कोरोना संक्रमणबाट हुने कोभिड १९ का कारण फिल्म क्षेत्रकै विश्व प्रतिष्ठीत अस्कर अवार्ड दुई महिना पछिका लागि सरेको छ।
यसअघि फेबु्रअरी महिनामा हुँदै आएको अवार्ड दुई महिना पछि सरेर अप्रिलमा पुगेको छ। अस्करको ९३ औं संस्करण आगामी २०२१ अप्रिल २५ का लागि तय भएको छ। तर, विश्वभर चलिरहेको कोरोना महामारीका कारण अस्करले अवार्ड आयोजनाको मितिसँगै केही नियममा पनि परिवर्तन गरेको जनाएको छ।
नेपालको अस्कर कमिटीका सदस्य सामीप्यराज तिमल्सेनाका अनुसार नेपाललाई पठाइएको सूचनामा यो वर्ष फिल्म पठाउने समय सीमा दुई महिना पर धकेलिएको छ। अघिल्ला वर्षमा अक्टोबर अन्तिममा सम्ममा फिल्म पठाइसक्नु पर्ने प्रावधान रहेकोमा यस वर्ष डिसेम्बर ३१ सम्ममा अस्करका लागि फिल्म पठाइसक्नु पर्ने प्रावधान राखिएको छ। महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड लचिलो भएको छ।
अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म हलमा रिलिज भई हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो। तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन्। यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ। त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन्। नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनौट गर्ने कार्यकारी समिति रहेको छ। जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाईंं र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन्।