जीवनयापनका क्रममा महिला र पुरुषमध्ये कुसलाई बढी दुःख र कसलाई बढी सुख देख्नुहुन्छ ?



आत्माविश्वास भए दुःख हुँदैनःप्रियंका कार्की

मेरो विचारमा जीवनयापनका क्रममा पुरुष र महिलालाई त्यस्तो तोकिएर सुख या दुःख हुन्छ भन्ने कुरा हुँदैन । सबैको जिउने तरिका फरकफरक हुन्छ । कुनै पनि व्यक्ति चाहे त्यो पुरुष होस् या महिला, उसले जीवनलाई कसरी अगाडि बढाउने भन्ने कुरा उसको व्यक्तिगत कुरा हो । यदि पुरुष या महिलामध्ये कसैले पनि नराम्रो काम गरेको छ भने उसले दुःख पाउँछ । तर राम्रो काम गरेको छ भने सुख पाउँछ । जीवनसाथी रोज्ने क्रममा पनि आफ्नो मन मिल्ने खालको पुरुष या महिला रोजियो भने जीवन सहज हुन्छ । तर मन नमिल्ने कुरा पनि नमिल्ने खालको रोजियो भने दुःख पाइन्छ । त्यसैले आत्मविश्वासका साथ जीवनमा अगाडि बढ्ने हो भने भविष्यमा दुःख नै हुँदैन ।

सोचमा भर पर्छः निखिल उप्रेती

पुरुष होस् वा महिलाले सुख र दुःखलाई कसरी लिन्छन् भन्ने कुरा उनीहरूको सोचमा भर पर्ने कुरा हो । यदि कुनै पनि पुरुष आफूलाई कुनै पनि काम गर्दा असाध्यै दुःखको अनुभूति गर्छ भने उसलाई दुःख नै हुन्छ । तर उसले दुःखलाई नै पछिको सुख सम्झेर काम गर्छ भने उसले सुखको अुनुभूति गर्न सक्छ । महिलाको हकमा पनि त्यही नै हो । हाम्रो देशमा रुढिवादी परम्पराका कारणल पुरुषको तुलनामा महिलालाई अलि बढी नै शारीरिक रूपमा बढी दुःख छ । पुरुषहरू घरमा सिन्को पनि भाँच्दैनन् भने महिला दिदीबहिनीहरूले सन्तानको लालनपालनदेखि लिएर घरका हरेका काममा आफूलाई केन्द्रित गराएका हुन्छन् । यो निकै नै ठूलो विडम्बना हो हाम्रो देशको । वास्तवमा जबसम्म पुरुषले महिलामाथि गर्ने भेदभावको अन्त्य हुँदैन, तबसम्म महिलाले दुःख नै पाइरहन्छन् । महिलामाथि दमन गर्ने पुरुषको सोचमा परिवर्तन ल्याउन सके मात्रै समुन्नत समाजको निर्माण सकिन्छ ।

महिलालाई नै दुःख छः अनुप बराल

मेरो विचारमा जीवनयापनको क्रममा कसलाई बढी दुःख वा कसलाई बढी सुख भन्ने कुरा महिला र पुरुषको सम्बन्धलाई हेरेर हुन्छ । कस्तो कुरालाई दुःख मान्ने कसलाई बढी सुःख मान्ने भन्ने कुरा पनि हो । पुरुष वा महिला दुवैको अवस्था हेरेर हुन्छ । मेरो जीवनमा चाहिँ मैले बेलाबेला दुःख पाइरहेको हुन्छु । तर पनि यो दुःख गर्नै प¥यो भनेर चित्त बुझाउँछु । पुरुष र महिलाको तुलना गर्ने हो भने हाम्रो ग्रामीण क्षेत्रमा महिलालाई बढी दुःख छ । शिक्षाको अभावका कारण पनि त्यस्तो भएको हो । ग्रामीण क्षेत्रका धेरै युवा विदेशिएको अवस्था छ । महिलाहरूले घरको धन्दा घाँसपातमा आफ्नो जीवन समर्पित गरेका हुन्छन् । यसलाई म विडम्बना भन्छु । त्यसैले ग्रामीण क्षेत्रमा महिलालाई बढी दुःख छ ।

मानिसको शैलीमा भर पर्छः चेतन सापकोटा

मेरो विचारमा यो कुरा चाहिँ जीवनयापन गर्ने क्रममा मानिसको शैलीमा भर पर्छ । कुनै पनि पुरुष वा महिलाले जीवनयापन गर्ने क्रममा आफूलाई कुनै योजनाअनुसार सशक्त ढंगबाट अगाडि बढाउन योजना बनाएर अगाडि बढ्यो भने सुखैसुख छ । तर कुनै योजनाविना नै भद्रगोल शैलीमा जीवनलाई अगाडि बढायो भने दुःख पाइन्छ । पुरुषहरूले आफू पुरुष भएकै कारण महिलाहरूलाई बढी हेप्ने ग¥यो भने दुवै जनाले दुःख पाउँछन् । यस्तै महिलाले पुरुषलाई हेप्यो भने पनि हालत त्यस्तै नै हुन्छ । त्यसैले एक अर्काबीचमा कुनै पनि काम गर्दा आपसी समझदारीमा गरियो भने दुःख हुने कुरा नै हुँदैन ।

महिलालाई बढी दुःख छः झरना थापा

मरो विचारमा सुखदुःख भनेको जीवनको अभिन्न अंग हो । सायद त्यही भएर होला हिजोआज महिला वा पुरुष दुवै जनाले आ–आफ्नो हिसाबले काम गरिरहेका हुन्छन् । विशेष गरी शहरी क्षेत्रमा पुरुष र महिलाको जिम्मेवारी बराबर नै हुन्छ । सायद शिक्षाको कारणले होला न पुरुष न महिला, दुवै जनाले घरायसी कामदेखि लिएर जागिरसम्म गर्न भ्याएका हुन्छन् । दुवैले दुःख गरिरहेको देख्छु । म फिल्मको सुटिङ क्रममा हाम्रो देशको विभिन्न दुर्गम ठाउँमा पुग्ने मौका पाएको छु । जहाँ अझै पनि महिला दिदीबहिनीहरू सन्तानको लालनपालनदेखि पशुपालनमा समेत व्यस्त भएको देख्छु । दुर्गम क्षेत्रमा पुरुष वा महिला दुवैले दुःख गरे पनि तुलानात्मक रूपमा महिला दिदीबहिनीले अलि बढी दुःख गरेको पाउँछु । प्राकृतिक हिसाबले भन्ने हो भने पुरुषको तुलनामा महिलालाई अलि बढी जिम्मेवारी हुन्छ । महिलाहरूले गर्भवती हुने, सन्तानका हुर्काउने पर्ने हुन्छ । त्यसैले प्राकृतिक रूपले महिलालाई बढी दुःख हुन्छ ।

सन्तान जन्माउनुपर्ने भएकाले महिलालाई दुःखः अरुणिमा लम्साल

पुरुष वा महिला दुवैले आ आफ्नै टेन्सन हुन्छ । पुरुषले घरपरिवारदेखि परिवारका लागि आवश्यक आर्थिक कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । हुन त महिलाहरूले पनि त्यस्तो जिम्मेवारी बहन गरेका हुन्छन् तैपनि पुरुषको तुलनामा महिलालाई यो कुरामा अलि सुख नै हुन्छ । पुरुषलाई भन्दा महिलालाई सन्तान उत्पादन गर्ने कुरामा अलि बढी दुःख नै हुन्छ । सन्तानको लालपालन गर्ने कुरामा महिलाहरू पुरुषको भन्दा बढी जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ ।

सघाए दुःख आउँदैनन्ः मुकेश आचार्य

पुरुष र महिलाले जीवनलाई सुखमय बनाउनका लागि शुरुमा दुवैले दुःख गरेको खण्डमा पछि जीवन अवश्य सुखी हुन्छ । एक जना पुरुष सफल हुनुमा महिलाको ठूलो हात हुन्छ भने महिला सफल हुनुमा पुरुषको पनि उत्तिकै भूमिका रहेको हुन्छ । उदाहरणका लागि कुनै पनि घरमा एक जना पुरुष पैसा कमाउनेछ तर त्यही घरमा उसकी पत्नीले भने कमाएको पैसा सबै उडाउँछे भने त्यो घरमा कहिल्यै सुख आउन सक्दैन । यस्तै कुनै घरमा महिला कमाउने छे तर उसको पति भने उसले कमाएको पैसा दिनहुँ जाँड खाएर उडाउँछ भने त्यो घरमा कहिल्यै सुख आउन सक्दैन । त्यसैले पुरुष र महिला दुवैले एकअर्कालाई हरेक काममा सघाएको खण्डमा उनीहरूको जीवन सुखमय हुन्छ ।

महिला पुरुषबाट सुरक्षाको अपेक्षा राख्छन्ः बेनिशा हमाल

मेरो विचारमा जीवनयापनका क्रममा पुरुष र महिलाको फरकफरक भूमिका र दायित्व रहेको हुन्छ । पुरुष र महिला दुवैले सुखदुःख सामाना गर्नुपर्ने हुन्छ । हाम्रो नेपाली समाजमा एक जना महिला घरमा छोरी पनि हुन्छे भने उसलाई कसैको पत्नी, बुहारी, आमा र सासू पनि बन्नुपर्ने हुन्छ । महिलाले जीवनमा थुप्रै चरण पार गरेका हुन्छन् । पुरुषले पनि घरमा छोरा हुँदै कसैको पति, बाबुको जिम्मेवारी वहन गरेको हुन्छ । कुनै पनि महिलाले घरमा पुरुषको उपस्थिति भयो भने उसले सुरक्षाको अनुभूति गर्र्छे । पुरुषहरूले पनि घरमा महिलाको उपस्थिति भयो भने अलि स्वतन्त्र भएको महसुस गर्छन् । त्यसैले मेरो आआफ्नै फरकफरक दायित्व र भूमिका हुन्छ ।

शारीरिक रूपमा महिलालाई बढी दुःखः जितु नेपाल

शारीरिक रूपले भन्नु पर्दा महिलालाई बढी दुःख हुन्छ । सन्तान उत्पादनका प्रक्रियामा महिलाहरूले धेरै कष्ट भोगेका हुन्छन् । हाम्रो जस्तो मुलुकमा महिलाहरू गर्भवती भएका बेला स्वास्थ्यको हेरचाहको अभावका कारण धेरैले ज्यान गुमाउन बाध्य छन् । हाम्रो देशमा वर्षेनी गर्भवती महिलाहरूले स्वास्थ्य उपचारको अभावमा अकालमा नै ज्यान गुमाएका छन् । त्यसैले शारीरिक रूपमा महिलाहरूलाई बढी दुःख हुन्छ भने पुरुषहरू गर्भवती नहुने र सन्तान पनि नजन्माउने कारण उनीहरूलाई अलि सुख नै हुन्छ । घर व्यवहार सम्हाल्ने क्रममा भने हाम्रो देशमा पुरुषलाई बढी दुःख छ । घरका विभिन्न प्रयोजनका लागि पुरुषले हरेक आर्थिक कुरालाई सम्हाल्नुपर्ने हुन्छ । घरको कुनै काम गर्नुपरे पुरुष नै अगाडि बढ्नुपर्ने चलन हामीकहाँ छ । त्यसैले घर व्यहार चलाउन पुरुषलाई निकै टाउको दुखाइ हुन्छ

प्रतिक्रिया दिनुहोस्