पुसको चिसोमा फेसनको गर्मी



फेसन शोको चहलपहल भइरहने राजधानीबाट यस्ता शो हराउँदै गएका छन् । तर, पुसको चिसो मौसमलाई समेत चुनौती दिँदै हालै पुसको एक रात राजधानीमा भव्य फेसन शो भएको छ ।


राजधानीको बौद्धस्थित हायत रिजेन्सी होटल फेसनले झकिझकाउ भयो । एकपछि अर्काे सिक्वेन्समा मोडलहरु बिरालोको चाल मार्दै याम्पमा प्रस्तुत हुँदा दर्शक निकै रोमाञ्चित देखिए । राजधानीका उत्कृष्ट र व्यवसायी ६ दर्जन मोडलले र्याम्पको फन्को मारेको फेसन शोमा १३ विभिन्न सिक्वेन्समा तयार पारिएका फेसन पहिरन प्रदर्शन गरिएको थियो ।

लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउनका नौला तथा सुन्दर डिजाइनमा मोडलहरु क्याटवकका साथ निकै आकर्षक र हट देखिन्थे ।


आईईसी कलेज अफ फेसन एन्ड आर्ट आयोजक रहेको आईईसी डिजाइन्स रनवे सेसन ७ नामक फेसन शोको इभेन्ट म्यानेजमेन्टको जिम्मा नेक्स्ट मोडल्स् नेपालले लिएको थियो ।

करिब ३ घण्टा चलेको फेसन शोमा आईईसी कलेज अफ फेसन एन्ड आर्टमा अध्ययनरत २०१७ मा पास आउट ५१ विद्यार्थीले तयार पारेका विभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजाइन प्रदर्शन गरिएको थियो ।


पूर्वमिस नेपाल माल्भिका सुब्बाले सञ्चालन गरेको फेसन शोमा नायिकाहरु स्वस्तिमा खड्का, अशिष्मा नकर्मी, मलिना जोशीलगायत सो टपरको रूपमा रहेका थिए भने विशेष प्रस्तुतिमा विद्यार्थीले अध्ययनको क्रममा तयार पारेका आकर्षक पहिरन प्रदर्शन र प्रबन्धनको उद्देश्यले फेसन शो आयोजना गरिएको कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।

फेसन शोका लागि राजधानीमा एक भव्य अडिसन गरेर नेक्स्ट मोडल्स नेपालले मोडलहरु चयन गरेको थियो । नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवि धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मालगायत निर्णायक रहेको अडिसनमा १ सय ५० नयाँ तथा पुराना मोडल सहभागी थिए ।


मोडलहरुलाई कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकारले प्रशिक्षणसहित र्याम्पमा उतारेका थिए । विभिन्न फेसनको प्रचार एवं मोडलिङ क्षेत्रको प्रवद्र्धन र व्यवसायिकताका लागि यस्ता इभेन्ट लाभदायक भएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतिक्रिया दिनुहोस्