
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित राष्ट्रिय भावनाले प्रेरित गीत समृद्ध नेपाल सुखी नेपाली सार्वजनिक गरिएको छ। भक्तपुरको नयाँ ठिमीस्थित कमेरुटारमा अनाथ बालबालिका तथा मजदुरका लागि दिवा खानासहित आयोजना गरिएको कार्यक्रमका बीच सडक मजदुर मुक्ता कार्की र सानुकाजी तामाङले एल्बम विमोचन गरेका हुन्।
प्रमुख अतिथिका रूपमा निम्त्याइएका मुक्ता र सानुकाजीले यस्तो अवसर जीवनमा कहिले नपाएको बताए। कार्यक्रममा गायक बद्री पंगेनी, गायिका मेलिना राई, संगीतकार शान्तिराम राईले देश र जनताप्रति समर्पित गीत गाउन पाएकोमा खुसी व्यक्त गरे। अनामनगरस्थित एक्सन स्टुडियोमा रेकर्ड गरिएका ५ गीतमध्ये प्रधानमन्त्री ओलीद्वारा रचित स्वदेशमै रोजगारी स्वदेशमै बास बोलको गीतमा मेलिना राई र शान्तिराम राईले स्वर दिएका छन्। एल्बममा राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलका हेर हाम्रो हिमाल हाँसेको र मुर्झिएका सपनाहरू गरी दुई र विपिन किरणका सबै मिले देश विकासमा र कालसँग लडौं बोलका दुई गीत रहेका छन्।
शान्तिराम राईको एकल संगीत रहेको एल्बममा राजेशपायल राई, बद्री पंगेनी, मेलिना राई, पार्वती राई, कला राईलगायतले स्वर दिएका छन्। ‘सरकारले गरेका राम्रा काम र उपलब्धिको उजागर, राष्ट्रियता र जनजीविकासँग सम्बन्धित गीत समेटेर एल्बम तयार पारिएका छौं।’ –सहसंयोजक पौडेलले दाबी गरे। पौडेलकै संयोजनमा तयार पारिएको एल्बम किरण क्रिएसनले स्रोता दर्शकमाझ ल्याएको हो।