देशकै पहिलो फिल्म अवार्डका अभियन्ता तथा यस कामना फिल्म अवार्डस्का जन्मदाता पुष्करलाल श्रेष्ठ पाँचौं संस्करणको गोदरेज नम्बर वन सिजी कामना फिल्म अवार्डस् २०७६ सम्पन्न गर्ने यो महत्वपूर्ण घडीमा हामीमाझ हुनुहुन्न। यो हामी सबैका लागि सबैभन्दा ठूलो पीडादायी सत्य बनेर हामीमाझ उभिएको छ। र पनि हामी उहाँले जन्माउनुभएको यो अवार्डलाई उहाँको अनुपस्थितिमा निरन्तररुपमा अगाडि बढाउने दुस्साहस गरिरहेका छौं।
गत वर्ष मंसिर १५ गतेका दिन चौथो संस्करणको लक्स सिजी कामना फिल्म अवार्डस् २०७५ कलाकर्मी, प्रायोजक तथा विभिन्न क्षेत्रका शुभचिन्तक सारथीहरुको अपार साथ र सहयोगबाट भव्य र सफलापूर्वक सपम्न्न गरेलगत्तै महिनौंसम्म स्वास्थ्य सम्स्यासँग जुध्दा जुध्दै ६१ वर्षको उमेरमा उहाँको दुःखद स्वर्गारोहण हुन पुग्यो। कामना फिल्म अवार्डस् र यस कामना सिने मासिकको प्रकाशन संस्था कामना न्यूज पब्किसेन्स्सँगै नेपाली चलचित्र क्षेत्रका अभिभावकको असामयिक स्वर्गारोहणको चोटले हामी यस वर्षको अवार्ड समारोह आयोजना गर्नका लागि विचलित हुन पुग्यौं। शोकको यस पीडादायी घडीमा अवार्ड समारोह नै स्थगित गर्ने सोचसम्म नआएको होइन। तर फेरि अर्को पक्ष थियो उहाँले देखेका सपना, उहाँले नेपाली चलचित्र र कलाकर्मीको सम्मान तथा सामाजिक प्रतिष्ठाका लागि कोर्नुभएको अवार्डरुपी यो बाटो नै बन्द गर्दा उहाँ खुसी हुनुहोला या अझ बढी दुखीरु कलाक्षेत्रकै पूजारी र अभिभावक कलाको यो महान् उत्सव स्थगित हुँदा पक्कै पनि खुसी हुने हुनेछैन, बरु आफ्नो अनुपस्थिति तथा समग्र कलाकर्मीको उपस्थितिमा अझै भव्य समारोहका साथ अवार्ड आयोजना भएको देखेर खुसी हुनुहुनेछ भन्ने निक्र्योलका साथ हामीले यस वर्ष पनि यो अवार्डलाई निरन्तरता दिने हिम्मत जुटाएका छौं। कामना फिल्म अवार्डस् आयोजक समितिको यो निर्णयबाट आदरणीय अभिभावक पुष्करलालको आत्मा खुसी हुनेछ भन्ने हाम्रो विश्वास छ।
पुष्करलालको मान्यता थियो नेपाली कलाकार तथा प्राविधिकले पनि सामाजिक प्रतिष्ठा र मर्यादा पाउनुपर्छ। भारतीय कलाकारले पाएको सामाजिक प्रतिष्ठा देखेर लोभिई नेपाली कलाकारलाई पनि सोही किसिमको सामाजिक प्रतिष्ठा दिलाउनुपर्छ भन्ने सोचले नै उहाँले कामना सिने मासिकलाई प्रकाशनमा ल्याउनुभएको थियो। यही सोचका साथ उहाँले वर्षको एउटा चलचित्रसमेत निर्माण नहुने तथा कलाकारिता भनेकै के हो भन्ने प्रस्ट भइनसकेको समयमा यो मासिकको प्रकाशन शुरु गर्नुभएको थियो। परिणामतः कामनाले कलममार्फत सघाउँदै जाँदा यो क्षेत्र पनि विस्तारित हुँदै गयो। चलचित्रको निर्माण र प्रदर्शनले गति लिन थाल्यो भने कलाकारको मानसम्मान र सामाजिक प्रतिष्ठासमेत वृद्धि हुँदै जान थाल्यो। पुष्करलाल भने यतिमा रोकिनुभएन, नेपाली चलचित्रको सम्मान तथा नेपाली कलाकर्मीहरुको स्तर वृद्धि एवं थप सम्मानका खातिर कामना फिल्म अवार्डको थालनी गर्नुभयो।
पाँचौं संस्करणसम्म आइपुग्दा कामना फिल्म अवार्डले कलाकर्मी तथा शुभचिन्तकबाट यथेष्ट साथ र सहयोगसमेत पाउँदै आएको छ। यही साथ र सद्भावका कारण आज यसको पाँचौं संस्करणको समारोह हुँदै छ। नेपाली चलचित्र तथा कलाकारको सम्मानमा पुष्करलाल श्रेष्ठले देख्नुभएको सपनालाई साकार पार्न पनि अवार्डको यो पछिल्लो संस्करण र आगामी संस्करणमा समेत कलाकर्मी, प्रायोजक, विज्ञापनदाता तथा सम्पूर्ण शुभचिन्तकको साथ र सद्भाव उत्तिकै जरुरी छ।