सन्तु तामाङ (पर्दापछाडिको कलाकारतर्फ)
सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा यस वर्षको गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ अन्तर्गत कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) २०७६ पर्दापछाडिको कलातर्फ यस वर्ष ४ दशकदेखि शृंगार विधाबाट नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका मेकअप आर्टिस्ट सन्तु तामाङलाई प्रदान गरिएको छ।
काभ्रेपलाञ्चोकको चलाल गणेस्थान गाविस ३ मा २०१८ साल असार ४ गते पिता रामबहादुर तामाङ र माता कान्छीमाया तामाङबाट जन्मनुभएका सन्तुले गरिब परिवारमा जन्मेका कारण कक्षा ३ भन्दा माथिको पढाइ त गर्न सक्नुभएन, तर कलाकारहरुलाई शृंगार कलाबाट चम्काउँदै आफ्नो भिन्न उचाइ निर्माण गर्न सफल हुनुभएको छ। सँगसँगै आफ्नै जुक्ति र बुद्धिले नेपाली, अंगे्रजी र कोरियन भाषाको लेखपढ गर्न र बोलचाल गर्न सक्षम हुनुभएको छ। किसान परिवारमा जन्मेर बाल्यकालमै काठमाडौं आई घरायसी काम गरेर संघर्ष गर्दै तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा पियनका रुपमा काम गरी फिल्मको स्थल सहयोगी, सहायक मेकअपम्यानदेखि २०४४ सालमा मेकपम्यानका रुपमा सक्रिय भएर करियरलाई अगाडि बढाउनुभएका सन्तु आज लोकप्रिय मेकअप म्यान अर्थात् मेकअप आर्टिस्टका रुपमा अगाडि बढिरहनुभएको छ।
२०३७ सालदेखि सहायक मेकअप म्यान भई शृंगार कला विधाको करियर शुरु गर्नुभएका सन्तुले बदलिँदो आकाश नामक फिल्ममा सहायक मेकअप म्यान भई काम गरेर ठूलो पर्दाको फिल्मको यात्रा तय गर्नुभएको थियो। सन्तुले सन्तान, के घर के डेराजस्ता फिल्मका लागि सहायक मेकअप म्यानकै रुपमा काम गरे पनि कलाकारहरुको शृंगारका लागि भारतबाट मेकअप म्यान मगाउनुपर्ने समयमा आफ्ना भारतीय मेकअप आर्टिस्ट गुरुहरु बीचमा काममा नआएपछि बाँकी जिम्मेवारी पनि आफैले पूरा गर्नुभएको थियो भने फिल्म मायालुदेखि मेकअप म्यानको पूर्ण जिम्मेवारी निर्वाह गर्न थाल्नुभएको थियो। माया, सारंगी, युगदेखि युगसम्म, शान्तिदीप, अधिकार, महामाया, कसम, कागबेनी, रणभूमि, भरिया, बादलपारि, कस्तो साइनो, भूमरी, मुक्तिदाता, काठमाडौंजस्ता साढे २ सयभन्दा बढी फिल्ममा विभिन्न कलाकारको शृंगार गर्दै आउनुभएका तामाङले वृत्तचित्र, फिल्म, टेलिफिल्म, मोडलिङ, फेसन सो र फोटो सेसनमा मेकअप म्यानका रुपमा काम गरी पर्दापछाडि बसेर नेपाली कला तथा फिल्म क्षेत्रलाई योगदान पुर्याउँदै शृंगारकला विधामा उत्कृष्ट काम गरेबापत प्रथम टेलिफिल्म अवार्ड २०४४, भिडियो फिल्म अवार्ड २०४७, कलिउड सिने अवार्ड २०५७, मोसन पिक्चर अवार्ड २०५८ र डिजिटल फिल्म अवार्ड २०६९ चुम्नुभएको छ भने विभिन्न मानसम्मानबाट समेत सम्मानित हुँदै आउनुभएको छ। स्टिल फोटोग्राफरको समेत काम गर्दै आउनुभएका सन्तुले मेकअप म्यान भई काम गर्दै जाँदा दर्जनौं मेकअप म्यानसमेत जन्माउँदै आउनुभएको छ भने २०५९ सालमा बागबजारमा मेकअप स्टुडियो स्थापना गरी सयौं मेकअप आर्टिस्ट तथा ब्युटिसियन उत्पादन गर्न सफल हुनुभएको छ।
नेपाल चलचित्र प्राविधिक संघको संस्थापक उपाध्यक्षदेखि अध्यक्षसम्म भई त्यस संघबाट सफलरुपमा ५ संस्करणसम्म नेफ्टा फिल्म अवार्डको आयोजना गर्नुभएका सन्तुले चलचित्र विकास बोर्ड, चलचित्र कल्याणकारी कोष, विज्ञापन एजेन्सी संघ नेपाल, सांस्कृतिक युनेस्को क्लबलगायतको सदस्य भई काम गरिसक्नुभएको छ।