
बलिउड फिल्म नगरीले एक दिनकै अन्तरमा दुई हस्तीलाई गुमाउनुपरेको छ। बलिउड अभिनेता इरफान खानको निधन भएको भोलिपल्ट बलिउडका अर्का ख्यातिप्राप्त अभिनेता ऋषि कपुरको निधन भएको छ। अभिनेता कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो। स्वास्थ्य बिग्रिएपछि मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना गरिएको उनको उपचारकै क्रममा निधन भएको थियो। उनका अभिनेता दाइ रणधीरले क्यान्सरसँग जुधिरहेका ऋषिलाई श्वास फेर्न कठिन भएकाले अस्पताल भर्ना गरिएको बताएका थिए। इरफान र ऋषि दुवै क्यान्सरका बिरामी थिए। उनीहरूको निधन पनि लगभग सँगै भएको छ। यी दुई अभिनेताको २४ घन्टाको अन्तरमा निधन भएको छ।
ऋषि कपुर दिग्गज अभिनेता तथा फिल्म निर्देशक राज कपुरका छोरा हुन्। उनका दुई दाजुभाइ रणधीर कपुर र राजीव कपुर छन्। उनको ऋतु नन्दा र रिमा जैन गरी दुई बहिनी छन्। ऋषि कपुरले १९७३ मा बाबी नामक फिल्मबाट अभिनय करियर शुरू गरेका थिए। उनी श्री ४२० र मेरा नाम जोकरमा बालकलाकारका रूपमा पनि देखिएका थिए। ऋषिले इमरान हासमीका साथ द बडी नामक फिल्ममा अन्तिमपटक काम गरेका थिए। उनले केही अघिमात्र आफ्नो अर्को फिल्म बलिउड नायिका दीपिका पादुकोणका साथ हुने घोषणा गरेका थिए। उनले सो फिल्म हलिउड फिल्म द इन्टर्नको हिन्दी रिमेक हुने जनाएका थिए। फिल्मी पारिवारिक पृष्ठभूमि जन्मेका ऋषि ४ सेप्टेम्बर १९५२ मा भारतको सिनेनगरी मुम्बईमै जन्मिएका थिए। उनका हजुरबुबा पृथ्वीराज कपुरसमेत अभिनेता थिए। ऋषिको जीवन संगिनी नितु कपुर पनि अभिनेत्री हुन्।
लैला मज्नु, रफू चक्कर, सरगम, कर्ज, प्रेम रोग, नागिन, हनिमुन, चाँदनी, हिना, बोल राधे बोल, ए वादा रहा जस्ता दर्जनौं यादगार र मन छुने फिल्म दिएका ऋषि कपुरको निधनको दुःखद खबर पाएपछि बलिउडका कलाकर्मीदेखि राजनीतिज्ञसम्मले श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपालका कलाकर्मीहरूले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। कपुरलाई सन् २०१८ मा बोन म्यारो क्यान्सर भएको पत्ता लागेको थियो।