
टम एन्ड जेरी, पोपआईजस्ता विश्वभर लोकप्रिय कार्टुन सिरिजका निर्देशक तथा एनिमेटर जिन डिचको निधन भएको छ। ९५ वर्षीय डिचको प्रागस्थित आफ्नै निवासमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी बुढ्यौलीसँगै विभिन्न रोगबाट पीडित रहँदै आएका थिए। टम एन्ड जेरीले सधैं दृढताको रामाञ्चक कथा पस्कने गर्दथ्यो। यो रमाइलो कार्टुन सिरिजमा टमले जेरीलाई समात्ने रहर कहिल्यै छोड्दैन भने जेरी देखिए भन्दा चलाख, साहसी र बलियो छ।
ऊ कहिल्यै टमको फन्दामा पर्दैन। लेखक, निर्माता र निर्देशक डिचको कार्टुन बालकदेखि वृद्धसम्मले मन पराउने गर्दथे। कुशल एनिमेटरसमेत रहेका डिचले सन् १९६० मा एनिमेटेट लघुफिल्म मुनरोबाट ओस्कार एकेडेमी अवार्ड चुमेका थिए। उनी त्यसबाहेक पनि दुुईपटक ओस्कार एकेडेमी अवार्डमा मनोनित भएका थिए। डिचले टोम टैरिफिक सिरिज र सिडनिज फ्यामिली ट्रिबाट पनि मन जितेका थिए।