नेपाली मन र भावना बोकेर भारतको सिक्कीम गान्तोकमा बस्दै आएकी छुकिला शेर्पा अब नेपाललाई आप्mनो कार्यथलो बनाउने सोचले हिजोआज काठमाडौंमा छिन् ।
सिक्कीममा कुशल मोडलका रुपमा चिनिने छुकिला अब भने नेपाली रजतपटमा छाउने तयारीमा छिन् । यसकै लागि उनी काठमाडौं पसेकी हुन् । कविरा, आइज उफ्रि उफ्रिजस्ता विभिन्न गायक गायिकाका केही गीतको म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरेर वाहवाही पाएपछि र साथीभाई तथा परिवारले नेपालमा गएर नेपाली मोडलिङ अनि फिल्म क्षेत्रमा करियर बनाउ भनेर सल्लाह दिएपछि उनी काठमाडौं आएकी हुन् । नेपाली कला फिल्म क्षेत्र भनेपछि सानैबाट हुरुक्कै हुँदै आएकी छुकिला अहिले यो क्षेत्रमा करियर बनाउने सही समय हो भन्ने लागेपछि त्यसका लागि काठमडौंं आएको बताउँछिन् । ‘खासमा म पहिले नै कलाक्षेत्रमा केही गर्न चाहन्थे । साथीभाई र आफन्तले पनि तिमी गर्न सक्छौ भनेर प्रेरित गरिरहनु हुन्थ्यो । तर काठमाडौं आएर कला र फिल्म क्षेत्रमा काम गर्ने वातावरण बनिरहेको थिएन । सायद समय भएको थिएन । अबचाहिँ त्यो समय आएजस्तो लाग्छ’ छुकिला भन्छिन् ‘अहिले केही म्युजिक भिडियो र एक दुईवटा फिल्मको कुरा भईरहेकाले यो नै सही समय हुन सक्छ करियरका लागि भनेर काठमाडौं आएकी छु । तर बिडम्बना कोभिडको जोखिमका कारण भनेजस्तो सबै कुरा हुन सकिरहेको छैन । कोभिड बाधा बनेर नउभिदिएको भए अहिले म केही फिल्ममा काम गरिरहेको हुन्थें । फिल्मको काम हुन नसके पनि म्युजिक भिडियोको काम भने भईरहेको छ । सपना सत्यमा परिणत हुँदैछ ।’
आफुले काम गरिरहेका म्युजिक भिडियोमा आफ्नोकला मन पराए काठमाडौंमै बसेर करियरलाई अगाडि बढाउने सोच रहेको उनले बताइन् । छुकिला भन्छिन् ‘नेपाली फिल्ममा काम गरेर नेपाली र सिक्कीमेलीबीचको मायालाई बढाउन चाहन्छु । नेपाली र सिक्कीमेलीबीचको पुल बन्न चाहन्छु ।’ छुकिलाले सिक्कीममा प्रतिभा भएका नेपाली पनि अवसर र मञ्चको अभावमा आप्mना प्रतिभा छुपाएर बस्न बाध्य छन् । ‘सिक्कीममा फिल्म इण्डष्ट्रि र प्लेटफर्मको अभाव छ । त्यसैले हजारौं प्रतिभा लुकेर बस्न बाध्य छन् । मैले नेपाली कला र फिल्म क्षेत्रमा सोचेजस्तो मौका पाएँ र त्यसमा सफल हुन सकें भने अन्य थुप्रै प्रतिभा पनि यो क्षेत्रमा आउनेछन् भन्ने ममलाई पूर्ण विश्वास छ । यहाँ सफलताा पाएँ भने सिक्कीममा पनि प्लेटफर्म बनाउने प्रयत्न गर्नेछु’ छुकिलाको योजना छ ।