नेपाली चलचित्र क्षेत्रले आधा शताब्दीभन्दा लामो यात्रा तय गर्दा कामनाले आजकै दिन मंसिर १५ गते ३४ वर्ष पूरा गरी ३५ वर्ष लामो गौरवमय यात्रा पूरा गरेको छ । चलचित्रकर्मी तथा कलाकर्मीको आग्रह र सुझावबमोजिम प्रकाशनको ३ दशक लामो यात्रा पार गरेको अवसरमा गत २०७१ सालदेखि नेपाली चलचित्र क्षेत्र तथा यससँग सम्बन्धित चलचित्रकर्मी र कलाकर्मीको मान, प्रतिष्ठा र प्रोत्साहनका खातिर कामनाले कामना फिल्म अवार्डस्को आयोजना गर्दै आएको छ ।
पहिलो संस्करणको अवार्डबाट सकारात्मक प्र्रतिक्रिया पाई सिंगो चलचित्र क्षेत्रमा उत्साह बढेको पाउँदापाउँदै २०७२ साल वैशाख १२ र २९ गते देश नै उथलपुथल हुने गरी प्रलयकारी भूकम्प गएका कारण कामनाले २०७२ सालको कामना फिल्म अवार्डस् स्थगित गर्यो । त्यसलगत्तै २०७३ सालमा कामनाले कामना फिल्म अवार्डलाई निरन्तरता दियो । गत वर्षहरु जस्तै त्यो निरन्तरता यस वर्ष पनि जारी छ लक्स कामना फिल्म अवार्डस्–२०७५ का रुपमा ।
यससँगै सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा कामना फिल्म अवार्ड आज मंसिर १५ गते चौथो संस्करणका रुपमा यहाहरुमाझ सम्पन्न हुँदै छ। छिमेकी मुलुक भारतका कलाकार र चलचित्रले पाएको सामाजिक प्रतिष्ठा र मान–सम्मानबाट लोभिएर नेपाली कलाकार र चलचित्रले पनि त्यस किसिमको प्रतिष्ठा पाउनुपर्छ भन्ने उद्देश्यले ३५ वर्षदेखि प्रकाशनमा आएको कामना सिने मासिकले अवार्ड कार्यक्रम पनि चलचित्र र त्यससँग सम्बन्धित कलाकार, निर्माता, निर्देशक, प्राविधिकको प्रतिष्ठा वृद्धि तथा प्रोत्साहनका लागि गरिरहेको छ ।
कामना फिल्म अवार्डको थालनीसँगै यो क्षेत्रमा थप उत्साह जागेको महसुस कामनाले गरेको छ । साढे ३ दशक लामो पत्रकारिता यात्रा पार गर्दै नेपाली चलचित्र, चलचित्रकर्मी र कलाकर्मीको सेवा गरेको संस्थाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रमप्रति यो क्षेत्रको चासो र साथ–समर्थन पनि मिलिरहेको छ । खास गरी कामनाले कसैप्रति आग्रह र पूर्वाग्रह राखी अवार्ड प्रदान गर्नु नपर्ने तथा मान–सम्मान र प्रोत्साहनका लागि नै अवार्डको आयोजना गरेकाले यो अवार्डप्रति विश्वास र आदरभाव रहेको महसुस पनि कामनाले गरेको छ ।
यसका बाबजुद चलचित्र क्षेत्र, यससँग सम्बन्धित चलचित्रकर्मी र कलाकर्मीकै लागि गरिएको लक्स कामना फिल्म अवार्डस्मा समेत केहीले असहयोग गर्दै यो अवार्डको गरिमाप्रति खेलवाड गर्ने प्रयास गरेको महसुस पनि कामनाले नगरेको होइन । र पनि नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा कामना पत्रकारितासँगै फिल्म अवार्डबाट समेत यो क्षेत्रको उन्नयन र समृद्धिका लागि दत्तचित्त रहिरहनेमा कुनै शंका छैन ।
चलचित्र क्षेत्रको गरिमा र प्रतिष्ठाका लागि आयोजना हुँदै आएको कामना फिल्म अवार्डलाई मनैदेखि सघाउने चलचित्रकर्मी र कलाकर्मीको बलमा कामना फिल्म अवार्ड चलचित्रकर्मीकै अवार्डका रुपमा निरन्तर अगाडि बढिरहनेछ । कामना फिल्म अवार्डले यस वर्ष चौथो संस्करणको समारोह आयोजना गरिरहँदा यसले सयौं सहयोगी हातको साथ पाउँदै आएको छ । तिनै सहृदयीका कारण कामना फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको मानक फिल्म अवार्डका रुपमा स्थापित हुन सफल भएको छ । सम्मान चलचित्रको, उत्सव उत्कृष्टताको कामना फिल्म अवार्डको प्रमुख ध्येय हो । यो ध्येयलाई साकार रुप दिलाउनुुहुने सम्पूर्ण चलचित्रकर्मी र कलाकर्मीप्रति कामना आभार व्यक्त गर्दछ ।
कामना फिल्म अवार्डस्लाई फिल्म उपलब्ध गराइदिनुहुने चलचित्रकर्मी, चलचित्र क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधि, चलचित्र क्षेत्रका हस्तीदेखि लिएर विभिन्न पक्षसँगको छलफलपश्चात् हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डलाई आधार मानेर करिब १ महिनासम्म सहभागी सम्पूर्ण चलचित्र अवलोकन गरी सूक्ष्मरुपले मूल्यांकन गर्दै मनोनयन सूची तयार पार्ने र विजेता चयन गर्ने निर्णायक मण्डल, कार्यक्रममा सहभागी सम्पूर्ण कलाकर्मी तथा अवार्डका विभिन्न प्रक्रियादेखि अवार्ड समारोहसम्म प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभाव, प्रायोजक, विज्ञापनदाता, पाठकलगायत सबैप्रति आभार ।
अन्त्यमा, अवार्ड विजेता तथा मनोनयन सूचीमा पर्नुहुने सबैलाई हार्दिक बधाई ।