विराज बाहिरिएपछि जेनिसालाई समस्या



नायक विराज भट्टले नेपाली फिल्म खेलुन्जेल नायिका जेनिसा केसीलाई पनि फुर्सद नै हुँदैन थियो । विराज जुनजुन फिल्ममा हुन्थे, प्रायः ती फिल्ममा विराजको जोडी जेनिसा नै हुने गर्थिन् । भन्नेहरू त जेनिसाले विराजको बल (भनसुन) ले फिल्म पाइरहेकी हुन् पनि भन्थे । तर यो कुरा न विराजले स्वीकार्थे, न जेनिसाले यो मान्न तयार हुन्थिन् ।

अब समय फेरिएको छ । विराज भोजपुरी फिल्ममा लागेपछि जेनिसालाई फिल्ममा देखिन छोडेको छ । विराज भारत गएर भोजपुरी फिल्ममा रमाउन थालेपछि यता जेनिसा फिल्म नपाएर विरक्तिएकी छिन् । त्यसैले एकाध फिल्म पँइहाले पनि उनी हिजोआज असाध्यै उत्साहित हुन थालेकी छिन् । लामो समयको अन्तरालपछि जेनिसाले आधी बाटो नामक फिल्म खेल्ने अवसर पाइन् । आधी बाटोको रिलिजको समयमा जेनिसाले आफू फेरि स्टार भएको गफ पनि लगाइन् ।

तर आधी बाटोले फिल्मको नाम जसरी नै जेनिसालाई आधी बाटोमै छोडिदियो । फिल्मले राम्रो बजार पाउन सकेन । योसँगै जेनिसाको करियर पनि सेलाउन पुग्यो । त्यसैले त भन्छन् नि जेनी मौका आउँछ पर्खंदैन । फिल्म पाएको बेलामा ध्यान त्यतै मात्र दिएको भए, आज यो दिन देख्नु पर्दैन पो थियो कि !

प्रतिक्रिया दिनुहोस्