हलिउड फिल्म उद्योगमा बारम्बार यौन उत्पीडनको प्रसंग उठिरहने गरेको छ । यसै वर्षको अक्टोबरमा पनि फिल्म निर्माता हार्भी वेइन्स्ेटइनलाई थुप्रै अभिनेत्रीले वलात्कारको आरोप लगाए । वेइन्स्टेइन्डको उक्त काण्डजस्तै प्रसंग बलिउडमा भने निस्केको थिएन । तर, चर्चित अभिनेतृ प्रियंका चोपडाकी आमा डा. मधु चोपडाले भने हालै नाम उल्लेख नगरी बलिउडकै पनि केही व्यक्तित्वलाई यस्तो काण्डमा मुछेकी छिन् । हैदरावादमा आयोजित २०औं इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभलमा सहभागी हुने क्रममा उनले बलिउडमा करियर शुरु गर्दा आफ्नी पुत्रीले अप्रिय घटनाहरु झेल्नुपरेको खुलाएकी छिन् । डकन क्रोनिकलसँग कुरा गर्दै उनले जीवनमा अघि बढ्न सम्झौता गर्नुपर्ने बताएकी छिन् । उनले प्रियंकाले यौनसम्बन्धी दुई घटना भोग्नुपरेको र १७ वर्षको उमेरमा फिल्म दुनियाँमा प्रवेश गरेकी प्रियंकालाई आफूले डोर्याउँदै हिँडेको समेत स्मरण गरेकी छिन् । डा. मधुले भड्किला लुगा लगाउन अस्वीकार गरेको कारणले मात्रै प्रियंकाले १० वटा फिल्म गुमाएको रहस्य खोलेकी छिन् ।