जीवनको अधिकांश समय फिल्म र डकुमेन्ट्रीमा बिताएका छायाकार जावेद शाहको निधन भने गुमनाम बन्न पुगेको छ।
पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहँदै आएका जावेदको गत असोज ७ गते बुधबार निवासमा निधन भए पनि त्यसको खबर केही दिनपछि मात्र बाहिर आएको थियो। रसिया पुगेर छायांकनको अध्ययन गरे पनि स्वदेशमै फर्केर उक्त विधामार्पmत नेपाली फिल्म क्षेत्रलाई अतुलनीय योगदान पु¥याएका शाहकोे आकस्मिक हृदयघातका कारण ठमेलस्थित निवासमै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ। उनको ७० वर्षको उमेरमा निधन भएको हो। परिवारका अनुसार हृदयघात हुनुअगाडि जावेदको स्वास्थ्य अवस्था सामान्य थियो। उनमा कुनै प्रकारको स्वास्थ्य समस्या थिएन। अचानक हृदयघात भएपछि उनको निवासमै निधन हुन पुगेको थियो।
उनी लामो समयदेखि फिल्म क्षेत्रबाट सम्पर्कविहीन भई पारिवारिक जीवनमा सीमित हुँदै आएका थिए।
उनले रसियाको मस्कोस्थित स्कुल अफ सिनेमाटोग्राफीमा अध्ययन गरेका थिए। निर्देशक स्व. दीपक रायमाझीका साथ सो स्कुल पढेर फर्केपछि जावेदले तत्कालीन शाही नेपाली चलचित्र संस्थानमा जागिर खाएका थिए। संस्थानमा जागिर खाने क्रममा उनले लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माको निर्देशनमा बनेको फिल्म बदलिँदो आकाशको छायांकन गरेका थिए। बदलिँदो आकाश नै उनीद्वारा निर्देशित पहिलो फिल्म थियो। २०३९ सालमा सुटिङ भएको सो फिल्म शुरुमा श्याममोहन श्रेष्ठले खिचेका थिए। तर श्याममोहन राजाको भ्रमणमा दिल्ली जानुपरेपछि निर्देशक शर्माले बदलिँदो आकाशको छायांकनको जिम्मा जावेदलाई दिएका थिए। दीपक ढकाल सो फिल्ममा सहायक छायाकार थिए। २०४० साल वैशाख महिनामा रिलिजमा आएको फिल्म लिएर निर्देशक शर्मा रुसमा सम्पन्न आठौं अन्तिर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भएका थिए।
बदलिँदो आकाशपछि जावेदले युगदेखि युगसम्म, भाग्यरेखा, चोखो माया, विजय पराजय, कसम, ज्वाला, नातेदार, प्रतिज्ञा, सीमाना, अवतार, रानी खोला, जमिन, प्रतीक्षा, मनको टुक्रालगायत दर्जनौं फिल्मको छायांकन गरेर ती फिल्मलाई धनी बनाएका थिए। उनले केही वृत्तचित्र र छोटा फिल्म पनि खिचेका थिए। अभिनेता राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्म खिचेका जावेदले हमालका अधिकांश शुरुवाती फिल्म पनि खिचेका थिए। निर्देशक दीपक रायमाझीका धेरैजसो फिल्म पनि उनैले खिचेका थिए। ७० वर्षीय शाहका श्रीमती र २ छोरा छन्।