कोरोना बलियो रहेछ हरिवंश आचार्य



– विदुर गिरी

 

आफूलाई कोरोना भएपछि लुकाउनु हुँदैन र आफूसँग भेटेकालाई थाहा दिनुपर्छ । त्यसैले मैले पनि मलाई संक्रमण भएको कुरा फेसबुकमा हालें । किनभने म कामको सिलसिलामा २/४ ठाउँमा गएको थिएँ । यो कोरोना कडा र माइल्ड दुई प्रकारको हुन्छ रे । कसै–कसैलाई भेन्टिलेटरमै राख्नुपर्ने पनि हुन्छ । हामीलाई भएको कोरोनाचाहिँ माइल्ड कोरोना थियोजस्तो लाग्छ । सबैलाई यत्तिकै हुन्छ भन्ने छैन ।

 

 

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भई २ साताभन्दा बढी होम आइसोलेसनमा बसेर कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणबाट हुने कोभिड–१९ का लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आए पनि आफ्नो घरभित्रसम्म कसरी कोरोनाले प्रवेश गर्‍यो भन्नेबारे हरिवंश दम्पती जानकार छैनन् ।

‘हामी एकदमै परहेजमा बसिरहेका थियौं । सकेसम्म भीडभाडमा नजाने, जानै परे मास्क र सेनिटाइजर प्रयोग गर्ने गरिरहेका थियौं । बची–बची अलि–अलि आफ्नो काम पनि गरिरहेको थिएँ । यसो गर्दागर्दै पनि १०/१२ दिनअघि श्रीमतीलाई एकदम जिउ दुख्यो । बीचमा ज्वरो पनि आयो । ज्वरो धेरै थिएन, त्यही ९९/१०० डिग्री थियो । हामीलाई यो भाइरल हो भन्ने थियो । भाइरल ज्वरोको औषधी गरे दुईचार दिनमा ठीक हुन्छ, नगरे एक हप्ता लाग्छ भन्ने थियो’, हरिवंशले कामनासँग कुरा गर्दै भने– ‘म सावधानी अपनाएर काममा हिँडिरहेको थिएँ । बीचमा मलाई पनि अलि–अलि ज्वरो आयो । त्यही बेला श्रीमतीले गन्ध र स्वाद हराएको सुनाइन् । त्यसपछि हामी दुवै जनाले कमलपोखरीको निजी ल्याबबाट स्वाब टेस्ट गरायौं । रिपोर्ट पोजेटिभ आयो । गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षा अपनाउँदा पनि कसरी संक्रमण भयो, कहाँबाट भयो ठम्याउन सकिएन । ठम्याउन सम्भव पनि छैन ।’

राजधानीको प्रदर्शनीमार्गस्थित मोडल अस्पतालका सञ्चालक र तिलगंगा आँखा अस्पतालका बोर्ड मेम्बरसमेत रहेका हरिवंशलाई डाक्टर साथीभाइले कोरोनो संक्रमण भएपछि अक्सिजन लेभल घट्न सक्ने र यसले समस्या पर्न सक्नेप्रति सचेत तुल्याएपछि डाक्टर साथीभाइकै सल्लाहमा उनले नङमा लगाएर अक्सिजनको लेभल र पल्स नाप्ने मेसिन किनेर घरमै राखे र समय–समयमा आप्mनो र पत्नीको अक्सिजन लेभल तथा पल्स जाँच गरिरहे । ‘अक्सिजन र पल्स हाम्रो जिउलाई पुग्ने देखाइरह्यो ।’ –हरिवंशले सुनाए ।

‘कोरोना संक्रमण हुँदा मलाई ५० प्रतिशत स्वाद थाहा भएको थिएन, गन्ध पनि थियो । श्रीमतीको चाहिँ स्वाद फर्कनचाहिँ समय लाग्यो’, हरिवंशले आप्mनो अनुभव सेयर गर्दै भने– ‘आफूलाई कोरोना भएपछि लुकाउनुहुँदैन र आफूसँग भेटेकालाई थाहा दिनुपर्छ । त्यसैले मैले पनि मलाई संक्रमण भएको कुरा फेसबुकमा हालें किनभने म कामको सिलसिलामा २÷४ ठाउँमा गएको थिएँ । यो कोरोना कडा र माइल्ड दुई प्रकारको हुन्छ रे । कसै–कसैलाई भेन्टिलेटरमै राख्नुपर्ने पनि हुन्छ । हामीलाई भएको कोरोनाचाहिँ माइल्ड कोरोना थियोजस्तो लाग्छ । सबैलाई यत्तिकै हुन्छ भन्ने छैन । त्यसैले सबै जना परहेजमा चाहिँ बस्नैपर्छ । कोरोनालाई केही होइन भनेर नेकलेट गर्न मिल्दैन ।’

हरिवंश दम्पतीले कोरोना संक्रमण भएपछि निकै सतर्कता अपनाए । ‘हामी बीचको तलामा बस्यौं । छोराबुहारी माथिको कोठामा बसे । उनीहरूले खाने कुरा बनाएर ल्याइदिथे र खन्याइदिन्थे । खाना खाइसेकपछि भाँडा हामीले नै सफा गर्‍यौं । समय–समयमा कोठामा डिस–इन्फेक्सन स्प्रे छर्कियौं । हामीलाई कोरोना संक्रमण भएपछि छोराबुहारीले पीसीआर टेस्ट गरे । उनीहरुको रिपोर्टचाहिँ नेगेटिभ आयो ।’ –हरिवंशले भने । हरिवंशले आप्mनो दम्पतीलाई कोरोना संक्रमण भएको जानकारी सार्वजनिक गरेदेखि आफन्त र शुभचिन्तकहरुले फोन गरेर चिन्ता नलिन तथा विभिन्न खानेकुरा सेवन गर्न सुझाइरहे । ‘शुभचिन्तकहरुले दिनुभएको रायलाई आत्मसात गर्‍यौं ।

उहाँहरुले गुजोु, बेसारपानी, झोलिलो पदार्थ खाने सल्लाह दिनुभएको थियो । डाक्टरले पनि झोलिलो पदार्थ खाने सल्लाह दिनुभयो । डाक्टर साथीभाइका अनुसार यो समयमा डाइटिङ गर्नुहुँदैन । प्रोटिन बढी खानुपर्छ । त्यसबाहेक हामीले अश्वगन्धा, च्यावनप्रासजस्ता आयुर्वेदिक टनिक, मल्टिभिटामिन, भिटामिन डी, सी खायौं’, हरिवंशले सुनाए– ‘निजी अस्पतालहरुले पनि फोन गरिरहे । टेकु अस्पतालबाट पनि के–कसो सहयोग गर्नुपर्छ भन्नुस् भनेर फोन आयो । भाग्यवश सल्लाहबाहेक केही हेल्प लिनुपरेन ।’

हरिवंशलाई संक्रमण देखिनु १५ दिन अघिसम्म पनि कोरोना थिएन । १५ दिन जतिअघि कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको थिएन । ‘उपेन्द्र महतोले मेडिसिटी हस्पिटलमा कोरोना पहिले भएको थियो कि या अहिले छ कि छैन भनेर टेस्ट गर्ने नयाँ मेसिन ल्याएको छ, टेस्ट गर्न आउनुस् भनेर बोलाउनुभएको थियो । कोरोना भएर ठीक भइसकेपछि एन्टिबडी तयार हुने रहेछ । त्यतिखेर मदन (मदनकृष्ण श्रेष्ठ) दाइ छोराबुहारी लिएर आउनुभएको थियो । म श्रीमती र छोरालाई लिएर गएको थिएँ । विजयकुमार पाण्डे, उत्तम सञ्जेललगायत १०÷१५ जना मिसेससहित जानुभएको थियो । त्यो बेलाको टेस्टसम्म हामीलाई कहिले पनि कोरोना नभएको रिपोर्ट आएको थियो’, हरिवंशले पछिल्लोपल्टको परीक्षणमा पोजेटिभ रिपोर्ट आउँदा पनि नआत्तिएको सुनाउँदै भने– ‘त्यो बेलाचाहिँ केही लक्षण देखिएकाले मेन्टल्ली प्रिपियर थियौं । रिपोर्ट पोजेटिभ नै आएछ भने पनि लड्नैपर्छ भन्ने लागेको थियो’, हरिवंश भन्छन्– ‘न्युज हेर्ने हो भने

विश्व स्वास्थ्य संगठनका अनुसार ८० प्रतिशत मानिसलाई कोरोना हुन्छ, त्यसपछि एन्टी बडी तयार हुन्छ अनि मात्र कोरोना सकिन्छ । यसो भन्दैमा योसँग धेरै डराएर हिँड्ने कुरा भएन । बाटो काट्दा सवारीसाधनले हिर्काइदिन्छ कि भनेर सतर्क भएजस्तै कोरोनाबाट सतर्क हुनुपर्छ । तर, डराएर बसेर पनि हुँदैन ।’

आम नेपालीलाई हरिवंशको सुझाव छ– ‘क्याप्टेन विजय लामाले कोरोनालाई खेलाँचीका रूपमा नलिनुस् भन्दै अक्सिजन भएको रुममा हस्पिटल बसेको फोटोसहित फेसबुकमा हालेर अनुरोध गर्नुभयो । अरू पनि कति सिरियस केस हामीले हेरेको छौं । मानिसको मृत्य भएको पनि हामीले देखेका छौं । त्यसैले कोरोना खेलाँची हुँदै होइन । यो साधारण रोग हुँदै होइन, बलियो शत्रु हो । कोरोनाबाट आफू संक्रमित भयो भने अरूलाई पनि सर्छ । इम्युनिटी पावर कम भएका र दीर्घ रोग भएकालाई यसले खतरामा पारिदिन्छ । दीर्घ रोग नभए पनि कोरोनालाई कसैले थाम्न सक्छ, कसैले सक्दैन । यसलाई आत्मबलले नै जित्ने हो, हामी आत्मबलका साथ बस्यौैं । आइलागेपछि मुकाबला गर्नै पर्‍यो । मुकाबला गर्दै बस्यौं र यसबाट मुक्त भयौं ।’

 

कोरोना खेलाँची हुँदै होइन । यो साधारण रोग हुँदै होइन, बलियो शत्रु हो । कोरोनाबाट आफू संक्रमित भयो भने अरूलाई पनि सर्छ । युमिनिटी पावर कम भएका र दीर्घ रोग भएकालाई यसले खतरामा पारिदिन्छ । दीर्घ रोग नभए पनि कोरोनालाई कसैले थाम्न सक्छ, कसैले सक्दैन । यसलाई आत्मबल नै जित्ने हो, हामी आत्मबलका साथ बस्यौैं । आइलागेपछि मुकाबला गर्नै पर्‍यो ।

प्रतिक्रिया दिनुहोस्