कोरोना भाइरस संक्रमणबाट हुने कोभिड–१९ का कारण यतिखेर विश्वजगत् आतंकित छ । चीनको उहानबाट शुरु भएको यो संक्रमण हाल विश्वका धेरै देशमा फैलिइरहेको छ । विश्वका थुप्रै देश कोरोनाको त्रासबाट आक्रान्त बन्न पुगेका छन् ।
एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने यो संक्रमण हालसम्म नेपालमा देखिएको छैन, तर जोखिमबाट धेरै टाढा पनि छैन । हालसम्म कुनै औषधी र खोप बनिनसकेकाले यसप्रति सचेत हुनु अत्यन्त जरुरी भएको छ । यसैलाई मध्यनजर राखी सरकारले कोरोना संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न केही समयका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आगामी वैशाख १८ गतेसम्मलाई सिनेमा हल वन्द गर्ने निर्णय गरेको छ । सिनेमा हलसँगै धेरै भिडभाड हुने खेलस्थल, जिम, डान्स बार तथा क्लबसमेत बन्द गर्ने निर्णय सरकारले गरेको छ । सरकारले कोरोना संक्रमण हुनबाट सावधानी अपनाउन सिनेमा हलहरुसँगै सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्स बार तथा क्लबसँगै करिब डेढ महिनासम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमनका लागि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यससँगै र यसभन्दा अगाडि नै कोरोना संक्रमणका जोखिमबाट बच्न नयाँ फिल्मको रिलिज सम्बन्धित निर्माता तथा लगानीकर्ताहरुले स्थगित गरेका छन् । सुटिङ फ्लोरमा रहेका फिल्महरुको सुटिङ बीचमै स्थगित गरिएको छ । मनोरञ्जनमूलक सांस्कृतिक कार्यक्रम, मेला महोत्सव, कन्सर्टजस्ता कार्यक्रमहरु बन्द गरिएका छन् ।
सिनेमा हल, फिल्मका सुटिङ र मनोरञ्जनमूलक कार्यक्रमहरु स्थगित गरिएसँगै कलाकारहरु फुर्सदिला भएका छन् । फुर्सदमा रहेका कलाकारहरुले आफूसँगै दर्शकलाई पनि कोरोना संक्रमणबाट सचेत गर्न विभिन्न सामाजिक सञ्जालका माध्यमले सचेतनामूलक सन्देशहरु प्रवाह गरिरहेका छन् । सधैंजसो व्यस्त रहने कलाकारहरुले भिडभाडमा नजान र सावधानी अपनाउँदै कोरोना संक्रमणबाट बच्न विभिन्न उपायहरु सुझाउँदै आएका छन् । यसरी विभिन्न कलाका माध्यमबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका कलाकारहरुले यस हिसाबले सामाजिक उत्तरदायित्व पूरा गरिरहेका छन् ।
यससँगै कलाकार तथा फिल्मकर्मीहरुले यो फुर्सदिलो समयलाई सिर्जनात्मक कार्यमा सदुपयोग गर्नु आवश्यक भएको छ । व्यस्तताका कारण आफ्ना र अरुका सिर्जना तथा कला नियाल्न नपाएका कलाकर्मी र फिल्मकर्मीका लागि यो फुर्सदको समय उचित समय हुनेछ । कलाकारहरुले आफूले यसअघि अभिनय गरेका फिल्म, गाएका र संगीत भरेका गीत, फिल्म निर्माता, निर्देशक, लेखक तथा प्राविधिकहरुले आफूले गरेका कामका उत्पादनहरु अवलोकन गरी आत्ममूल्यांकन गरे आगामी दिनमा आफूलाई परिस्कृत गरी खरोरुपमा उतार्न मदत मिल्नेछ । यो समय आत्ममूल्यांकनका लागि मात्र होइन, आफ्नो सँगै अरुका कामको मूल्यांकन गर्ने, आफूले काम गर्दै आएको क्षेत्र कुन गतिमा कता अगाडि बढिरहेको छ वा केकस्ता कमजोरी भइरहेका छन्, के परिवर्तन आइरहेका छन्, यो परिवर्तनले आफ्नो क्षेत्रलाई कता डोहोर्याइरेहेको छ, ती सबैको मूल्यांकनका लागि यत्तिको अनुकूल समय कहिल्यै पनि हुन सक्दैन ।
कलाका विभिन्न फाँटले विश्वमा अहिले फड्को मारिरहेको छ । तसर्थ आफ्नो देशको मात्र नभई, आफूले काम गर्दै आएको विभिन्न विधाका स्वदेशी सर्जक कलाकारहरु कसरी अगाडि बढिरहेका छन्, अवलोकन गरी आफ्नो क्षेत्रलाई अझ प्रभावकारी बनाउने, गतिशीलता दिने, सिर्जना र कलाको दायरा बढाउने यो सही समय बन्न सक्छ । नेपाली फिल्मका क्षेत्रमा औंल्याइँदै आएको लेखनपक्षको कमजोरीलाई सुधार्दै जाने वा स्तरवृद्धि गर्दै जाने पनि यो उचित समय हुन सक्छ । कसलाई के थाहा यो जोखिमको समय, सिर्जनाको समय बनेर पो देखिने छ किरु त्यसैले यो जोखिमको समयलाई सिर्जना र कला अभिवृद्धिको समयमा बदल्ने प्रयास गरौं ।