-शाक्य जी
फेसन शोमा प्रदर्शन गरिएका सम्पूर्ण पहिरनलाई नेपालमा प्राकृतिकरुपमा उपलब्ध रहेका अर्गानिक फ्याब्रिकमा तयार पारिएको थियो । कासा बुटिकले डिजाइन गरेको उक्त पहिरनहरु मूलतः पस्मिना, फेल्ट तथा याक बुलको प्रयोगबाट तयार पारिएका थिए । पहिरनसँगै नेपाली संस्कृतिको पहिचान दिलाउने आरबी डायमन्ड ज्वेलरीका नेपाली गरगहना पनि प्रस्तुत गरिएका थिए ।
सन् २०२० को जनवरी २६ तारिख अर्थात् २०७६ सालको माघ १२ गते नेपाल र नेपालीका लागि एउटा गर्विलो उपलब्धी हासिल भएको दिनका रुपमा इतिहास रचिन पुग्यो । फेसन र मोडलिङ क्षेत्रबाट सामाजिक उत्तरदायित्वको सम्बन्धमा उठ्ने गरेका प्रश्नको एउटा गतिलो जवाफका रुपमा यो उपलब्धीलाई स्वीकार गर्न सकिन्छ ।
प्रसंग हो द माउन्ट एभरेस्ट फेसन रन वे अर्थात् समुद्री सतहबाट सबैभन्दा अग्लो स्थानमा सञ्चालन गरिएको फेसन शोको । गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्व रेकर्डका रुपमा दर्ता हुन सफल द माउन्ट एभरेस्ट फेसन रन वे हालसम्म संसारमा सबैभन्दा अग्लो स्थानमा सञ्चालन भएको फेसन शोका रुपमा रेकर्डेड बन्यो । ५ हजार ३ सय ४० मिटर अर्थात् १७ हजार ५ सय १५ मिटर अग्लो स्थान, नेपालको कालापत्थरमा उक्त फेसन शो सफलतापूर्वक सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको आयोजना आरबी डायमन्डस् तथा कासा स्टाइलले संयुक्तरुपमा गरेको थियो भने नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० अभियानको साथ रहेको थियो । पर्यावरणमा आएको परिवर्तनबारे सचेतना र सस्टेनेबल फेसनको प्रवद्र्धनका साथै सबैखाले पर्यटन गतिविधिका लागि नेपाल विश्वकै सर्वोत्तम र सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको थियो ।
फेसन शोमा प्रदर्शन गरिएका सम्पूर्ण पहिरनलाई नेपालमा प्राकृतिक रुपमा उपलब्ध रहेका अर्गानिक फ्याब्रिकमा तयार पारिएको थियो । कासा बुटिकले डिजाइन गरेको उक्त पहिरनहरु मूलतः पस्मिना, फेल्ट तथा याक बुलको प्रयोगबाट तयार पारिएका थिए । पहिरनसँगै नेपाली संस्कृतिको पहिचान दिलाउने आरबी डायमन्ड ज्वेलरीका नेपाली गरगहना पनि प्रस्तुत गरिएका थिए । विशेषतः ज्वेलरी प्रदर्शनमा काइनाइट स्टोन ज्वेलरीहरु प्रमुख आकर्षणका रुपमा रहेका थिए ।
विश्व कीर्तिमान स्थापित गर्न सफल द माउन्ट एभरेस्ट फेसन रनवेमा नेपाल, इटाली, फिनल्यान्ड, जाम्बिया, इन्डोनेसिया, श्रीलंका र सिंगापुरका महिला तथा पुरुष मोडलले पहिरन प्रदर्शन गरेका थिए । जसमा नेपालका व्यावसायिक मोडलहरु एसिकविक्रम थापा, स्मृति नेपाल, अनुष्मा रायमाझी, भाग्य कक्षपति, आकांक्षा पाठक, निलम चन्द, सोफिया भुजेल र मिस नेपाल इन्टरनेसनल २०१८ रोनाली अमात्य प्रस्तुत भएका थिए । यसै गरी इटालीका नताशा बोरोजान, अलेक्ज्याड्रो एगर, मडालिना डोरोफ्टी र मान्युएल स्क्रिमा, फिनल्यान्डका पाउला मारिया पोट्री र इन्डोनेसियाका अल्फ्रिडा अलिफियाले रनवेमा ओहोरदोहोर गरेका थिए । कार्यक्रममा मिस युनिभर्स सिंगापुर २०१८ जाहरा खानुम, मिस युनिभर्स जाम्बिया २०१८ मेल्बा इम्यानुयलाह सकाबोझा र अहिलेका मिस युनिभर्स श्रीलंका ओर्नेला गुणसकेरा पनि सो फेसन रनवेको प्रमुख आकर्षणका रुपमा रहेका थिए । कार्यक्रमका अन्य विदेशी मोडलमा सिमोन फेरेटी, भेजुन माराकिनेइट र मारिनेला रस्नासियुसी रहेका थिए । मोडलहरुको शृङ्गार इन्दिरा महर्जनले गरेकी थिइन् भने फोटोग्राफी विकास खतिवडाले गरेका थिए ।
द माउन्ट एभरेस्ट फेसन रनवेको प्रस्तुत भएको मुख्य दिनभन्दा अगाडि १८ जनवरी २०२० मा कालापत्थरका लागि लुक्लाबाट ट्रेकिङ यात्रा प्रारम्भ गरेका थिए । सो टिममा ४८ जनाको समूह थियो । जसमा आयोजक संस्थाका प्रमुख सदस्यहरु तथा मोडलबाहेक, भिडियो टिम, मेकअप आर्टिस्ट, स्वास्थ्य टोलीका सदस्यहरु, फेसन डिजाइनिङ तथा ज्वेलरी डिजाइनिङको टिमको सहभागिता रहेको थियो । गिनिज वल्र्ड रेकर्डको प्रयाससँगै एभरेस्ट बेस क्याम्पको समग्र यात्राको भिडियो रेकर्डिङ पनि गरिएको थियो, जसलाई एमटिभी यूएसए र क्यानाडामा आगामी अप्रिल मे महिनामा प्रसारण गरिने जनाइएको छ । यात्रा प्रारम्भ गर्नुअगाडि सम्पूर्ण टिम सदस्यबाट यात्राका अवधिमा वातावरणमैत्री सरसामग्रीको मात्र प्रयोग गर्ने, वातावण प्रदूषण गर्ने सरसामग्री प्रयोग नगर्ने सामूहिक अठोट र प्रतिबद्धता व्यक्त गरिएको थियो । यात्रामा करिब आठ हजार लिटर पानी जोगाउने उद्देश्यअनुरुप हरेक सदस्यको व्यक्तिगत सरसफाइका लागि क्लिनस्टा वाटरलेस बाथ र स्याम्पुको प्रयोग गरिएको थियो ।
२०७६ को माघमा समुद्री सतहभन्दा १७ हजार ५ सय १५ मिटर अग्लो स्थानमा अवस्थित कालापत्थरमा आयोजना गरिएको विश्व रेकर्ड राख्न सफल द माउन्ट एभरेस्ट फेसन रनवेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका नन्दिनी लाहे थापा, आरबी डायमन्डस्का चेयरपर्सन रमेश महर्जनलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।