
विदुर गिरी
उनको करियरको शुरुआत नै सेक्स सिनबाट भयो । अहिले भन्न थालेकी छिन् ‘भो बा पुग्यो अब सेक्स सिन । मेरो फिल्मी करियरको शुरुआत नै सेक्स सिनबाट भयो । झेली मेरो फस्ट फिल्म थियो । फस्ट फिल्ममै वेश्याको रोल प¥यो’, सिन्धुलीमा जन्मी हाल परिवारका साथ भक्तपुरको कौशलटारमा बस्दै आएकी २१ वर्षीया चञ्चले स्वभावकी सुरविना कार्कीले सुनाइन्– ‘फिल्ममा वेश्याको रोल भन्ने पहिला नै थाहा थियो । थाहा भएर नै त्यो रोल गरेकी थिएँ । वेश्याको रोल भएपछि सेक्स सिन त हुने नै भयो । सेक्स सिन के गरेकी थिएँ, गाली खाएँ । मान्छेहरूले कस्तो रोल ग¥या भने ।’
सुरविना सुनाउँदै थिइन्– ‘शुरुमा पो बुझेको थिइनँ । कस्तो रोल गर्दा के हुन्छ भनेर । त्यसैले त्यो रोल गरेँ, कमेन्ट पनि सुनेँ । अब त धेरै कुरा बुझिसकें, त्यस्तो रोल गर्दिनँ । सेक्स सिन गर्दै नगर्ने त होइन, गर्नुपरे लिमिटेसन राखेर मात्र गर्छु । फिल्म नायिकाको अंग देखाएर होइन, अभिनयले चल्ने हो । अंग देखाउँदा पनि राम्रोसँग गरे त्यही कला हुन्छ, नराम्रो तरिकाले भए छाडा हुन्छ । अहिले त फेरि न्युड सिनको कुरा पो आउन थालेको छ । ओहो म त न्युड सिन दिन सक्दिनँ ।’ त्यसो त सुरविनालाई ग्ल्यामर रोलमा रुचिचाहिँ रहेछ । भन्छिन्– ‘ग्ल्यामर रोलमा इन्ट्रेस्ट त छ । तर डाइरेक्टरले कति देखाउने भन्ने हुन्छ । ग्ल्यामरको मापदण्ड कति र के भन्ने कुरा कलाकारले भन्नै मिल्दैन ।
प्रेजेन्टेसनमा भर पर्ने कुरा हो । अब धेरै कुरा बुझिसकेकाले स्टोरी नहेरी काम गर्दिनँ । ’ सुरविनाको तर्क छ– ‘सेक्स वरेन्टेड फिल्म बन्नै नहुने वा त्यस्तो प्रकारको फिल्ममा खेल्नै नहुने भन्ने पनि होइन, तर सेक्स रिलेटेड फिल्म भन्नासाथ सबै कुरा देखाउनुपर्छ भन्ने छैन, सेक्सुयल सिनविनाको सेक्स वरेन्टेड फिल्म हो भने त्यो चाहिँ तयार छु । यसमा बढी किन सजग हुनुपर्छ भने दर्शक र समाजले सेक्सलाई त्यति ओपनल्ली पचाएको छैन । हलिउड र बलिउड रुचाउँछन् अर्कै कुरा हो ।
बाहिरका सेक्स फिल्म हेरे पनि नेपालीले नै त्यस्तो सिन दिएको फिल्म यहाँ रुचाइन्न । त्यसैले सेक्सकै पछि लागेर फिल्म बनाउनेभन्दा पनि अरु विषयमा फिल्म बनोस् र त्यसमा केही गरेर देखाउन सकियोस् भन्ने लाग्छ ।’ उनी थप्छिन्– ‘मुभिमा सेक्सअल सिन दिमागले जति भ्यायो त्यति गर्ने हो । तर यहाँ त सेक्स सिन देखाएरै फिल्म चलाउँछु भन्ने सोच पनि छ । मलाई पनि त्यस्तो फिल्मको अफर आएको थियो । तर स्क्रिप्ट सुन्नेबित्तिकै टाटा बाईबाई गरिदिएँ । हिजोआज त फिल्मको कुरा गर्न जाँदा पनि डाइरेक्टर र वनलाइन बुझेर मात्र जान्छु ।’
सुरविना छोटो समयमै म्युजिक भिडियोमा पनि छाएकी छिन् । तर उनलाई रमाइलो चाहिँ फिल्ममै लाग्दो रहेछ । ‘मुभीमा मजा छ म्युजिक भिडियोभन्दा । तर रिजल्टचाहिँ चाँडै म्युजिक भिडियोबाट पाएकी छु’ –उनले भनिन् ।
प्लस टुससम्म पढेकी यी नवसुन्दरी फिल्ममा आएकी रहिछन् निर्देशक मुस्कान ढकालसँगको चिनजानले । ‘एउटा फिल्मको च्यारिटी शोका लागि उहाँ सिन्धुली आउनुभएको थियो । उहाँले फस्ट भेटमै काठमाडौं आएपछि भेट भन्नुभयो । काठमाडौं आएर मिस ग्लोबल २०१२ मा कम्पिटिसन गरेँ, टप टेनमा पुगेर आउट भएँ । त्यसको ट्यालेन्ट राउन्डमा लाइभ एक्ट गरेको थिएँ । त्यही देखेर उहाँले मलाई झेलीमा लिनुभयो’, सुरविनाले रोमाञ्चित हुँदै सुनाइन्– ‘पहिला कहिल्यै क्यामरा फेस त के, फोटोसुटसमेत गरेको थिइनं । त्यसैले पहिलो दिन नर्भस थिएँ, त्यो देखेर पहिलो दिन मलाई केही काम गराइएन । भोलिपल्टबाट नर्मली काम भयो । फिल्ममा मेरो लिड रोल थियो, अनिल थापा पेयर थिए । तर त्यो फिल्म मेरो डेब्युका लागि मात्र भयो । ’ भेलीपछि सुरविनाले आर्यन सिग्देलका साथ नाइकेमा अभिनय गरिन् । ‘नाइकेबाट धेरै कुरा सिक्न पाएँ । तर त्यसमा बढी नै मोटी देखिएछु । फिल्म हेर्दा आफूलाई आर्यनभन्दा एजेट फिल गरेँ र १० केजी वेट लस गरेर अहिले ५० केजी भएकी छु ।’
नाइकेपछि स्क्रिप्ट र सहकलाकार चित्त नबुझेर धेरै अफर त्यागेको बताउने यिनले सुश्रीबाट भने राम्रै क्रेडिट पाइन् । श्रीराम दाहालको लुकामारी उनको पर्खाइको फिल्म बनेको छ । ‘अबचाहिँ हिट फिल्मको पर्खाइमा छु’ –उनी भन्छिन् ।