सुरक्षित भविष्यका लागि विकल्प



नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण देशभर लकडाउन लगाइएको तीन महिनाभन्दा बढी भइसकेको छ। यसबीच विश्वभरका लाखौं मानिस कोरोना संक्रमणबाट ग्रसित भएका छन्। कोरोना संक्रमितको संख्या नेपालमा पनि दिन प्रतिदिन वृद्धि भइरहेको छ। दशौं हजार नेपाली कोरोनाबाट संक्रमित भइसकेका छन्।

कोराना संक्रमितको पहिचान गर्न परीक्षण बढाएसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि देखिइरहेको छ। प्रस्ट छ, कोरोना संक्रमण भुसको आगो सल्किएजसरी फैलिँदो छ। परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि थप वृद्धि हुनेछ, भइरहेको पनि छ। दुःखद पक्ष नेपालमा पनि कोरोना संक्रमणबाट संक्रमितहरुको मृत्य भइरहेको छ। सँगसँगै सुखद पक्ष मान्नुपर्छ कि संक्रमणबाट मुक्ति पाउने संख्या पनि धेरै छ। अन्य देशको तुलनामा नेपालमा संक्रमणबाट मानव क्षति कम भएको छ र अन्य राष्ट्रको तुलनामा नेपालीमा भएको संक्रमण कमजोर देखिएको छ। कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण आप्mनो कर्म गर्न नपाएपछि धेरै मानिसलाई दैनिक गुजारा चलाउसमेत मुश्किल परिरहेको छ। आम मानिससँगै कलाक्षेत्रमा सक्रिय कलाकर्मी तथा फिल्मकर्मी पनि यसबाट प्रभावित छन्। यस्तो सकस र असहज परिस्थितिमा पनि नेपालका राजनीतिज्ञहरु पनि कुर्सीको खेलमा रमाइरहेको तथा एक आपसमा लुछाचुँडी गरिरहेकोमा नेपालमा सर्वत्र निराशा छाएको छ।

कोराना संक्रमणको जोखिमबाट बच्नका लागि लगाइएको लकडाउनका कारण कलाकर्मी तथा प्राविधिकहरु समस्यामा परेपछि चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधाका संघसंस्थाले राहतका लागि सरोकारवाला सरकारी निकाय चलचित्र विकास बोर्डलाई गुहारेका छन्। यही बीचमा फिल्म लेखक, गीतकार तथा निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन्। अभिनेता, निर्माता तथा बोर्ड अध्यक्ष केशव भट्टराईको आकस्मिक निधनपछि लामो समयदेखि नेतृत्वविहीन बन्न पुगेको बोर्डमा दाहालको नियुक्तिसँगै कलाकर्मी, प्राविधिक तथा फिल्म व्यवासायीहरुले बोर्डमार्पmत राहतको अपेक्षा गरेका छन्। तिनै अपेक्षालाई लिएर संघसंस्थाले बोर्ड गुहारेका हुन्। कोरोना संक्रमण र यसका कारण लगाइएको लकडाउनबाट जीवन चलाउन धौधौ परेका कलाकर्मी र प्राविधिकहरुले बोर्डमार्फत सरकारबाट राहत पाउने अपेक्षा तत्कालका लागि निराशाको विषय बन्न पुगेको छ।

चलचित्रसँग सम्बन्धित संघसंस्थाले चलचित्र विकास बोर्डसमक्ष राखेका मागहरुको सम्बोधन गराउन सरोकारवाला सरकारी निकाय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेका बोर्ड पदाधिकारीलाई कलाकर्मीहरुको अपेक्षा विपरीत मन्त्रालयले यसअघि सामान्य अवस्थामा कलाकर्मीहरुले सरकारलाई तिरेको हिसाब किताब बुझाउन निर्देशन दिएको छ। यसअघि कलाकर्मी तथा चलचित्र व्यवसायीहरुको पहल तथा निजी खर्चमा केही कलाकर्मी तथा प्राविधिकका लागि राहत प्रदान गरिँदै आएको छ। तर लामो समयदेखि कलासम्बन्धी कुनै पनि गतिविधि हुन नसकेका कारण यो राहत पनि अपर्याप्त हुन पुगेको छ। यो अवस्थामा हुने कलाकर्मीले नहुनेलाई सघाउने प्रयास गर्दै आएका छन्। नेपाली चलचित्र क्षेत्रमा देखिएको यो भाइचाराको भावना प्रशंसनीय छ।

सरकारले जारी लडाउनलाई खुकुलो बनाएको छ। लकडाउन खुकुलो भएसँगै जनजीवन केही सामान्य हुन थालेको छ। सावधानी अपनाउनुपर्ने चुनौतीचाहिँ उत्तिकै छ। यस अवस्थामा अन्य क्षेत्र जस्तै चलचित्र र कलाक्षेत्र पनि धर्मराउनु स्वाभाविक हो। अझै कति समय यो स्थिति रहन्छ निश्चित छैन। सम्बन्धित विज्ञहरुले नेपालमा कोरोनाको असर असार र साउन महिनामा अझै बढ्ने पूर्वानुमान गरेअनुसार नै संक्रमणमा पनि वृद्धि भइरहेको छ।

यस अवस्थामा सक्नेले नसक्नेहरुप्रति सहयोग र सद्भावको हात बढाउँदै आप्mनो क्षेत्रका परिवारलाई आश्वस्त तुल्याउनु आजको आवश्यकता हुन पुगेको छ। यही अवस्थामा सिनेमा हलहरु खुलेर अथवा मनोरञ्जन प्रदान गरिने रंगमञ्चहरु खुलेर लकडाउनअगाडिको समयमा जस्तै अन्य गतिविधि गर्न सम्भव नभए पनि हाललाई डिजिटल माध्यम र अन्य विकल्प रोज्नुसिवाय अरु उपाय हुन सक्दैन। डिजिटल र यस्तै प्रकारका अन्य माध्यमलाई विकल्पका रुपमा अगाडि सार्दै यो क्षेत्रलाई चलायमान बनाउन सके हालको समयलाई त केही राहत पुग्ने नै छ, सँगसँगै सुरक्षित र सुनिश्चित भविष्यका लागि पनि सहायकसिद्ध हुनेछ।

कोरोनाबाट बच्न सावधानी अपनाऔं, आफू पनि बचौं अरुलाई पनि बचाऔं।

प्रतिक्रिया दिनुहोस्