
निर्माता छवि ओझालाई पुरानो र अनुभवी निर्माता भएकाले मात्र बाठो निर्माता भनिएको होइन । कुन बेला के गर्दा के हुन्छ र कहाँ हान्दा कहाँ लाग्छ भन्ने कुरा राम्रोसँग थाहा पाई सोहीअनुसारको हर्कत गर्ने भएकाले उनको बठ्याइँको चर्चा नेपाली सिने बजारमा हुने गरेको हो ।
हेर्नुस् न नायिका रेखा थापासँग औपचारिक बिहे नै नगरे पनि लामो समय लिभिङ टुगेदरको सम्बन्धमा बसेपछि छवि र रेखा अचानक छुट्टिए । रेखासँग बस्न थालेपछि लगातार उनैलाई आफ्नो फिल्मको नायिका लिइरहेका छविले उनीसँग छुट्टिएपछि म्युजिक भिडियोमा नाम कमाइरहेकी शिल्पा पोखरेललाई लज्जाकी लजालु नायिकाका रूपमा डेब्यु गराए । हवल्दार सुन्तलीमा पनि दोहो¥याए । दुईवटा फिल्ममा सँगै काम गर्ने क्रममा छवि र शिल्पालाई लिएर बजारमा अनेकन चर्चा र परिचर्चा हुन थाले । उनीहरूको यसरी चर्चा हुनु र उनीहरूले गर्ने क्रियाकलाप तथा व्यवहार मिल्नु संयोग हो या अरुथोकै त्यो शिल्पा र छवि नै जानून् ।
तर बजारमा यस्तोखाले हल्ला र चर्चा हुनुमा भने उनीहरू नै कारण भएको प्रस्ट भएको छ । कहिले केक काटेर बर्थडे नमनाएका छविले यसैपालि शिल्पालाई अगाडि राखेर बकाइदा केक काट्दै बर्थडे मनाउनु, अरु भए पनि नभए पनि उनको बर्थडेमा शिल्पा भने हुनु अनि शिल्पाको बर्थडे ट्रिट छविले दिनुले यसलाई प्रस्ट पारेको छ । आफूले लज्जाबाट नायिका बनाएको शिल्पाको बर्थडेकै दिन पारेर छविले राजधानीमा एक कार्यक्रमको आयोजना गरी रिलिजको तयारीमा रहेको फिल्म हवल्दार सुन्तलीको अडियो एल्मब सार्वजनिक गरे ।
केवल दुई गीत भएको हवलदार सुन्तलीको गीति अडियो विमोचन बहाना मात्रै थियो । खासमा उनलाई शिल्पाको बर्थडे मनाइदिने गतिलो बहानाको खाँचो थियो । त्यसैले ओझाले ठूलो आकारको केकको व्यवस्था गरेका थिए भने शिल्पाले बर्थडे केक काटेपछि सबैभन्दा शुरुमा छविलाई नै खुवाएकी थिइन् । यो सब चर्चाका लागि हो या अरु भित्री कुरो पनि केही छन् छवि बा !