट्छन् । तिहारमा देउसी–भैलो खेल्ने चलन रहेको छ, जसको बेग्लै महङ्खव छ । यस कारणले नेपालका अन्य चाडबाडमध्ये दशैंतिहार नै बढी मन पर्छ ।

काटमार मन पर्दैन : हरिवंश आचार्य

दुवै मन पर्छ मलाई । किनभने दुवै चाडमा रमाइलो हुन्छ । तर आर्थिक हिसाबमा भने भार बढ्छ । दशैंलगत्तै तिहार आउँदाखेरी निम्न वर्गका मानिसलाई त ऋण गरेर भए पनि चाडबाड मनाउनुपर्ने बाध्यता छ । दशैंको नकरात्मक पक्ष भनेको दशैंमा बढी नै काटमार हुन्छ । त्यो मन पर्दैन भने आफन्तसँग भेट हुने कारणले राम्रो लाग्छ । तिहारको नकारात्मक पक्ष भनेको बाहिरबाट ल्याइएका पटका पट्काएर हो–हल्ला गरेको मन पर्दैन । साथै दाजुभाइ दिदीबहिनीबीच भेटघाट हुने भएकाले मन पर्छ ।

झिलिमिली तिहार नै रमाइलो : अनु शाह

मलाई तिहार मन पर्छ । किनभने तिहारमा म आफै घर सजाउँछु । रमाइलो माहोल हुन्छ । भाइलाई टीका लगाउँदा खुसी लाग्छ । परिवार र साथीभाइबीच गेटटुगेदर हुन्छ । काठमाडौंमा दशैंभन्दा तिहार रमाइलो हुन्छ । सबैतिर झिलिमिली हुन्छ । त्यसैले मलाई त तिहार नै रमाइलो लाग्छ ।

देउसी–भैलोको रमाइलो : मीना निरौला

मलाई तिहार मन पर्छ । किनभने तिहारमा आफ्ना दाजुभाइ सबैसँग भेट हुन्छ र दाजुभाइको दीर्घायुको कामना गरिन्छ । सबैभन्दा रमाइलो कुरा घरवरिपरि र घरभित्र सरसफाइ गरिन्छ । माहोल नै रमाइलो बनिदिन्छ । देउसी–भैलोले रमाइलो गराउँछ ।

तिहार विशेष लाग्छ : मञ्जु पौडेल

मलाई तिहार मन पर्छ । किनभने तिहारका बेला सयपत्रीहरुको बासना एकदमै मन पर्छ । तिहारले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ बनाउँछ । धेरै टाढा भए पनि दाजुभाइ दिदीबहिनीको भेट हुन्छ । यसले आत्मीयता बढाउँछ । भाइबहिनीमा माया साटासाट त हुन्छ नै, त्यसको अलावा देउसीभैलोले छुन्छ । देउसीभैलो खेल्न एकदमै रमाइलो लाग्छ । तिहारसँग हाम्रो विभिन्न सांस्कृतिक धार्मिक तथा पारिवारिक कुराहरु जोडिएको हुनाले तिहार विशेष लाग्छ । भाइब्ज नै बेग्लै लाग्छ र रोमान्टिक लाग्छ ।

दशैं विशेष छ : दीपाश्री निरौला

मलाई दुवै चाड एकदम मन पर्छ । तर पनि तिहारभन्दा दशैं विशेष लाग्छ । किनभने दशैंमा आयुः द्रोणसुते श्रेयंदशरथे भनेर मान्यजनबाट टीका र आशिष थाप्ने मौका पाइन्छ । आशीर्वाद थाप्नुभनेको निकै ठूलो कुरा हो । जो कोहीले यो मौका नपाउन सक्छ । आशिष पाउनका लागि ठूलो कर्म गर्नुपर्छ । त्यसै गरी नवदुर्गाको पूजा गरेर ऊर्जा प्राप्त हुन्छ भने असत्यमाथि सत्यको जित हुने भएकाले यसको छुट्टै महङ्खव छ । सानो बेलामा त झन् दशैंमा टीका लगाएर पैसा पाएको र मामाघर जान पाइने कुराले दशैं झनै रमाइलो लाग्थ्यो ।

तिहारको रौनक छुट्टै छ : रामकृष्ण ढकाल

दशैं र तिहार दुवैको छुट्टाछुट्टै महङ्खव छ । बढीचाहिँ तिहार मन पर्छ । तिहारमा बेलुका काठमाडौं निकै झिलिमिली देखिन्छ । यसको छुट्टै रौनक हुन्छ भने वातावरण पनि उल्लासमय हुन्छ । सानो हुँदा देउसीभैलो खेलेर रमाइलो गरेको स्मरण तिहारले ताजा गराउँछ । यस कारण तिहार मन पर्छ ।

दुवै चाड मन पर्छ : आनन्द कार्की

मलाई दुवै चाड एकदमै मन पर्छ । किनभने दुवैको आ–आफ्नै विशेषता छन् । दशैंमा नारीशक्तिका रुपमा देवीहरुको पूजाआराधना गरिन्छ । कतिको मन दुखेको हुन्छ तर पनि आशीर्वाद र प्रसाद थाप्न जाने चलन छ । बिछोडिएका मन एक आपसमा फेरि जोडिने र एक आपसमा प्रेम र सद्भावना व्यक्त गर्ने चाड हो दशैं । तिहार पनि मिलनको पर्व हो दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गरिन्छ । मनमुटाव भएका दिदीबहिनी तथा दाजुभाइबीचको पुनर्मिलनको चाड हो तिहार । माता लक्ष्मीलाई हर्षोल्लासका साथ घरमा प्रवेश गराइन्छ र धन प्राप्ति हुन्छ भन्ने विश्वास छ । दशैंतिहारमा अर्कै प्रकारको काम गर्ने ऊर्जा प्राप्त हुन्छ । यो समयमा प्रकृति पनि रमाइरहेको हुन्छ । थरीथरीका फूलहरुले वातावरण रंगीन बनाएका बेला पिङ तथा देउसीभैलीको रमाइलो अर्कै हुन्छ । सबैभन्दा राम्रो समय नै दशैंतिहारको समय हो ।

तिहारमा विकासको आभाष हुन्छ : भुवन केसी

मलाई तिहार बढी मन पर्छ । किनभने तिहारमा ४/५ दिनका लागि भए पनि काठमाडौं झलमल हुन्छ र सफा हुन्छ । देश साँच्चै विकास भएको आभाष हुन्छ । तिहारमा देउसीभैली खेलेको निकै रमाइलो लाग्छ ।

झिलिमिली मन पर्छ : वर्षा राउत

दशैं र तिहारमध्ये मलाई तिहार बढी मन पर्छ । किनभने काठमाडौंको बेसिसमा भन्ने हो भने तिहारमा एकदमै झिलिमिली हुन्छ । त्यस्तै फुलेको फूलको बासनाले मन निकै लोभिन्छ । त्यसैले बासना र झिलिमिलीको चाड तिहार नै रमाइलो लाग्छ, मन पर्छ ।

तहारको सेलिब्रेशन रमाइलो : बेनिशा हमाल

सेलिब्रेशनको हिसाबले मलाई तिहार मन पर्छ । किनभने तिहार भनेपछि देउसीभैलीको छुट्टै रमाइलो हुन्छ भने सानो बेलाका स्मरणहरुले गर्दा थप रोमाञ्चकता महसुस हुन्छ । झिलिमिली बत्तीको कारणले गर्दा पनि तिहार रमाइलो लाग्छ । तिहारको बेला ममीतिरको दाजुभाइ र बाबातिरको दिदीबहिनी हाम्रै घरमा जम्मा भई टीका लगाएर तिहार मनाउने चलन छ । यस कारण पनि सबैजनासँग भेटघाट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्