
कमल सुवेदी
नौलाखे तारा गीतको पहिलो प्रस्तुति तथा अम्बर र गगणसितको पहिलो एक आपसको देखाभेट थियो राजा महेन्द्रको । अतः अम्बर र गगणका बीचमा राजा दिग्भ्रमित भए होलान् भन्ने प्रसंग पनि स्वयं गगण उठाउँछन् आज पनि । तर यसभित्र गहिरिएर पस्न उनी पटक्कै चाहँदैनन् । महेन्द्रका अघि सो गीतका प्रस्तोता आफू रहेको तर राजाबाट बोलाहट भने अम्बरलाई भएकोमा गगणलाई आज पनि कुनै पछुतो छैन ।
नौ लाखे तारा उदाए….
यो गीतका सन्दर्भमा अम्बर गुरुङ र अगमसिंह गिरीको आजसम्म भारी चर्चा भइसकेको छ । २०१६ सालतिर अगमसिंह गिरीले रचना गरेको यो कालजयी गीति कविता उनै अम्बरका स्वरमा रेकर्ड भयो हिन्दुस्तान रेकर्डिङ कम्पनीमा २०१८ सालमा । २००९ सालतिर दार्जिलिङमा सङ्गीतकर्मीहरुको सत्प्रयासमा आर्ट एकेडेमी खुलिसकेको थियो, जसमा अध्यक्ष थिए अम्बर गुरुङ र सचिवमा गगण गुरुङ । गोपाल योञ्जन, अरुणा लामा, शरण प्रधान, रञ्जित गजमेर तथा मणिकमल क्षेत्रीहरु भर्खर उदाउँदै थिए त्यतिबेला ।
राजा महेन्द्रले हिमालयन कला मन्दिरको गायन टोलीलाई आफ्नो मनोरञ्जनका लागि निम्त्याए । जहाँ सर्वप्रथम सो गीत गगण गुरुङले गाएका थिए कोरसका साथमा । नवीन बर्देवाले हार्माेनियम र रञ्जित गजमेरले तबला बजाएको सो गीतका पहिलो स्रोता पनि राजा महेन्द्र नै रहे ।
आर्ट एकेडेमीमा त्यतिबेला अम्बरलाई साथ दिनेमा उनै गगण गुरुङ, पासाङ वाङ्ग्याल, रहरकुमारी राई तथा शेखर दीक्षितहरु थिए । भन्नु मात्र थियो आर्ट एकेडेमी त्यतिबेला । जसको आफ्नो कार्यालय पनि थिएन, बेवारिस थियो । अम्बर र गगणसित पनि मन मात्र थियो, धन थिएन । यो अवस्था देखेर स्थानीय भानुभक्त नेपाली पाठशालाका तत्कालीन प्राचार्य अगमसिंह गिरीले आफ्नो पाठशालाको एउटा कोठा एकेडेमीलाई सुम्पे र त्यसको चाबी अम्बरलाई समर्पण गरे । एउटा मानवीय चेतना र नेपालीत्वका भावुक कवि गिरी, जो हमेसा दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएका हुन्थे उनको यो समर्पणले शुरु भयो नेपाली सुगम संगीतको क्षेत्रमा एउटा थप नयाँ अध्याय ।
त्यतिबेरै थपिए सो एकेडेमीमा कपिलराज सुब्बा, जसले रवीन्द्र संगीतका बारेमा गहिरो अध्ययन गरेका थिए । उनकै लगावमार्फत अम्बरबाट नेपाली सुगम संगीतका क्षेत्रमा आधुनिकताको पदार्पण हुन पुग्यो । एक दिन साँझ तिनै दौरा सुरुवाल र नेपाली टोपीमा सजिएका कवि अगमसिंह गिरीले भानुभक्त पाठशालामा रहेको आर्ट एकेडेमीमा आई खल्तीबाट एउटा कागजको टुक्रा निकालेर अम्बरलाई दिए । त्यही कागजको टुक्रामा थियो अजम्बरी गीत नौलाखे तारा उदाए … को रचनागर्भ जो संगीत कम्पोजिसन पूर्वको अवस्थामा थियो ।
अम्बरले हेरपछि त्यो कागज कपिलराज सुब्बाले पनि हेरे । कपिलराज आज यो दुनियाँमा छैनन्, तर अम्बरलाई अजर अम्बर बनाउने स्रष्टा अगमसिंह गिरीपछि उनै हुन् । बंगाली संगीत अन्वेषक तथा संगीतकार सलिल चौधरीका प्रिय शिष्य कपिलराजले दार्जिलिङमा नेपाली आधुनिक गीतको टे«न्ड सेट गर्दै थुप्रै कुराहरु अम्बरलाई सिकाएका पनि हुन् । कपिलराजले गीत हेरे र सो लामो गीतका केही अन्तरा छाने र केही हटाए कम्पोजसनका लागि । भीमपलासी राग र तामाङ सेलो बिटमा यसको सङ्गीत चयन भयो, जसको चयनकर्ता पनि उनै कपिलराज नै थिए । संगीत कम्पोजिसनका अथाह ज्ञान भएका अम्बरले कपिलको सुझावलाई तत्कालै मनन गर्दै सोहीअनुसारको संगीत तयार पारेका हुन् । गोर्खा पत्रिकाको सन् १९६१ सालको अप्रिल अंकमा प्रकाशित सो गीतिकविता जम्मा ३१ हरफको थियो । गोर्खा पत्रिकाका सम्पादक थिए नरबहादुर दाहाल । तर ३१ हरफमा छापिए पनि यसको संगीत भने सोह्र हरफमा मात्र कम्पोज भएको पाइन्छ । यही गीत र दार्जिलिङको सेरोफेरो नै रह्यो अम्बरले सफलताको शिखर चुम्नका लागि आधारशिविर ।
गीत त यसरी तयार भयो तर औपचारिकरुपमा कसैले गाएको भने थिएन । २०१८ सालतिर राजा महेन्द्र दार्जिलिङ पुगेका बेला आर्ट एकेडमी निस्क्रिय भइसकेको थियो । किनभने सरकार नियन्त्रित सांस्कृतिक संस्था लोकमनोरञ्जन शाखामा अम्बरले नोकरी पाइसकेका थिए भने गगण गुरुङ हिमालयन कला मन्दिरमा समाहित भइसकेका थिए । राजा महेन्द्रले हिमालयन कला मन्दिरको गायन टोलीलाई आफ्नो मनोरञ्जनका लागि निम्त्याए । जहाँ सर्वप्रथम सो गीत गगण गुरुङले गाएका थिए कोरसका साथमा । नवीन बर्देवाले हार्माेनियम र रञ्जित गजमेरले तबला बजाएको सो गीतका पहिलो स्रोता पनि राजा महेन्द्र नै रहे भने पहिलो गायक गगण गुरुङ । टु एन्ड हाफ स्केलमा गाइएको सो गीत सुनेर राजा महेन्द्र आल्हादित बन्दै दोहो¥याउन पनि लगाए । राजा प्रसन्न हुँदै बक्सिसस्वरुप गगणलाई भारु एक हजारको चेक पनि प्रदान गरे । तर गगण त्यो चेकबापतको रकम आफूले कहिल्यै नपाएको आज पनि बताउँछन् । त्यो जमानामा भारु एक हजारको महत्व ज्यादै ठूलो थियो । खैर यो त भयो तपसिलको कुरो ।
यसरी भयो नौलाखे ताराको प्रथम मञ्चीय गायन । अब त्यो गीत रेकर्ड गर्नु थियो । तर गीत रेकर्ड गर्ने अम्बर र गगणको आर्थिक हैसियत थिएन । न त त्यतिबेला दार्जिलिङमा रेकर्ड गर्ने स्टुडियो नै थियो । पश्चिम बंगालको दार्जिलिङ पुलिसमा राम्रै नोकरी भएका सचिन्द्रमणि गुरुङको आर्थिक प्रायोजनमा ३ दिनको बाटो पार गरेर उनीहरु रेकर्डका लागि कलकत्ता पुगे सन् १९६१ मा । त्यहाँको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा सो गीत रेकर्ड हुनु नै अम्बर भर्सेज गगण प्रसंगका शुरुवात हो । किनकि सो गीत रेकर्ड भयो अम्बर गुरुङको स्वरमा । जुनबेला महेन्द्रलाई मञ्चमा सुनाउँदा गगणलाई तबलामा साथ दिने रञ्जित गजमेरले रेकर्ड गर्दा मादल बजाएका थिए । यो गीत जब आकाशवाणी खर्साङ र रेडियो नेपालबाट गुन्जिन थालेपछि त अम्बरका ख्याति कहाँ पुग्यो त्यसका जानकार सबै नेपालीहरु छन् ।
नौलाखे तारा गीतको पहिलो प्रस्तुति तथा अम्बर र गगणसितको पहिलो एक आपसको देखाभेट थियो राजा महेन्द्रको । अतः अम्बर र गगणका बीचमा राजा दिग्भ्रमित भए होलान् भन्ने प्रसंग पनि स्वयं गगण उठाउँछन् आज पनि । तर यसभित्र गहिरिएर पस्न उनी पटक्कै चाहँदैनन् । महेन्द्रका अघि सो गीतका प्रस्तोता आफू रहेको तर राजाबाट बोलाहट भने अम्बरलाई भएकोमा गगणलाई आज पनि कुनै पछुतो छैन, न अम्बरप्रति उनको कहिल्यै गुनासो रह्यो । तर त्यो क्षण आश्चर्यलाग्दो भने लाग्छ उनलाई । युवा भारतीय नेपाली कवि मनोज बोगटीलाई पनि यो प्रसंगको सोधाइमा गगणले यही जवाफ दिएका छन् । चार भर्सको शब्दमा यो गीत रेकर्ड भयो । तर महेन्द्रका अघि गगणले कति भर्स गाएर सुनाए, बुढ्यौलीका कारण उनलाई आज त्यसको हेक्का छैन ।
अम्बर चासोमा एउटा अर्काे पनि नमेटिने डोब छ । अम्बरको निधनको औपचारिक घोषणा उनको उपचारमा संलग्न चिकित्सकहरुले गर्दै नगरी लैनचौरस्थित भारतीय दूतावासले श्रद्धाञ्जली व्यक्त ग¥यो । यति मात्र कुरो होइन उनी भारतका जन्मसिद्ध गायक तथा संगीतकार रहेको समेत फुर्काे जोडेर उनको आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको खबर पनि त्यतिखेर सामाजिक सन्जालमा भाइरल भयो । अब अम्बरलाई नेपाल आमन्त्रण गर्ने राजा महेन्द्र हामीबीच छैनन् । तर गुरुङको निधनमा भारतका जन्मसिद्ध सपूत भनेर घोषणा गर्ने भारतीय दूतावास काठमाडौंको मुटुमै छ । यहाँ पनि भर्सेजका कुरा आउलान् तर त्यतातिर नजाऊँ ।
एउटा यथार्थ केचाहिँ सत्य हो भने नौलाखे तारा गीतभित्रको घरको माया बिर्सेर किन पो यहाँ आयौ नि भन्ने हरफले भने अम्बरलाई घर अर्थात् नेपाल पस्ने सञ्जीवनी बुटी प्राप्त भयो । तर सांस्कृतिक, जातीय र भाषिकरुपमा नेपाली तर राष्ट्रियताका हिसाबले भारतीय रहेका मेची पारीका आम नागरिकहरुलाई भने थुप्रै पीडा थोपरेको हो । अर्का भारतीय नेपाली कवि राजा पुनियानीले यो प्रसंगमा नौलाखे तारा गीत भावनात्मकरुपमा अजम्बरी भए पनि सो भूभागको राजनीतिमा अर्थहीन र नकारात्मक मानेका छन् । कवि धरणीधर कोइरालाको नैवेद्य कविता, इन्द्रबहादुर राईको आज रमिता छ उपन्यास तथा मनबहादुर मुखियाको अनि देउराली रुन्छ नाटकमा पनि यस्ता विषयहरुको प्राधान्यता रहेको कुरा बनारसको काशी हिन्दू विश्वविद्यालयका भारतीय नेपाली प्राध्यापक तथा नपाली विभागका प्रमुख दिवाकर प्रधानले बताएका छन् ।
यी प्रसंग उठाउनुको उद्देश्य अम्बरको सांगीतिक उचाइमाथिको कुनै प्रश्न पटक्कै होइन । तत्कालीन नेपालमा हल्काफुल्का गीतहरुको प्रधानता रहेका बेला साहित्यिक भावयुक्त सुगम संगीत र त्यहीअनुसारका गीतहरुको चयन र लेखन गर्ने पनि उनै अम्बर हुन् । वैरागी काइँला, ईश्वरबल्लभ, हरिभक्त कटुवाल, पासाङ वाङ्ग्याल तथा अगमसिंह गिरीका बेजोड गीतहरुलाई उनै अम्बरले कम्पोज गरे । नेपाली जागरण गीतका प्रथम प्रयोक्ता पनि उनै हुन् । क्वायर गायन, क्यान्टाटा र नेपाली आर्केस्ट्राको परिकल्पनाकार पनि उनै हुन् । स्वर नै त बिछट्टै राम्रो होइन, उनको नौलाखे ताराकै प्रसंगमा पनि उनको बेजोड खुलेको स्वर होइन, कम्पोजिसन पनि त्यस्तो बुलन्द होइन तर त्यसका अति भावनात्मक शब्दहरुले तत्कालीन भारतका नेपाली बस्तीहरुको प्रतिविम्व भने सार्थकरुपमा उतारेको हो । नेपाली जातिको मनको वास्तविक बह उजागर भएकै कारणले त्यो गीत त्यस्तो रुचाइएको हो भन्ने कुरा उनकै शिष्य तथा उनको कुलपतित्व कालका सदश्य सचिव संगीतकर्मी आभाषले बताएका छन् । अम्बरको नेपाल आगमन, नौलाखे तारा गीतको कम्पोजिसनको रचनागर्भ, प्रथम प्रस्तुति अनि प्रथम गायक गगण गुरुङ आदि तथ्यहरुबारे केही नखुलेका पाटाहरुलाई उजागर गर्नु मात्र यो आलेखको उद्देश्य हो ।