
नायिका तथा मोडल नम्रता श्रेष्ठले पनि फिल्म निर्माण गरेर निर्मात्रीमा नाम दर्ता गराएकी छिन् । उनले सोल सिस्टर नामक हरर फिल्म बनाएर निर्मात्रीका रूपमा नाम दर्ता गराए पनि नम्रतालाई आफ्नो फिल्म निर्माणको पहिलो खुट्किलामै असफलता मिल्यो ।
नयाँ फिल्म शुक्रबार मात्रै रिलिज हुने परम्परा तोड्दै नम्रताले बिदा छोप्नका लागि बिहीबारकै दिनबाट सोल सिस्टरलाई बजारमा ल्याइन् । फिल्मको प्रवद्र्धन र प्रचारका लागि ठूलै हल्लाखल्ला मच्चाएर प्रिमियर शो र अरु प्रवद्र्धनात्मक कार्यक्रम पनि गरिन् । तर जति हल्ला गरे पनि सायद दर्शकले सुनेनन् । उनको सोल सिस्टर हेर्न हलमा धेरै दर्शक नै गइदिएनन् । दोहोरो भूमिकाको कथा नम्रता स्वयंले चयन गरेकी थिइन् । तर उनको रोजाइको कथा दर्शकको रोजाइको हुन सकेन ।
त्यसो त लामो समयपछि उनको करियरमा नोभेम्बर रेनले आशाको किरण जगाए पनि ताण्डवजस्तो आशा गरिएको फिल्म फ्ल्प भएपछि हराएको थियो । सोल सिस्टरले नम्रताको करियरलाई झनै संकटमा पारिदिएको छ । सोल सिस्टर होइन, बोल्ड सिस्टर पो खोज्नुपर्छ नम्रता !