अवार्डको उत्साह



चलचित्रकर्मी तथा कलाकर्मीको आग्रह र सुझावबमोजिम प्रकाशनको झन्डै साढे ३ दशक लामो यात्रा पार गरेको अवसरमा नेपाली चलचित्र क्षेत्र तथा यससँग सम्बन्धित चलचित्रकर्मी तथा कलाकर्मीको मान, प्रतिष्ठा र प्रोत्साहनका खातिर कामनाले गत गत २०७१ सालदेखि कामना फिल्म अवार्डस्को आयोजना गर्दै आएको छ ।

पहिलो संस्करणको अवार्डबाट सकारात्मक प्र्रतिक्रिया पाई सिंगो चलचित्र क्षेत्रमा उत्साह बढेको पाउँदा पाउँदै २०७२ साल वैशाख १२ र २९ गते देश नै उथलपुथल हुने गरी प्रलयकारी भूकम्प गएका र त्यसलगत्तैै देशले भोग्नुपरेको नाकाबन्दीका कारण कामनाले २०७२ सालको कामना फिल्म अवार्ड स्थगित गर्यो ।

त्यसपछि २०७३ सालमा पुनः कामनाले कामना फिल्म अवार्डलाई निरन्तरता दियो। त्यो निरन्तरता यस वर्ष पनि जारी रह्यो लक्स कामना फिल्म अवार्डस् २०७४ का रूपमा। तेस्रो संस्करणको अवार्ड समारोह यसै क्षेत्रसँग सम्बन्धित कलाकर्मीको साथ र सहयोगले जसरी सफल र भव्यरुपमा सम्पन्न भयो, त्यसले कामनालाई मात्र नभई सिंगो चलचित्र क्षेत्रलाई उत्साहित बनाएको छ ।

कामना फिल्म अवार्डले यस वर्षको तेस्रो संस्करणको समारोह आयोजना गरिरहँदा यसले सयौं सहयोगी हातको साथ पायो । तीनै सहृदयीका कारण कामना फिल्म अवार्ड तेस्रो संस्करणमै नेपाली चलचित्र क्षेत्रको मानक फिल्म अवार्डका रूपमा स्थापित भइसकेको चलचित्र क्षेत्रबाटै प्रतिक्रिया प्राप्त हुनुले यो अवार्डलाई अझै परिष्कृत, प्रतिष्ठित र गरिमामय बनाउने चुनौती र उत्साह कामनालाई बढेको छ ।

अवार्ड मूल्यांकन प्रक्रिया र निष्पक्षताप्रतिको कलाकर्मीको विश्वास, कलाकर्मीहरूको भव्य उपस्थिति, लोभलाग्दो र आकर्षक गीत–संगीत, नृत्य, हस्यौलीजस्तो प्रस्तुति प्रस्तुत गरी समारोहको उचाइ बढाइदिनुहुने पुरानादेखि नयाँ पुस्ताका कलाकर्मीहरू, कार्यक्रमको स्वरूपलाई लिएर पाएको स्याबासी यी सबै पक्षले कामना फिल्म अवार्ड्स २०७४ ले कामनालाई थप ऊर्जाशील त बनाएकै छ, यसलाई कायम राख्ने अभिभारा पनि थपिएको महसुस भएको छ ।

‘सम्मान चलचित्रको, उत्सव उत्कृष्टताको’ कामना फिल्म अवार्डस्को मुख्य कल्पना नै यही हो । जुनरूपमा पछिल्लो संस्करण सम्पन्न भयो, त्यो साँच्चै नै चलचित्र क्षेत्रप्रतिको सम्मान र चलचित्र क्षेत्रकै उत्सवका रुपमा सम्पन्न भएको प्रतिक्रिया हामीले पाएका छौं । यसप्रकारको सकारात्मक र ऊर्जाशील प्रतिक्रियाले कामनालाई आफ्नो उद्देश्यमा सफल भएको महसुस गराएकोे छ ।

कामना सिने मासिक सदैव कलाकर्मी र कलाक्षेत्रको पूजारीका रूपमा अगाडि बढ्दै आएको सरोकार सर्वविदितै छ । कामना फिल्म अवार्डस् आयोजना पनि यसैको पछिल्लो शृंखला हो । तसर्थ कामनाको यो नयाँ अंक पनि हामीले अवार्ड विशेषांकका रूपमा तयार पारेका छौं । कामना फिल्म अवार्डस् २०७४ का विजयी तथा सहभागी सबैका लागि चिनो उपहार दिने उद्देश्यले यो पूरै अंक हामीले अवार्डका विजेता, विभिन्न प्रस्तुति प्रस्तुत गरेर समारोहलाई रोचकता प्रदान गर्ने कलाकर्मी तथा सहभागीहरूलाई समेटेर थोरै पढ्ने र धेरै हेर्ने पत्रिका बनाएका छौं ।

अन्त्यमा कामना न्यूज पब्लिकेसन्स्ले सिजी इन्टरटेनमेन्टको सहकार्य र लक्सको साथमा आयोजना गरेको लक्स कामना फिल्म अवार्डस् २०७४ लाई हाम्रो उद्देश्यअनुरूप साकार रूप दिलाउनु हुने सम्पूर्ण चलचित्रकर्मी र कलाकर्मीप्रति कामना आभार व्यक्त गर्दछ। यसैगरी कामना फिल्म अवार्डस्लाई फिल्म उपलब्ध गराइदिनुहुने चलचित्रकर्मी, चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, चलचित्र क्षेत्रका हस्तीदेखि लिएर विभिन्न पक्षसँगको छलफलपश्चात् हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डलाई आधार मानेर करिब १ महिनासम्म सहभागी सम्पूर्ण चलचित्र अवलोकन गरी सूक्ष्मरूपले निष्पक्ष मूल्यांकन गर्दै विजेता चयन गर्ने निर्णायक मण्डल तथा अवार्डका विभिन्न प्रक्रियादेखि अवार्ड समारोहसम्म प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभाव, प्रायोजक, विज्ञानदाता, पाठकलगायत सबैप्रति आभारका साथमा सम्पूर्ण अवार्ड विजेतालाई हार्दिक बधाई ।

प्रतिक्रिया दिनुहोस्