गोर्खाली गाथामा गोर्खा वारियर



निर्माता निर्देशक मिलन चाम्सले गोर्खालीको वीरगाथामा आधारित रहेर बनाउने अन्तर्राष्ट्रिय फिल्म गोर्खा वारियरको टेस्ट टिजर सार्वजनिक गरेका छन्। यो किसिमको टेस्ट टिजर हलिउडमा बनाउने गरे पनि आफूले पहिलोपटक प्रयोग गरेको मिलनले बताए।

टिजरमा समावेश दृष्यहरु फिल्ममा नरहने र नेपाली फिल्म क्षेत्रमा पहिलोपटक यस किसिमको प्रयोग गरिएको निर्देशक चाम्सले बताए। ‘यदि कोही मर्नसँग डराउँदिनँ भन्छ भने कि ऊ झुट बोल्दै छ कि त ऊ गोर्खाली (नेपाली) हो’ फिल्ड मार्सल शाम मानेस्काँको यो भनाइ समावेश टिजर नवनायक रितेश चाम्सको स्क्रिन टेस्ट गर्नका लागि नेपालमा नै छायांकन गरिएको मिलनले जानकारी गराए।

वीर गोर्खालीको गाथामा बन्ने गोर्खा वारियरको असहज समय सामान्य भएपछि छायांकन शुरु हुने जानकारी पनि उनले दिए। फिल्ममा कलाकारका रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन्। हलिउड कलाकारको पनि अभिनय रहने फिल्मबाट रितेश चाम्सले डेब्यु गर्नेछन्।

५० प्रतिशत हलिउडका प्राविधिक राखेर नेपाली र अंग्रेजी भाषामा तयार गरिने फिल्मको लन्डनमा १० हजार दर्शकका साथ वल्र्ड प्रिमियर गरिने निर्देशक मिलनले बताए। यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने फिल्मका लागि एक अभिनेत्रीको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ। लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन्। चलचित्र २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्