नेपालस्थित लखौटिया इन्स्टिच्युट अफ आर्ट एन्ड डिजाइनबाट फेसन डिजाइनिङमा डिप्लोमा गरेकी नेपाली फेसन डिजाइनर संयुक्ता श्रेष्ठको चर्चा सन् १९९८ देखि नै थियो, जब उनी नेपालमा रहेर कपडामा आफ्नो सृजनात्मक क्षमता र कल्पनाशीलतालाई नेपाली मोडल, सेलिब्रिटी तथा ब्युटी क्विनमार्फत् प्रदर्शन गरिरहेकी थिइन् । मिस नेपाल प्रतियोगितामा लगातार सात वर्षसम्म अफिसियल डिजाइनरका रुपमा उनले आफ्नो सृजनात्मक क्षमतालाई प्रदर्शन गरिरहिन् । नेपाली फिल्मका लागि कस्ट्युम डिजाइनरका रुपमा पनि उनको व्यस्तता देख्न पाइन्थ्यो । मिस नेपाल हुँदै मिस वल्र्ड र मिस अर्थको अन्तर्राष्ट्रिय सौन्दर्य मञ्चमा नेपाली प्रतिनिधिमार्फत् आफ्नो पहिरन सृजनाको बजार विस्तार गर्न सफल संयुक्ता टिनएज अवस्थामै घरेलु परिवेशमा सफल डिजाइनरका रुपमा स्थापित बन्न पुगेकी थिइन् । नेपालमै रहँदा बेस्ट डिजाइनर अफ द इयर १९९९, बेस्ट एट् यङ अचिभर्स अफ द कन्ट्री १९९९ लगायतका अवार्ड आफ्नो नाममा सुरक्षित बनाएकी संयुक्ताले लन्डन शहरलाई विगत लामो समयदेखि आफ्नो कर्मथलो बनाउँदै आएकी छिन् ।
लन्डनस्थित फुलहाममा वर्ष २०१३ को जुलाई २२ देखि सञ्चालन आएको डिजाइनर संयुक्ता श्रेष्ठको बेहुली बुटिक वातावरणमैत्री बुटिकका रुपमा पृथक् पहिचान बनाउन सफल छ । यसबाहेक संयुक्ता यूके वेडिङ अवार्डस् २०२० का लागि पनि द बेस्ट इनोभेनस अवार्ड विधामा मनोनयनमा परेकी छन् । यो विधामा मनोनयनमा पर्ने उनी मात्र एक ब्राइडल वेयर डिजाइनर हुन् ।
निरन्तर सफलता आर्जन गर्दै अगाडि बढेकी संयुक्ताले हालै मात्र आफ्नो सफलताको यात्रामा अर्को अध्याय जोडेकी छिन् । उनी ब्रिटेन्स एसियन वेडिङ अवार्ड २०२० मा आफ्नो बेहुली नामक बुटिकका लागि वेडिङ बुटिक अफ द इयर लन्डन अवार्ड प्राप्त गर्न सफल भएकी हुन् । पुरस्कृत भएको बेहुली बुटिक यो विधामा मनोनयमा परेका २९ बुटिकमध्ये एक मात्र वातावरणमैत्री बुटिक थियो । गत फेब्रअरी ११ तारिखमा लन्डनस्थित सेराटन ग्रान्ड पार्क लेन होटलमा ओसियानिक कन्सल्टिङद्वारा आयोजना गरिएको ब्रिटेन्स एसियन वेडिङ अवार्ड समारोहमा संयुक्ताको बेहुली बुटिकले सो अवार्ड आफ्नो पक्षमा पारेको हो ।
लन्डनस्थित फुलहाममा वर्ष २०१३ को जुलाई २२ देखि सञ्चालन आएको डिजाइनर संयुक्ता श्रेष्ठको बेहुली बुटिक वातावरणमैत्री बुटिकका रुपमा पृथक् पहिचान बनाउन सफल छ । यसबाहेक संयुक्ता यूके वेडिङ अवार्डस् २०२० का लागि पनि द बेस्ट इनोभेनस अवार्ड विधामा मनोनयनमा परेकी छन् । यो विधामा मनोनयनमा पर्ने उनी मात्र एक ब्राइडल वेयर डिजाइनर हुन् ।
ब्राइडल वेयरकै लागि संयुक्ताले २०११ मा द पर्फेक्ट वेडिङ अवार्डमा बेस्ट वेडिङ न्युकमर अवार्ड तथा जेपी सेलेक्ट्स एक्सिलेन्स अवार्ड २०११ मा ब्राइडल इनोभेसन अवार्ड प्राप्त गरेकी थिइन् । यसै गरी २०१२ मा सोर्स अवार्डअन्तर्गत ग्लोबल अवार्डस् फर सस्टेनेबल फेसनमा हाइली कमेन्डेड ब्रान्ड लिडर तथा द पर्फेक्ट वेडिङ अवार्ड २०१३ मा हाइली कमेन्डेड नेम टु वाच सम्मानबाट सम्मानित भइसकेकी छिन् । संयुक्ताले तयार पारेको पीपा गाउन लन्डनस्थित बाथ फेसन म्युजियममा संग्रहित रहेको छ । संयुक्ताद्वारा तयार गरिएको पीपा गाउन इको फ्रेन्ड्ली फेसनको ज्वलन्त नमुना हो । जसलाई ३० वर्ष पुरानो न्युजपेपर तथा नेपाली हाते बुना अर्गानिक कटन प्रयोग गरी बनाइएको हो । यसको सुन्दरतामा ३० हजार स्वरोस्की क्रिस्टलले शोभा बढाएको छ । सो म्युजियममा अलेक्जेन्डर म्याकक्विन, भीभीएन बेस्ट वुड जस्ता विश्व विख्यात डिजाइनरहरुका सृजना पनि संग्रहित रहेका छन् ।
यसअघि २०१७ को मार्च ६ तारिखमा लन्डनस्थित मारियोट होटलमा सञ्चालन भएको ब्रिटिस एसियन वेडिङ् अवार्डस् २०१७ अन्तर्गत बेस्ट वेडिङ डिजाइनर विधामा फेसन डिजाइनर संयुक्त श्रेष्ठ मनोनयनमा पर्न सफल भएकी थिइन् । वर्ष २०१७ को प्रारम्भमै संयुक्ता द यूके वेडिङ अवार्डस् २०१७ अन्तर्गतको बेस्ट ब्राइडल डिजाइनर विधामा पनि मनोनयनमा पर्न सफल भएकी थिइन् ।
लन्डनमा आफ्नो फेसन डिजाइनिङ कर्मको व्यावसायिक पाटोलाई विस्तारितरुप दिँदै आएकी फेसन डिजाइनर संयुक्ता श्रेष्ठको पहिचान र चर्चा उनको ब्राइडल वेयरका लागि रहेको छ । १७ वर्ष उमेरदेखि नै फेसन डिजाइनिङ आफ्नो पहिचान बनाउन थालेकी संयुक्ता विशेषतः उनको वातावरणमैत्री तथा सस्टेनेबल ब्राइडल एवं इभिनिङ वेयरका लागि चर्चित छिन् । उनको फेसन सृजनाले बेलायतको वेल्स, उत्तरी आयरल्यान्ड तथा गणतन्त्र आयरल्यान्डका लक्जरियस बुटिकहरुमा बजार जमाएको पाइन्छ । लन्डन कलेज अफ फेसनबाट फेसन डिजाइनिङमा पोस्ट ग्राजुएट गरेकी संयुक्ताले डिजाइन गरेका पहिरनहरु विश्वचर्चित महिला सेलिब्रेटीहरुको शारीरिक सुन्दरता बढाएको पाइन्छ, जसमा गायिका लौरा क्याथरिन राइट, फिफ्थ हामोर्नी, ब्रिटिस अभिनेत्री साने डेन वेस्टेन, यूकेका चर्चित मिडिया स्टार द म्याक ट्वीन्सदेखि भिक्टोरिया सिक्रेटकी सुपर मोडल क्यान्डिस स्वानिपोएलसम्म रहेका छन् ।