नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिमका कारण देशभर लगाइएको लकडाउन जारी छ। यतिखेर नेपालमा मात्र होइन, विश्वका अधिकांश देशमा कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि लकडाउन लगाइएको छ।
गत चैतको दोस्रो साता विदेशबाट आएकी महिलामा कोरोना संक्रमण देखिएपछि चैत ११ गतेदेखि जारी लकडाउन पटकपटक गरी थपिँदै गएको छ। कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै देशभर आममानिसमा भयले बास गर्न पुगेको छ। यसबीचमा कोरोना संक्रमण परीक्षणका लागि सरकारले आवश्यक कदमहरु अगाडि बढाएको छ, जसका कारण संक्रमितको संख्या पनि थपिँदै गएको देखिन्छ। कोरोना संक्रमण जोखिम र यसका कारण लगाइएको लकडाउनबाट अन्य क्षेत्र र व्यवसायसँगै नेपाली कला तथा चलचित्र क्षेत्र पनि ठप्प हुन पुगेको छ। अन्य क्षेत्रजस्तै नेपाली कला तथा चलचित्र क्षेत्र पनि लकडाउनको प्रभावले नराम्ररी थला परेको छ। यसका बाबजुद कतिपय कलाकर्मी र फिल्मकर्मीले कोरोना संक्रमण र यसकारण लगाइएको लकडाउनबाट प्रभावित हुन पुगेका मानिसलाई सहयोग गरिरहेका छन्।
कलाकर्मीहरूमध्ये कतिपयले खाना खुवाउने व्यवस्था मिलाएका छन् भने कतिपयले राहत प्रदान गर्दै आएका छन्। तर यो पर्याप्त हुन सकेको छैन। कोरोना संक्रमणको यो समयमा सबै मानिस आत्तिएका छन् र कलाकर्मी र फिल्मकर्मीहरु पनि बेरोजगार हुन पुगेका कारण हतास मनस्थितिमा पुगेका छन्। कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि लकडाउनलाई थप कडाइका साथ लागू गरिएको छ।
कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण नेपाली चलचित्र, कला, संगीत क्षेत्र सबैतिर उत्तिकै असर परिरहेको छ। यो बेलामा कलाकर्मीहरुले राहतसँगै कोरोनाबाट कसरी सुरक्षित हुने र लकडाउनको यो कठिन र पट्यारलाग्दो समय कसरी बिताउने भन्ने सन्देश पनि दर्शकमाझ पुर्याएर सामाजिक दायित्व पूरा गर्ने प्रयास गरिरहेका छन्।
कोरोना र जारी लकडाउनका कारण कलाकर्मीहरु सिर्जनाबाट पर रहन बाध्य भइरहेका छन्। तर कतिपयले भने यही समयलाई आगामी दिनको कार्ययोजना बुन्ने समयका रूपमा समेत उपयोग गरिरहेका छन्। विश्वभर कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। विश्वकै प्रायः सबै देशमा अहिले कोरोनाले सताइरहेको छ। दिन प्रतिदिन संक्रमणका बिरामीहरु थपिइरहेका छन्। यो सबैलाई अत्याउने विषय बन्न पुगेको छ। विश्व जगत्सँगै नेपालीलाई पनि यसले ठूलो प्रभाव पारिरहेको छ। सबै प्रकारका उद्योगधन्दामा यसको प्रभाव अत्यन्तै देखिएको छ। प्राथमिकताका आधारमा सबैभन्दा पछाडि पर्ने मनोरञ्जन र सिर्जनाको यो क्षेत्र पनि यसबाट अत्यन्त प्रभावित भएको छ।
फिल्मका सुटिङ र प्रदर्शनका लागि उर्वर मानिने यस समयमा सबैजना घरमा बस्न बाध्य भएका छन्। यसका बाबजुद कतिपय कलाकर्मी घरमै बसेर पनि छोटै सही, तर चलचित्र र अन्य सिर्जनाहरू दर्शक स्रोतासामु पस्किँदै आएका छन्। केही गीतसंगीत पनि सिर्जना भई बजारमा आइरहेका छन्। अहिलेलाई यो नै पनि ठूलो उपलब्धि सावित हुन पुगेको छ र दर्शक तथा स्रोताको मन भुलाउने साथी बन्न पुगेको छ। कोरोना संक्रमण कहिलेसम्म रहन्छ, यसबाट विश्व जगत्ले कहिले मुक्ति पाउँछ यो कसैले पनि भन्न सक्ने विषय बन्न सकेको छैन। विश्वभरका एकसे एक वैज्ञानिक र विज्ञहरु पनि यो अनुत्तरित प्रश्नबाट आकुल व्याकुल भइरहेका छन्।
तसर्थ सबै विधाका कलाकर्मीले आगामी दिनमा आफूलाई कसरी प्रस्तुत गर्ने आफ्नो सिर्जनालाई कसरी अभिवृद्धि गर्दै जाने भन्नेजस्ता विषयमा समय लगाउनु सम्बन्धित सबैका लागि उपलब्धिपूर्ण विषय हुनसक्छ। कोरोना संक्रमण र यसका कारण लगाइएको लकडाउनबाट अहिले सबै प्रकारका कामहरु ठप्प भएका छन्। कोरोना संक्रमणबाट कसरी बस्ने, कसरी सावधानी अपनाउनेजस्तो विषयमा सन्देश दिँदै रुचिकर सामग्री घरमै बसेर तयार पारी यससम्बन्धी ज्ञानमा मनोरञ्जन मिसाएर पस्किनु कलाकर्मीहरुको अहिलेको दायित्व हुन आउँछ। केही कलाकर्मीले यस प्रकारको दायित्व पूरा पनि गर्दै आएका छन्। यसलाई अझ व्यापकरुपमा अगाडि बढाई आफ्ना भर्चुअल सिर्जनामार्फत कोरोनाबाट बच्ने तथा लकडाउनको यो कठिन घडीलाई सामन्यीकरण गर्नु उपयुक्त हुन्छ। रातपछि दिन आएजस्तै कोरोनापछिको जीवनलाई अगाडि बढाउन तथा यो क्षेत्रलाई अझै परिष्कृतरुपमा अगाडि बढाउनका लागि अहिलेदेखि नै योजनाहरु बनाउँदै जानु बुद्धिमानी हुनेछ। कोरोनाबाट बचौं र बचाऔं।