नेपाली मोडल भारतमा छाउँदै



शाक्यजी

व  र्ष २०१४ डिसेम्बर २० तारिख । वर्ष २०१६ डिसेम्बर १४ तारिख । वर्ष २०१७ डिसेम्बर १६ तारिख । समयको विभिन्न कालखण्डका उल्लेखित मितिहरुमा अंग्रेजी क्यालेन्डरअनुसार डिसेम्बर महिनाको समानतालाई सजिलै ठम्याउन सकिन्छ । तर, यी मितिहरु नेपाली मोडलिङ परिवेशका लागि महत्वपूर्ण रहेको कुराको थोरैलाई मात्र जानकारी हुन सक्छ ।

वर्ष २०१४ डिसेम्बर २० तारिख नेपाली परिवेशमा सुपर मोडलको छवि बनाउन सफल मोडल आस्था पोखरेल भारतीय टेलिभिजन एनडी टिभी गुड टाइम्सद्वारा सञ्चालित र सोही टेलिभिजनमा रियालिटी शोका रूपमा प्रशारण भएको किङफिसर सुपर मोडल्स टू को विजेता चयन भएको मिति हो । वर्ष २०१६ डिसेम्बर १४ तारिख लेक्मे फेसन सप्ताह २०१७ का लागि सम्पन्न भएको अडिसनको मिति हो । जसबाट नेपालकी प्रथम ट्रान्सजेन्डर रनवे मोडल अञ्जली लामा वर्ष २०१७ को फेब्रुअरीमा सञ्चालन भएको लेक्मे फेसन सप्ताहको समर रिसोर्ट कलेक्सन २०१७ का लागि मोडलका रूपमा चयन भएकी थिइन् । वर्ष २०१७ डिसेम्बर १६ तारिख एम टिभी इन्डिया च्यानलमा प्रशारण भएको इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको फाइनल शृङ्खला थियो । जसमा नेपाली मोडलिङ परिवेशमा राम्रो परिचय बनाएकी नेपाली मोडल सविता कार्की फस्ट रनर्सअप बन्न सफल भइन् ।

समयको फरक–फरक मितिमा नेपाली रनवे मोडलहरु आस्था पोखरेल, अञ्जली लामा र सविता कार्कीले भारतीय मोडलिङ वृत्तमा आर्जन गरेको यो सफलता मोडलिङ क्षेत्रमा भविष्य देख्ने नेपाली युवा पुस्ताका लागि मार्गनिर्देशक र प्रोत्साहनको पर्याय बन्न पुगेको छ । यसबाट नेपाली मोडलहरुको दक्षता, क्षमता, योग्यता र लगनशीलतालाई पनि सकरात्मकरूपले प्रस्ट्याएको छ । यसले मोडलिङ, सौख वा पार्ट टाइम नभएर मिहेनत र गम्भीरतापूर्वक अगाडि बढे फुल टाइम क्यारियर बन्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण दिएको छ ।


सविताको सफलता
२ महिना लामो फेसन, स्टाइल, ग्ल्यामर, मोडलिङ सम्बन्धित फोटोसुट, च्यालेन्स टास्क, क्याटवाक र समग्र पर्फमेन्सको प्रतिस्पर्धात्मक मोडलिङ आधारित इन्डियाज् नेक्सट टप मोडल सिजन थ्रीको फिनाले २०१७ डिसेम्बर १६ तारिखमा विधिवत् सम्पन्न भएको हो । इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको टप थ्री फाइनलिस्टका रूपमा चयन भएका काठमाडौंकी सविता कार्की, अहमदावादकी रिया सुबोध, पुणेका श्वेता राजमध्ये अन्ततः रिया सुबोधले यो सिजनको उपाधिमा बाजी मार्न सफल भएकी थिइन् भने काठमाडौंकी सविता कार्की फस्ट रनर्सअप बनेको बेला अर्की भारतीय मोडल श्वेता राजले सेकेण्ड रनर्सअपमा चित्त बुझाउनुपरेको थियो । प्रतिस्पर्धा प्रारम्भ भएदेखिको समग्र यात्रा, प्रस्तुति र प्रभावकारितासँगै अन्तिम फाइनल प्रस्तुतिको र्याम्प वाक, फोटोसुट र पर्फमेन्सको आधारमा यसपटकको इन्डियाज् नेक्स्ट टप मोडलको विजेता चयन गरिएको थियो ।

फाइनल प्रस्तुतिभन्दा अगाडि टप थ्री फाइनलिस्ट रिया, सविता र श्वेताले आप्पोको २०१८ को क्यालेन्डरका लागि फोटोसुट गरेका थिए भने अन्तिम फोटोसुट टास्कका रूपमा फ्यामिली पोट्रेटमा आफ्नो प्रस्तुति दिएका थिए । सविताको परिवार वा साथीभाइ त्यति बेला उपस्थित नभएकाले कार्यक्रमका मेन्टरहरु अभिनेतृ अनुशा डान्डेकर र ग्रुमिङ निरज गाबाले सविताको परिवारको सदस्यका रूपमा फोटोसुटमा सहभागी भएका थिए । इन्डियाज् नेक्स्ट टप मोडल सिजन थ्रीको फस्ट रनर्सअपसम्मको यात्रा तय गर्न सफल सविता उक्त कार्यक्रममा सहभागी भएकी पहिलो नेपाली मोडल हुन् ।

समयको विभिन्न कालखण्डका अँग्रेजी क्यालेन्डरका मितिअनुसार डिसेम्बर महिनाको समानतालाई सजिलै ठम्याउन सकिन्छ । तर यी मितिहरु नेपाली मोडलिङ परिवेशका लागि महत्वूर्ण रहेको थोरैलाई मात्र जानकारी हुन सक्छ ।

आफ्नो सानदार प्रभावकारी प्रस्तुति दिन सफल इन्डियाज् नेक्सट टप मोडल सिजन थ्रीमा सहभागी नेपाली मोडल सविता कार्की डिसेम्बर ९ तारिखमा प्रसारित शृङ्खलाको परिणामअनुसार सो प्रतियोगिताको टप थ्री फाइनलिस्टमध्येका एक बन्न सफल भएकी थिइन् । डिसम्बेर ९ तारिखमा प्रसारित शृङ्खलामा सहभागीले भैंसीको गोठभित्र रनवे च्यालेन्ज टास्कमा आफ्नो प्रस्तुति दिएका थिए । यो टास्कमा सविताको आत्मविश्वास पूर्ण प्रस्तुतिको निकै तारिफ भएको थियो । सोही शृङ्खलाको अर्काे टास्कमा सहभागीले कार्यक्रम निर्णायकमध्ये एक मलाइका अरोरासँग फोटोसुट गर्नुपरेको थियो । जसमा सहभागीले फोटोसुटको कन्सेप्ट, निर्देशन, कम्पोजिसन र पोज दिनुपर्ने थियो । फोटोसुट डब्बु रतनानीले गरेका थिए ।

यो टास्कमा सविताको प्रस्तुति र पर्फमेन्सका सम्बन्धमा निर्णायकहरु मिलिन्द सोमन, मलाइका अरोरा र कार्यक्रममा मेन्टर अनुशा डान्डेकरले खुलेरै तारिफ गर्दै आफ्नो स्थानमा उभिएर ताली बजाएका थिए । नेपाल फेसन सप्ताहदेखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शोजस्ता बृहत् र्याम्प शोमा बिरालो चालमा यात्रा तय गरिसकेकी सविता कहलिएकी र्याम्प सुन्दरी हुन् । ५ फिट ८ इन्च अग्ली स्लिम फिगरकी काठमाडौंकी २३ वर्षीया सविताको सेक्सी सौन्दर्यले टीएनएम, एम एन्ड एस भिम्याग इन्सिगनिया, वाउ, ईसीएस लिभिङ, टीजीआईएफजस्ता म्यागाजिनको शोभा बढाइसकेको छ । इन्डियाज् नेक्स्ट टप मोडलको सिजन थ्री गत अक्टोबर २१ तारिखमा प्रिमियर भएको थियो । जसमा नेपालकी सविता कार्कीलगायत १६ जना प्रतिस्पर्धी सहभागी थिए ।

आस्था र अञ्जलीको फराकिलो आकाश
लगातार १३ साताको प्रतिस्पर्धात्मक यात्रा अनि त्यो यात्रामा अनेकन कठिन, जोखिमपूर्ण, रोमाञ्चक र ग्ल्यामरस फेसन तथा मोडलिङसम्बन्धी क्षणहरुलाई पार गर्दै नेपाली र्याम्प मोडलिङ क्षेत्रमा सुपर मोडलको दर्जा कमाएकी आस्था पोखरेल भारतीय टेलिभिजन एनडी टिभी गुड टाइम्सद्वारा सञ्चालित र सोही टेलिभिजनमा रियालिटी शोका रूपमा प्रशारण भएको किङफिसर सुपर मोडल्स टूको विजेता बन्न सफल भइन् । वर्ष २०१४ को नोभेम्बर ८ तारिखमा एनडी टिभी गुड टाइम्समा प्रशारण आरम्भ भएर १३ शृङ्खलामा विभाजित यो रियालिटी शोमा आस्थाबाहेक अन्य ९ प्रतिस्पर्धी मोडलको सहभागिता थियो । अन्ततः आस्था कार्यक्रमको विजेताका रूपमा आफूलाई उभ्याउन सफल रहिन् र उनले चर्चित किङफिसर क्यालेन्डर २०१५ को संस्करणको क्यालेन्डर गर्ल बन्ने अवसर प्राप्त गरिन् ।


किङफिसर सुपरमोडल्स टूको हरेक शृङ्खला प्रतियोगितात्मक एवं रोमाञ्चक थियो । सहभागी प्रतिस्पर्धीहरुलाई विभिन्न साहसिक, जोखिमपूर्ण एवं रोमाञ्चक कार्य गर्नुपरेको थियो । जसमा द इन्डियन राइड, रेकिङ बल, पेटा गो भेगान, टाइपोग्राफी, एरियलजस्ता थिममा टास्क एवं फोटोसुट गर्नुपरेको थियो । जसको फोटोसुट अतुल कस्बेकर र कोल्सटन जुलियनजस्ता नाम चलेका फोटोग्राफरहरुले गरेका थिए । कार्यक्रमको निर्णायकहरुमा चर्चित फेसन हस्तीहरु निखिल थाम्पी र अमित साढले गरेका थिए भने उनीहरुको साथमा कार्यक्रम मेन्टर बलिउड अभिनेतृ नेहा धुपिया पनि थिइन् । किङफिशर क्यालेन्डर भारतको युनाइटेड ब्रिअरीज् ग्रुपले सन् २००३ देखि प्रत्येक वर्ष प्रकाशन गर्दै आएको क्यालेन्डर हो, जसमा मोडलहरुलाई स्विमसुटमा प्रस्तुत गर्ने गरिएको छ । यो क्यालेन्डरले थुप्रै मोडललाई मोडलिङ जगत् हुँदै बलिउडसम्म स्थापित गर्न अहम् भूमिका खेलेको मानिन्छ । जसमध्ये कट्रिना कैफ, दीपिका पादुकोण, याना गुप्ता, उजाला रावत, नरगिस फाकरी, लिजा हेदन, करिश्मा कोटक आदिको नाम उल्लेख्य रहेको छ ।

किङफिसर सुपर मोडल्स टूको विजेता बनेसँगै आस्था पोखरेल किङफिसर क्यालेन्डर २०१५ को डिसेम्बर महिनाको पानामा देखापरेकी थिइन् । टर्कीको पामुककालेस्थित पौराणिक शहर हिरापोलिसको पृष्ठभूमिमा खिचिएको आस्थाको स्टाइलिस एवं ग्ल्यामरस छविलाई सो क्यालेन्डरको डिसेम्बर महिनाको पानामा देख्न पाइएको थियो । यसै गरी आस्था टाइम्स मोस्ट डिजाइरेबल ओमेन २०१४ को उत्कृष्ट ५० को सूचीमा पर्न पनि सफल भएकी थिइन् । आस्थाले सन् २०१५ को लेक्मे फेसन सप्ताहको समर रिसोर्ट २०१५ मा पनि क्याटवाक गरिन् ।

केही समयअगाडि अदिती बुढाथोकी र भारतीय अभिनेतृ सनी लियोनीका बीच तुलना गरेर भारतीय न्युज च्यानल एबीपी न्युजको अनलाइन भर्सनमा समाचार प्रकाशित भएको थियो । समाचारले अदितीको बोल्ड एवं ग्ल्यामरस तस्वीरहरुलाई इंगित गर्दै सनी लियोनीलाई पछाडि पार्न सक्ने हट नेपाली मोडल एवं अभिनेतृ भनेर प्रस्तुत गरेको थियो ।

५ फिट साँढे ९ इन्च उचाइकी आस्थाले यसअघि एसियाज् नेक्स्ट टप मोडल नामक अर्को अन्तर्राष्ट्रिय रियालिटी शोमा पनि सहभागिता जनाएकी थिइन् । सिंगापुरमा सम्पन्न यो मोडलिङमा आधारित यो रियालिटी शोमा उनले टप फाइभसम्मको यात्रा तय गरेकी थिइन् । आस्थाले सुपर मोडल इन्टरनेसनल २०१३ को उपाधि हात पारेपछि बैंककमा सम्पन्न सुपर मोडल इन्टरनेसनल २०१३ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । त्यसो त आस्था क्लासिक डायमन्ड ज्वलेरीद्वारा सञ्चालित फेस अफ क्लासिक डायमन्ड ज्वेलरीको पहिलो संस्करणका फस्ट रनर्सअप उपाधि विजेता पनि हुन् । नेपाल फेसन सप्ताह, ट्रेन्डसेटरलगायत नेपालमा आयोजना भएका ए क्लास फेसन शोका रनवेको हाइलाइट हुँदै आएकी आस्थाले मिस नेपाल २०१४ को प्रतियोगितामा टप फाइभसम्मको यात्रा तय गर्न सफल भएकी थिइन् ।

अर्कोतिर नवीन वाइबादेखि ट्रान्सजेन्डर अञ्जली लामा र पहिलो ट्रान्सजेन्डर मोडल हुँदै सुपर मोडल अञ्जली लामाको परिचय कमाउँदा, अञ्जलीले सपना देख्नेहरु अगाडि बढ्छन्, अगाडि बढ्न चाहनेहरु हार मान्दैनन्, हार नमान्नेहरु असफलतादेखि डराउँदैनन् र डर नमान्नेहरुले नै जित सुनिश्चित गर्छन् भन्ने कुरालाई यथार्थमा परिणत गरेको देखिन्छ । उनको छलाङ नेपाली फेसन शोको रनवेबाट भारतको चर्चित फेसन सप्ताह लेक्मे फेसन विकसम्म पुग्यो । वर्ष २०१६ को डिसेम्बर १४ तारिखमा सम्पन्न अडिसनबाट चयन भएसँगै अञ्जली वर्ष २०१७ को फेब्रुअरीमा सञ्चालन भएको लेक्मे फेसन सप्ताहको समर रिसोर्ट कलेक्सन २०१७ का लागि मोडलका रूपमा देखा परिन् ।

योसँगै भारतीय फेसन सप्ताहमा क्याटवाक गर्ने पहिलो ट्रान्सजेन्डर मोडलका स्थापित भइन् अञ्जली । नेपाली र भारतीय मात्र नभएर अन्य अन्तर्राष्ट्रिय समाचार पानाहरुमा पनि उनको चर्चा चुलिएको थियो । लेक्मे फेसन सप्ताहको समर रिसोर्ट २०१७ शृङ्खला फेब्रुअरी १ देखि ५ तारिखसम्म मुम्बईस्थित बान्द्रा कुर्ला कम्प्लेक्सस्थित जियो गार्डेनमा सञ्चालन भएको थियो । सो फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्साएसँगै व्यस्त हुन थालेकी अञ्जलीले लगभग एक वर्षको अन्तरालमा थुप्रै रनवे शो, फोटोसुट, ब्रान्ड इन्डोर्समेन्ट गरिसकेकी छन् । भारतीय फेसन क्षेत्रका स्थापित फेसन फोटोग्राफर र फेसन डिजाइनरका लागि अञ्जली अब परिचित नाम बनिसकेको अवस्था छ । अञ्जलीले लेक्मे इन्डिया फेसन विक विन्टर फेस्टिभ २०१७ मा आफ्नो क्याटवाक प्रस्तुति जादु छर्न सफल भइन् ।

सन् २००७ मा मिस पिन्क प्रतियोगिताको प्रतियोगी भएसँगै मोडलिङ दुनियाँको यात्रा तय गरेकी अञ्जलीले सन् २००८ को प्रारम्भतिर साइबर संसार डट कममा फोटोसुट गरेपछि उनको मोडल परिचय विस्तारै झाङ्गिँदै गएको हो । उनले यसबीचमा द र्याम्प मोडलिङ एजेन्सीमा कोरियोग्राफर रोजिन शाक्यबाट व्यावसायिक मोडलिङको प्रारम्भिक प्रशिक्षण पनि प्राप्त गरेकी थिइन् । नमुना कलेजको ग्राजुएसन फेसन शो, ट्रेन्डसेटर्स, क्लासिक डायमन्ड ज्वेलरी शो, एन भोग, डिजाइनर्स रनवेलगायत नेपाली रनवेका प्रायः सबै महत्वपूर्ण र उल्लेखनीय फेसन कार्यक्रममा क्याटवाक गरिसकेकी अञ्जली लामा बलिउड फेसन डिजाइनरको काठमाडौंस्थित आउटलेट पनासे रनवेको ब्रान्ड फेससमेत बनिन् ।

नेपाली रनवे हुँदै भारतीय मोडलिङ वृत्तमा पनि चिरपरिचित बन्न पुगेकी आस्था पोखरेल हाल मुम्बईस्थित आस्था टोअब ट्यालेन्टस् मोडलिङ एजेन्सीसित आबद्ध रहेर आफ्नो मोडलिङ क्यारियरमा उचाइ थप्दै छिन् भने अञ्जली इनेगा म्यानेज्मेन्ट सर्भिस नामक एजेन्सीसित मोडलका रूपमा आबद्ध छिन् ।


मुम्बईमा नेपाली अदितीको चर्चा
केही समयअगाडि मोडल, फेसन ब्लगर र अभिनेतृका रूपमा चिनिएकी अदिती बुढाथोकी र भारतीय अभिनेतृ सनी लियोनीका बीच तुलना गरेर भारतीय न्युज च्यानल एबीपी न्युजको अनलाइन भर्सनमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारले अदितीको बोल्ड एवं ग्ल्यामर्स तस्वीरहरुलाई इंगित गर्दै सनी लियोनीलाई पाछाडि पार्न सक्ने हट नेपाली मोडल एवं अभिनेतृ भनेर अदितीलाई प्रस्तुत गरेको थियो ।

फेसबुक, इन्स्टाग्राम र ट्विटरमा अदितीको लोकप्रियता निकै छ । उनले नेपाली रजतपटमा चलचित्र कृ मार्फत डेब्यु गर्दै छिन् र देखिने छिन् सिल्भर स्क्रिनमा अहिलेका युवा पुस्ताका सर्वाधिक लोकप्रिय अभिनेता अनमोल केसीसँग । मोडलिङको सिलसिलामा काठमाडौंदेखि मुम्बईको यात्रा तय गरेकी उनले मुम्बईमा आफ्नो प्रभाव राम्ररी जमाएकी छन् । उनले गायक सन्दीप ब्रारको स्टेप कट बोलको पन्जाबी म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

जुन रिलिजताका यु ट्युबमा भाइरलसरह भएको थियो । सुन्दर एवं चार्मिङ मुहार, ५ फिट ५ इन्च उचाइको शरीरमा चिटिक्क मिलेको जिउडाल, सिम्पल शालिनदेखि स्टनिङ ग्ल्यामरस लुकमा उत्तिकै प्रभावकारी देखिन सक्ने उनको क्षमता र प्रस्तुतिले उनलाई नेपाली र मुम्बईमा रहेका थुप्रै फेसन फोटोग्राफरको लेन्समा कैद हुने अवसर प्रदान गरेको छ । जसमा उनी सफल र प्रभावकारी देखिएकी छिन् ।

मुम्बईमा मोडलिङ गतिविधिमा प्रभावकारी बन्दै गएकी अदितीले जाबोङ डट कम, अमेजन डट कमजस्तो कहलिएको अनलाइन सपिङदेखि भायलेट फेसन, सिल्कभिल्ला, नवदुर्गा साडीलगायतको फेसन ब्रान्ड, जडाउ ज्वेलरी, ब्लिङ, श्री कल्पतारु ग्रुपलगायत विभिन्न ब्रान्डका लागि मोडलिङ गरिसकेकी छिन् । उनी सुनन्दा नामक भारतीय पत्रिकाको कभर गर्ल पनि बनिसकेकी छिन् । मोडल म्यानेजमेन्ट एजेन्सी टीएफएम इन्डियाकी मोडल पनि रहिसकेकी अदिती अहिले मुम्बईस्थित टोअब नमक मोडलिङ एजेन्सीसित आबद्ध रहेकी छिन् ।

काठमाडौंमै पनि अदिती चिरपरिचित मोडलकै रूपमा गनिन्छिन् । केही फेसन शो र म्युजिक भिडियोमा देखिसकेकी विभिन्न म्यागाजिनको कभर गर्ल बनिसकेकी छिन् । जोय पपाया सन ग्लाम हन्ट २०१३ की प्रतिस्पर्धी रहेकी अदिती सो प्रतियोगितामा बेस्ट स्किन अवार्ड विजेता पनि हुन् ।

नेपाल फेसन सप्ताहको २०१५ प्रोमोसनल अभियानमा मुख्य मोडल बनेकी अदितीले कुवेर ज्वेलरी, द डानियल वेलिङ्टन नामक स्टाइलिस घडीका लागि पनि मोडलिङ गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्