– विदुर गिरी
गायिका आनी छोइङ डोल्मा गीत गायनबाट जति लोकप्रिय छिन्, त्यति नै समाजसेवामा पनि सक्रिय छिन्।
विभिन्न सामाजिक समस्याबाट गुज्रिरहेकाहरुका लागि सहयोग गर्न उनले आफ्नो नाममा फाउण्डेशन नै स्थापित गरेकी छिन्। आनीले आफ्नो नाममा स्थापना गरेको सामाजिक संस्था आनी छोइङ डोल्मा फाउन्डेसनका तर्फबाट कोरोना संक्रमणको जोखिमपूर्ण यो घडीमा पनि अग्रभागमा रहेर कार्य गर्ने सञ्चारकर्मी तथा सुरक्षाकर्मीलाई कोरोनाबाट बच्न स्वास्थ्य सामग्री सहयोग गरिरहेकी छिन्। उनले शिक्षा, स्वास्थ्य, कृषि र लैंगीक समानताका विषयमा काम गरिरहेको प्रारम्भ संस्थासँग मिलेर विभिन्न सञ्चार गृह तथा सुरक्षा निकायका कार्यालमा पुगी मास्क, सेनिटाइजर, पिपीईजस्ता स्वास्थय सामग्री प्रदान गरेकी हुन्। आनीले प्रारम्भ र आफ्नो सामाजिक संस्थाका पदाधिकारीहरुका साथ सञ्चार माध्यम तथा सुरक्षा निकायका कार्यालयमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्दै आएकी छिन्।
सन् २०१२ मा फिल्ड कार्यक्रममा लागेको प्रारम्भले विद्यालय निर्माण, राहत वितरण, स्वास्थ्य चौकी भवन निर्माण, छात्रवृति वितरण जस्ता विभिन्न सामाजीक कार्यहरु गर्दै आएको छ। आनीको फाउण्डेशनले यसलाई सघाईरहेको छ। हाल विश्वभर फैलिरहेको कोरोना महामारीका कारण लकडाउनको चपेटामा परेका विपन्न परिवारलाई समेत यी दुई संस्थाले राहत वितरण गरिरहेका छन्। उपत्यकाका विभिन्न सरकारी अस्पताल र नेपाल प्रहरी अस्पतालमा पीपीइसहित विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको प्रारम्भका डाइरेक्टर बद्री तिमल्सिनाले बताए। अहिलेको परिस्थितिमा विशेष गरी पत्रकार कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विभिन्न सञ्चारमाध्यमलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको उनले बताए। कोरोना भाइरस संक्रमणको महामारीका समयमा अग्रभागमा क्रियाशील पेसाकर्मी तथा लकडाउनको प्रभावले असर परेकालाई सेवा गरिरहेको प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउन्डेसनले सेवाको हात फैलाउँदै सक्रियता बढाएको छ।
फाउन्डेसनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विशेष प्राथमिकता दिई मास्क, सेनिटाइजर, प्राथमिक उपचारका सामग्रीलगायत खाद्यान्न वितरण गर्दै आएको छ। यसबाहेक अस्पताल, सुरक्षा निकाय, सञ्चार गृह तथा प्रेसमा आबद्ध संघसंस्था, फोहोरमैला संकलन एवं सरसफाइमा दैनिक फिल्डमा खटिनेहरूका लागि सारथी बन्दै आएको छ।
सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षेत्री, बौद्धमार्गी साधिका एवं गायिका आनी छोइङ डोल्मा र सञ्चारकर्मी तथा सामाजिक अभियन्ता बद्रीराज तिमल्सिनाले सञ्चालन गरिरहेको यो परोपकारी अभियान अनवरतरूपमा अघि बढेको छ। यसमा ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता हरिवंश आचार्यलगायतले साथ दिइरहेका छन्।
अभिनेता हरिवंश आचार्यले सबैभन्दा बढी आनन्द कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग गर्नुपर्ने पीपीई सेट उपलब्ध गराउँदा भएको बताए। ‘अहिले म घरै बसेर कोरोनासम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्ने काम गरिरहेको छु। केही परोपकारी संस्थाले गरेका काममा मैले पूर्णरूपमा साथ दिँदै आएको छु। यसबीचमा प्रारम्भ संस्था र आनी छोइङ डोल्मा फाउन्डेसनले पीपीई तथा मास्क र फस्र्ट एड किट्स वितरण गरिरहेकाले हातमा हात मिलाउन केही ठाउँमा पुगेँ। नेपाली सेनामार्फत नेपालगन्ज, वीरगन्जमा पीपीई पठाउन पाउँदा एकदम खुसी लागेको छ। उदयपुरमा प्लास्टिकको खोल ओढेर बिरामी जाँचिरहेको बखतमा तत्कालै ४० थान पीपीई त्रियुगा नगरपालिकामा पठाउँदा निकै खुसी र आनन्द लाग्यो। सबैले आफूले सकेको सहयोग गरिरहनुभएको छ। खाद्यान्न, प्राथमिक स्वास्थ्य सामग्रीसँगै यस्तो बेला पीपीई दिन पाउँदा सबैभन्दा ज्यादा आनन्दित छु’ हरिवंश भन्छन्।
गायिका तथा आनी छोइङ डोल्मा फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्माले सरकारलाई सकेको सहयोग गरेको बताइन्। ‘यस्तो बेला सकेसम्म नकारात्मक कुरा कम गर्ने, सरकारलाई मद्दत गर्ने, सकेको सहयोग गर्ने नै उपयुक्त समय हो। विपतको बेला अग्रभागमा क्रियाशील पेसाकर्मीलाई जोगाउने हो। चिकित्सक, सेना तथा प्रहरी, पत्रकारहरूको भूमिका असाध्यै प्रशंसनीय छ। यति बेला उहाँहरूलाई सुरक्षित राख्न सके समाज नै सुरक्षित रहन सक्छ। सकेसम्म घरमै सुरक्षित बसौं सहयोग गर्नेले पनि सुरक्षाको सबै विधि अपनाएर गरौं’ आनी भन्छिन् ‘म आफू बौद्धमार्गी भएकाले नेपालमा लकडाउन भएपछि पनि साधनामा व्यस्त थिएँ। शिवपुरी क्षेत्रमा रहेको नागी गुम्बामा बुद्धग्रन्थ अध्ययन र ध्यानमा रहेका बेला प्रारम्भका कल्पना क्षेत्री र बद्रीराज तिमल्सिनाले असाध्यै असल काम गरिरहेको थाहा पाएँ। हाम्रा अभिभावक हरिवंश आचार्य दाइसमेत सहभागी यस अभियानमा हातेमालो गर्ने निर्णय गरें। व्यक्तिगत स्रोत र साधनको व्यवस्था गरी हामीले संस्थागतरूपमा तीन दर्जनको हाराहारीमा स्वास्थ्य संस्था, स्थानीय निकाय र सञ्चार प्रतिष्ठानलाई मनैदेखि सेवा गर्यौ। नेपाली सेना, नेपाल प्रहरीसमेतको सहकार्यमा हामी कोरोना रोकथाम तथा नियन्त्रणमा एक सारथीका रूपमा सक्रिय छौं। संक्रमण परीक्षण र यसको व्यवस्थापनमा सरकारले गरिरहेका कार्यलाई समेत सहयोग गर्नु आम नेपालीको कर्तव्य हो र गैरसरकारी संस्थाको धर्म हो।’।